कांग्रेसबाट वुनपा उपमेयरमा पवित्रा पोखरेलको चर्चा
कपन अनलाइन, काठमाडौँ । वुनपा उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट पवित्रा पोखरेलको चर्चा चुलिएको छ । करिब आधादर्जन आकांक्षीहरुमध्ये पवित्रा पोखरेल नै उपमेयर हुने हल्ला यतिखेर वुनपाभरी व्याप्त छ । वुनपाको सवैभन्दा बढि मतदाता भएको वडा नं. १० की सक्रिय महिला नेतृको रुपमा लिइने पवित्रा पोखरेललाई टिकट पाए भने सम्भावित बिजेताको रुपमा समेत नेपाली कांग्रेसले लिएको बताइन्छ । कपन अनलाइनसँग कुरा गर्दै पवित्रा पोखरेलले भनिन्, “उपमेयरको आकांक्षी हुँ । मेरो सक्रियता र भूमिकालाई ध्यान दिएर पार्टीले टिकट दिने आशा गरेकी छु ।”
माइती नेपाललगायत बिभिन्न संस्थासँग आबद्ध भएर महिला हकअधिकारका क्षेत्रमा काम गरेकी पवित्रा पोखरेल रेडियो पत्रकार पनि हुन् । हाल बुनपा १० तरुण दल अध्यक्ष रहेकी वुनपा सर्वाधिक सक्रिय महिला नेतृमध्ये अग्रपंक्तिमा मानिन्छिन् ।
यद्यपि नेपाली कांग्रेस क्षेत्र नं. ४ ले अझै पनि यस क्षेत्रमा उम्मेदवार घोषणा वा सर्वसम्मत गरेर सिफारिस गर्न सकेको छैन । वुनपा ९ मा शंकर आचार्यबाहेक अन्य कुनै वडामा पनि नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार घोषणा गर्न सकेन साथै आकांक्षीहरुको दवावसमेत नेका क्षेत्रीय समितिले थेग्न नसकेको बताइन्छ ।
आकांक्षी उम्मेदवारहरु हरेक दिन केही समाचार आउँछ कि भनेर क्षेत्रीय समितितिर आकर्षित भैरहे पनि विगत १ सातादेखि आज हुन्छ, भोलि हुन्छ भन्दै उम्मेदवार घोषणाको प्रकृया लथालिंग अबस्थामा रहेको छ । २ वटा निर्वाचन क्षेत्रमा बाँडिएको वुढानिलकण्ठ नगरपालिकामा मेयर तथा उपमेयर पदका लागि क्षेत्र नं. ४ र ५ बीच अझै छलफलसमेत भएको छैन । यद्यपि आकांक्षीहरु भने टिकटका लागि प्रयासमा जुटेका छन् ।
वुनपा मेयरका लागि क्षेत्रीय सभापति राजु श्रेष्ठले आफू उठ्ने संकेत दिएपछि अन्य आकांक्षीहरु चुप देखिएका छन् । यदि राजु श्रेष्ठ उठेनन् वा उनले उठ्न मिलेन भने करिब ६ आकांक्षीहरुबाट कुनै एकलाई छान्नु नेपाली कांग्रेसलाई सजिलो हुनेछैन ।