रौद्ररुपा प्रकृति : जमुना आचार्य कोइराला
कपन अनलाइन
काठमाडौं भदौ ७।
गर्जन्छ आकाश
चिच्याउँछ बादल
विद्युत् चम्कन्छ
धरती काँप्छ
शिर निहुराउँछ
प्रकृतिको क्रोधले
मानव तर्साउँछ
नदी उर्लिन्छ
किनारै किनार नाच्दछ
घरआँगन सब बगाएर लिन्छ
आँधीको सिउँदो
चक्रको नाच
मानवको सामथ्र्य
क्षणमै बिलाउँछ
पहाड फाट्छ
ज्वाला उठ्छ
रातो लाभा बग्छ
लिन्छ आगोको बाटो
वन डढाउँछ
चराहरू
र वन्यजन्तु भागाभाग
हरियाली सपना
खरानी बनाइदिन्छ
कसले
उक्सायो यस्तो क्रन्दन ?
कसले
बिगार्यो सन्तुलन?
मानवकै लोभ
स्वार्थको खेल
सुविधाको विशेष टहल
प्रकृतिको सहनशीलता
हुँदै छ फेल
हुन त
हो रौद्रता पनि सन्देश
देखाउने
सुध्रिने बाटो भन्दै
संरक्षणमा सर
सम्मान गर
प्रकृतिलाई फेरि
मुस्कान भर
शान्ति फर्कोस्
हरियाली छाओस्
जीवनको गीत
फेरि गाओस्
स्नेहमयी बनोस्
प्रकृति हाम्रो
साथमा रहोस्
तर होइन
रौद्ररुपा प्रकृति !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
