तोकिएकै मितिमा निर्वाचन हुनेमा शङ्का नगर्न आयोगको आग्रह
कपन अनलाइन
काठमाडौँ, १८ चैत । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा आयोगका तर्फबाट सो आग्रह गरिएको हो ।
शान्ति सुरक्षाको पाटोबाट असहज र नियन्त्रणभन्दा बाहिरको परिस्थिति नरहेकाले निष्पक्ष निर्वाचन गराउन आयोग सक्षम रहेको दाबी गर्दै आयुक्त सुधीरकुमार शाहले भने, ‘सुरक्षा निकायबाट उच्च मनोबलका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’
धेरैभन्दा धेरै मतदाता अमूल्य मतदानमा सहभागी हुन, कुनै पनि डर, धाक र धम्कीबीच नभई निर्भिकरुपमा मतदान गरेर घर फर्कन सकून् भन्दै उनले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।
सार्वभौम र स्वतन्त्र स्थानीय तहको सरकार गठनको लागि निर्वाचन हुने भएकाले राजनीतिक दलबीच मतभेद भए पनि अब निर्वाचन रोकिने छैन, यस पटकको निर्वाचनमा कुनै पनि सरकारी उम्मेदवार पनि हुने छैनन्, आयुक्त शाहले भने ।
एकै चरणमा हुन लागेको तयारीको एउटा अङ्गको रुपमा प्रशिक्षण रहेको बताउँदै उनले भने, ‘२० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन हुन सकेन भन्ने अर्थ लाग्न सक्दछ, त्यसैले पनि यो निर्वाचन हामी लोकतन्त्रमा विश्वास गर्नेका लागि जीवनमरणको प्रश्न हो ।’