परम्परागत स्वास्थ्य सेवालाई वैधानिकता दिन माग
कपन अनलाइन
काठमाडौँ, २२ चैत । परम्परागत स्वास्थ्य सेवाको सीप, ज्ञानलाई संवद्र्धन गरी राज्यले वैधानिकता दिनुपर्ने माग परम्परागत स्वास्थ्यकर्मीले गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मलेन गर्दै प्राथमिक सेवा स्रोत केन्द्र (रेस्फेक) ले यही चैत १८ र १९ गते काठमाडौँमा परम्परागत स्वास्थ्यकर्मीको सम्मलेन गर्दै स्वास्थ्य नीति र कार्य नीति कार्यमा परम्परागत स्वास्थ्यकर्मीको हकहितसम्बन्धी बुँदा समावेश गर्न लगाउने निर्णय गरेको जानकारी दिएको छ ।
रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सदियौँदेखि चल्दै आएको उक्त सेवालाई राज्यले प्राथमिकता दिई नेपालको मौलिक स्वास्थ्य सेवाको रुपमा उल्लेख गर्नुपर्ने बताउनुभयो ।
रेस्फेकले २७ जिल्लाका गुरुवा, वैद्य, गुभाजु, ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, धाँमीझाँक्री, भारफुके, लामा, आम्चीलगायतको भेला गरी घोषणापत्र पनि जारी गरेको छ ।
भेलाले परम्परागत आयुर्वेद उपचार पद्धति तथा अन्य उपचार पद्धति लोप हुने अवस्थामा पुगेकाले संरक्षण नगरे मौलिक वैद्धिक ज्ञान सीप, प्रविधि लोप हुने खतरा भएकाले संरक्षण गर्नुपर्ने माग पनि गरेको छ । रासस