कपनको बगलामुखी मन्दिर अब तीर्थस्थल बन्यो

कपन अनलाइन, काठमाडौँ । कपनको बगलामुखी मन्दिर अब तीर्थस्थल भएको छ । मन्दिर परिसरमा सप्तऋषि, दशमहाविद्या, दशावतार, नवग्रहसहित ३३ वटा मन्दिर स्थापित गरिएपछि मन्दिर तीर्थस्थलमा परिणत भएको बगलामुखी मन्दिर व्यवस्थापन समिति अध्यक्ष शशिप्रसाद शर्माले बताए । नेपालमै कमै सुन्न पाइने ३३ कोटी देवताको प्रतिमूर्ति एउटै मन्दिरमा स्थापना र नियमित पूजा आराधनाले तीर्थस्थल बन्न पुगेको अध्यक्ष शर्मा बताउँछन् ।

 
अब बगलामुखी मन्दिरलाई विकास समितिको रुपमा विकास गर्न जोड दिँदै आएका शर्माका अनुसार अब एउटा मानिसको जीवनमा आइपर्ने सबैखाले धार्मिक गतिबिधिलाई बगलामुखी मन्दिरले सम्बोधन गर्ने भएको छ । बगलामुखी मन्दिरमा सप्तऋषिका भारद्वज, यमदग्नी, कश्यप, विश्वामित्र, गौतम, बशिष्ट मूर्ति स्थापित भएका छन् । यसैगरी मन्दिर परिसरमा दशमहाविद्या भनेर चिनिने अरुन्धती, काली, छिन्नमस्ता, भैरवी, कमला, भुवनेश्वरी, मातंगी, धुमावती र त्रिपुरासुन्दरीको मूर्ति स्थापित गरिएको छ । दशावतारका मत्स्य, कुर्म, बराह, नृर्सिह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीको मूर्ति स्थापित गरिएका छन् । त्यस्तै नवग्रहहरु सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनिश्चर, राहु, केतुको मूर्ति पनि स्थापित गरिएको छ । त्यस्तै मन्दिरमा गणेश, हनुमान तथा पाथीभरा देवीको मूर्ति पनि स्थापित गरिएको छ ।

 
बुनपा तथा कपन क्षेत्रकै उत्कृष्ट धार्मिक गन्तव्य बनिसकेको बगलामुखी मन्दिर परिसरमा यसरी तेत्तिसकोटी देवका मूलरुप मानिने सप्तऋषि, दशावतार, दशमहाविद्या, नवग्रहसहितका अन्य देवताको मूर्ति स्थापित भएपछि प्रचारप्रसार गर्न सकियो भने देशको महत्वपूर्ण तीर्थस्थल बन्ने धारणा राख्छन् अध्यक्ष शशिप्रसाद शर्मा । करिब एकदशक अघिदेखि बगलामुखी मन्दिरलाई यसखाले स्वरुपमा विकास गर्न चाहेका शर्माको अभियानमा स्थानीयवासीहरुले ठूलो साथ दिए । हरेक मूर्ति बनाउनका एकएकजनाको लगानी लागेको छ भन्दै शर्मा एउटा अक्षयकोष स्थापना गर्ने तयारीमा जुटेका छन् । उनी भन्छन्, यति धेरै देवी देवता एकै ठाउँमा भएपछि नित्य पूजाकै लागि पनि ४ घण्टा लाग्ने भएकाले पुजारीका लागि एउटा अक्षयकोष बनाउन जुटेको छु ।

 
अक्षयकोषका लागि भनेर यतिखेर बगलामुखी परिसरमा देवीभागवत महायज्ञ लागेको छ । महायज्ञ चैत्र २९ गते समापन हुने भए पनि महायज्ञबाट अक्षयकोषका लागि खासै अर्थाेपार्जन हुनसकेको भने देखिएको छैन । अध्यक्ष शर्मा भन्छन्, महायज्ञबाट अक्षयकोषका लागि पैसा उठेन भने पनि अरु कुनै श्रोतका लागि प्रयास गर्नेछु ।

तपाइँको प्रतिक्रिया ।