उपमेयरको कसरतमा रिता बुढाथोकी
कपन अनलाइन, काठमाडौँ । तत्कालिन कपन गाविसबाट गिनेचुनेका थोरै महिला अगुवामध्ये अग्रपंक्तिमा कार्यकर्ता हुन् रिता बुढाथोकी । नेपाली कांग्रेसका हरेक कार्यक्रम तथा सुखदुखमा सहभागि भएकी बुढाथोकी नेपाली कांग्रेस क्षेत्र नं. ४ निर्वाचित क्षेत्रीय सदस्य हुन् । क्षेत्रीय समितिमा उपसभापति वा सचिवका लागिसमेत पटक पटक चर्चामा रहेकी रिता सक्रिय महिलाअधिकारीवादी अगुवा हुन् ।
आसन्न स्थानीय निकाय चुनावको चर्चा परिचर्चा चलिरहेको बेला रिता बुढाथोकीले बुनपाको उपमेयर पदका लागि कसरतमा छिन् । कपन अनलाइनसँग कुरा गर्दै रिताले कपन क्षेत्रले बोकेको बुनपाको करिब ४० प्रतिशत मतदातालाई अन्याय नहुने गरी पार्टीले आफूले टिकट दिन पर्ने बताइन् । लामो समयदेखि स्थानीय निकाय रिक्ततामा पार्टीले महिला अगुवाको उपयोग उसको सक्रियता र लोकप्रियताको आधारमा गरोस् भन्ने चाहना राख्ने रिता कपन भेकमा महिला संघ संस्थाको काम गरेको लामो इतिहास रहेको छ ।
महिलाहरुको विकासका लागि संबिधानले प्रदान गरेको आरक्षण सिटमा आफ्नो जोडदार दावी रहेको बताउँदै रिताले अबका बुनपामा नेपाली कांग्रेसले जित्नका लागि टिकट वितरणमा विशेष ध्यान तथा लचकता देखाउनु पर्ने धारणा राख्छिन् । आफ्ना मान्छेलाई टिकट दिने परम्परा तोडेर लोकप्रिय र केही गर्न सक्नेहरुलाई टिकट दिने विषयको वकालत गर्छिन् रिता बुढाथोकी ।