विकास, विचार र युवा अवधारणासहित सानु श्रेष्ठ मेयर पदको मैदानमा

कपन अनलाइन, काठमाडौँ । स्थानीय निकाय निर्वाचनको मिति साँघुरिँदै गर्दा यसको व्यापकता भने फराकिलो हुँदै छ । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु बिरुद्ध नयाँ जोश जाँगरहरुले धावा बोल्न शुरु गरेका छन् ।

 
बुनपामा नेपाली कांग्रेसका जिल्ला सदस्य सानु श्रेष्ठले विकास, विचार र युवाको अवधारणसहित स्थानीय निकाय निर्वाचनमा आफूलाई मेयर पदका लागि दावी प्रस्तुत गरेका छन् । ४३ वर्षीय सानु श्रेष्ठ बुनपा २ का निवासी हुन् । ०५४ सालकै निर्वाचनमा चपली गाविसको उपाध्यक्ष हुने संघारमा पुगेका श्रेष्ठ बिद्यार्थी राजनीतिमा ल क्याम्पसको स्ववियुमा काम गरेको अनुभवसमेत रहेको छ । राजनीतिका बिभिन्न स्वरुपमा काम गरेको अनुभवी श्रेष्ठ कानुनका विद्यार्थी हुन् । उनी पेशाले वकालत गर्दछन् । मेलाम्ची खानेपानीको कानुनी सल्लाहकार भएर काम गरेका सानु श्रेष्ठ नेका काठमाडौंमा सबैभन्दा गतिशील नेताको रुपमा पर्दछन् ।

 
विकासे गतिबिधिमात्र हैन सामाज सेवा क्षेत्रको सक्रियतामा सानु प्रभावशाली मानिन्छन् । पार्टीसमर्थित आन्दोलनमात्र हैन अनसनजस्ता इभेन्टमा पनि उनी सक्रिय रहेका छन् । स्थानीय क्याम्पस, स्कूललगायत सामाजिक संस्थाको संस्थापक भएका काम गरेको अनुभव छ उनीसँग । त्यसैगरी उनले बुनपामा वातावरण समितिको संयोजक भएर काम गरेका थिए । नेपाली कांग्रेस समर्थित वकिलहरुको संगठन डिएलए केन्द्रियसमेत रहेका श्रेष्ठ ०५७ सालमै पार्टीको क्षेत्रीय कमिटिमा थिए ।

 
पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई मेयर टिकट दिनु पर्ने धारणा राख्ने सानु श्रेष्ठले मेयरको दावी गरेसँगै बुनपामा मेयर दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । सानु श्रेष्ठको मेयर दावीसँगै पढेलेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई मेयरको टिकट दिनुपर्ने दवाब नेकाको क्षेत्र तथा जिल्लामा पनि बढेको छ । गगन थापा निकट भए पनि सानु श्रेष्ठ नेका क्षेत्रीय सभापति राजु श्रेष्ठका लागि भने लचिलो बन्न सक्ने संकेत दिन्छन् ।

 
क्षेत्रीय सभापति राजु श्रेष्ठ मेयरमा टिकट लिने मुडमा रहेनन् भने बुनपामा मेयरका लागि ठूलो माथापच्चिसी हुन सक्ने देखिन्छ । सानु श्रेष्ठको यो दावीसँगै गगन थापाको पक्षका तर्फबाट न्हुच्छेनारायण श्रेष्ठ, विनोद चालिसे तथा सानु श्रेष्ठमा मैदानमा रहने देखिएको छ । विनोद र सानुको दावीसँगै न्हुच्छेको दावी नगण्य बनेको बताइन्छ ।

 
बुनपामा नेकाको जीतका लागि राजु श्रेष्ठ सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला राजुको छिमेकी सानुको यो दावीले बुनपामा मेयर उम्मेदवार चुन्नु फलामे च्यूरा चपाए सरह बन्न पुगेको छ । प्रकाशमान सिंहको चासोमा गोकर्ण केसीले बुनपामा उम्मेदवार हुनसक्ने भनेर हल्ला चलिरहेको बेला बुनपाको ७० प्रतिशत मतदाता बोकेको क्षेत्र नं. ४ बाट यतिधेरै सम्भावित व्यक्तिहरुको नाम आउनुसँगै नेता सिंहमाथि पनि दवाब पर्ने देखिएको छ । लोकप्रियताको कसीमा कमजोर मानिएको गोकर्ण केसीलाई सानु श्रेष्ठको मेयर दावीले पक्कै धक्का लाग्ने देखिन्छ । त्यसैगरी क्षेत्रीय सभापति राजु श्रेष्ठ र जिल्ला सभापति सबुज बानियाँलाई पनि कुनै एक पात्रको मात्र पक्षमा लबिङ गर्न गारो हुने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।