बुनपामा नेपाली कांग्रेसबाट सम्भावित युवा उम्मेदवार र विजयको सम्भावना

कपन अनलाइन, काठमाडौँ । 

स्थानीय निकाय निर्वाचन विशेष समाचार/

केशव पाठक, बिजेन्द्र पुडासैनी/
दुई दशकपछि हुने लागेको स्थानीय निकायको चुनाबको महत्व र रौनक बेग्लै छ । अझै यो निर्वाचन नहोला कि भन्ने भय बाँकी रहे पनि सर्वत्र चासो र आशाको नयाँ पालुवाको रुपमा यो स्थानीय निकाय निर्वाचनलाई हेरिएको छ । ०५४ सालमा भएको स्थानीयस्तरको चुनावपछिको २ दशक विकासका हिसाबले अर्थपूर्ण रहन सकेन । कर्मचारीहरुले सर्वदलीयसँग मिलेर स्थानीय निकायको विकासमा भनेजस्तो भूमिका खेल्न सकेनन् भन्ने बुझाइबीचको यो चुनाव सबैको चासो हो ।
यो दुई दशकमा संसदीय स्वरुपको भने ३ वटा चुनाव हुन पायो । २ दशकको स्थानीयस्तरमा रहेको खालीपनलाई अब हुने चुनावले पूर्णता दिने भएकोले नै संभवतः लोकप्रिय बन्नेछ यो चुनाव । थोरै र ठूलो आकारको स्थानीय निकायको नयाँ संरचनाले स्थानीय राजनीतिज्ञहरुको लोकप्रियता मापनको कडी बन्ने छ यो चुनाव ।

बुढानिलकण्ठ नगरपालिका मुलुककै जनसंख्याको आधारमा ठूला नगरपालिका मध्यको माथिल्लो नगरपालिका हो । बुढानिलकण्ठ नगरपालिकाभित्र स्थानीय निर्बाचनमा मेयर, उप मेयर, वडा अध्यक्ष्य, वडा सदस्य लगायतका पदमा चुनाबी मैदानमा होमिन सबैखाले राजनीतिक अनुहार तम्तयार अवस्थामा बसेका छन् । २ दशक अघि ०५४ सालमा चुनावी मैदानमा उठेका मात्र हैनन् त्योभन्दा अगाडि ०४९ को स्थानीय चुनावमा भाग लिएका कतिपय अनुहार नयाँ संरचनाको चुनावी अभियानमा आफू योग्य भनेर हिँडेका देख्न पाइन्छ ।
यो लेख यसपालाको स्थानीय निकाय चुनावमा बुनपामा नेकाका तर्फबाट युवाहरुलाई दिन सक्ने मौका र अवस्थाको बारेमा समर्पित छ । बुनपामा साविक गाविसस्तरमा राजनीति गरेका पुराना राजनीतिक अनुहार नै विशेष गरेर मेयर तथा वडाध्यक्षपदका लागि भनेर दावी तथा हल्लामा चर्चित बनिरहेका बेला युवाहरु कुन वडामा कति सक्रिय छन् भनेर हामीले चासो दिन खोजेका हौँ ।
साविक गाविसमा चुनाव लडेको अनुभव अनुभूति र स्वरुपमा मेयर पदलाई आंकलन गरेर अगाडि बढेका पात्रहरुमा न्हुच्छेनारायण श्रेष्ठ, आत्माराम पौडेल ०४९ सालमा गाविस अध्यक्ष भएका व्यक्ति हुन् । दुवैजना ५५ वर्षभन्दा माथिका उमेरका हुन् । त्यसैगरी ३ दशक नेका राजनीतिमा बिताएका गोकर्ण केसी, भोला लामिछाने रामकृष्ण केसी, अच्युत पौडेल, गणेश कोइराला, इन्द्रबहादुर थापा, सुदर्शनराज विष्टहरु पनि यो चुनावमा आफूलाई अब्बल रहेको दावी गरिरहेका छन् । यी सबै पात्र ५० वर्षभन्दा माथिका हुन् । त्यसैगरी नेकाबाट निर्विकल्प मेयर उम्मेदवार भनिएका क्षेत्र नं. ४ सभापति राजु श्रेष्ठ पनि ४८ काटेका व्यक्ति हुन् । मेयर पदका लागि संभवतः राजु श्रेष्ठ र नगर सहजीकरण सदस्य राजाराम बुढाथोकी नै युवा उम्मेदवार हुन् ।
साबिकका ६ बाट गाउँ विकास समितीबाट बनेको बुढानिलकण्ठ नगरपालिका भित्र रहेका १९ वटा वडाहरुलाई पुनः समायोजन गरेर १३ वटा वडाहरु बने पश्चात वडाहरुमा टिकट हात पार्ने खेलमा हानथाप हुने पक्का छ । वडाहरुमा ब्यक्ति बिशेषको प्रभाब पर्ने पनि निश्चित छ । व्यक्तित्वको प्रभावमा कतिपय वडामा युवाहरुको भूमिका जोडदाररुपमा देखिन्छ । यसरी जोडदाररुपमा प्रभाव पार्ने युवाहरुको अवस्था यस प्रकार रहेको छ ।

 

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा श्री कृष्ण भण्डारी स्थानीय निकायको निर्बाचनमा उदाउने नयाँ अनुहार मध्येका मान्न सकिन्छ । तरुणदल वडा नं. १ का सभापति समेत रहेका भण्डारी क्षेत्रियस्तरका कार्यक्रम लगायतका अन्य गतिबिधिमासमेत सक्रिय रहेका छन् ।
वडा नं २ मा इकाई सभापति जनक थापा लोकप्रिय नाम हो । बिभिन्न सामाजिक गतिबिधिमा आफ्नो योगदान दिने थापालाई निर्बाचनको बारे केही सोधियो भने समय आएपछि थाहा हुने जवाफ दिने गर्छन् ।
वडा नं ३ मा पुराना आनुहरहरुको बहुल्यतालाई चुनौती दिँदै आकाश धिताल र राधाकृष्ण ठकुरीले सामाजिक संजाल मार्फत उम्मेद्वारी दावी गरिसकेका छन् । आकाश धिताल वडा नं ३ मा राम्रो सम्भावना बोकेका युवा हुन् । साबिक बिष्णु गाविसको नेपाल तरुण दल इकाई उपाध्यक्ष भै संगठन बिस्तार गर्ने र युवाहरुलाई केन्द्रिकृत गर्ने काममा उनको महत्वपूर्ण भूमिका मानिन्छ । धिताल बुढानिलकण्ठ ई –लाइब्रेरीका अध्यक्ष साथै बुढानिलकण्ठ सनातन धर्म सेवा समाजसँग आबद्ध छन् । युवा पुस्ता माझ धितालको लोकप्रियता पुराना खेलाडीहरुको लागि टाउको दुखाइको बिषय बन्ने देखिन्छ ।
वडा नं. ३ मा राधाकृष्ण ठकुरी पनि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । अबको स्थानीय सरकारमा युवा पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिने ठकुरी नेपाल तरुण दल काठमाडौँ जिल्लाका सदस्य हुन् ।

 

वडा नं ४ मा राजु खडकालाई युवा उम्मेदवार नै मान्न सकिन्छ । खड्काको यस वडामा लामो समयदेखिको राजनीतिक योगदान अनि सामाजिक सक्रियता रहेको छ । वडामा युवाहरु खड्काको पक्षमा रहेको मानिन्छ ।
वडा नं ५ मा भिमसेन ठकुरीलाई पनि वडाको युवाहरुले साथ दिने पाइएको छ । यस वडामा ठकुरीको अलावा नेकातर्फबाट कसैको दावेदारी पनि रहेको छैन । ठकुरीलाई कांग्रेसवृत भित्र इमान्दार अनि सोझा नेताका रुपमा चिनिने गरिन्छ ।

 

वडा नं ६ मा युवा राजु भण्डारीले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् । भण्डारीको दावीसँगै अन्य थुप्रै पुराना पुस्ताको आंकाक्षीहरु रहेको यस वडामा युवाहरुको प्रतिनिधित्व गर्न भण्डारी कत्तिको सफल होलान् भनेर पनि चर्चा हुन् थालेको छ ।
वडा नं. ७ मा वडा सभापति विजय महर्जन तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जनको सम्भावना रहेको चौतर्फि हल्ला रहेको छ । महर्जनद्वयलाई युवापुस्ताको समर्थन रहको मात्र हैन उनलाई शक्ति केन्द्रको निकटसमेत मानिन्छन् । राजेन्द्र र विजयमध्ये एकले टिकट पाउने भनिए पनि को अब्बल भन्ने कुरा महत्वपूर्ण हो ।
वडा नं. ८ मा युवा सुरेश केसीको सम्भावना एकदमै बलियो रहेको छ । यो वडामा सुरेश केशीलाई सम्भावित बिजेतको नाममा पनि लिने गरिएको छ । उनलाई कमजोर बनाउन केही नामहरुले सुरेश केसीले आफूलाई समर्थन गरेका बताए पनि सुरेशको विकल्प नरहेको बताइन्छ ।
वडा नं. ९ मा युवा भन्न मिल्ने शंकर आचार्य एकमात्र दावेदार र संभावित व्यक्ति हुन् । आचार्य पनि संभावित वडाध्यक्ष बिजेताको रुपमा लिइन्छ । आचार्यलाई युवाहरुमाझ विशेष पकड भएको नेता मानिन्छ ।
वडा नं. १० बुनपाकै सबैभन्दा ठूलो वडा हो । यस वडामा नेकाबाट ४ जनाले वडामा दावेदारी गरेका छन् । तीमध्ये उमेरले युवा किशोर गुरुङ हुन् । उनको टिकट दावेदारी उम्मेदवार बन्न सक्ने अबस्था पुग्ने नपुग्ने थाहा हुन नसके पनि गुरुङलाई सक्रिय युवाको रुपमा लिइन्छ । यद्यपि यस वडामा वडा सभापति श्याम डोटेल, क्षेत्रीय सदस्य रामप्रसाद लुइँटेलमध्ये एकले टिकट पाउने चर्चाे छ । स्मरणीय रहोस् डोटेल र लुइँटेल दुवै युवा भन्न मिल्ने उमेरका हुन् ।
वडा नं. ११ मा युवा उम्मेदवारको रुपमा राजेन्द्र अधिकारी जुँगे र सन्तोष भण्डारीलाई लिन सकिन्छ । पछिल्लो समयमा भेटघाट तथा अन्य सहभागिताका साथै सामाजिक संजालमा समेत छाएका छन् जुँगे र भण्डारीले टिकट पाउन अच्युत पौडेल, राधेश्याम कार्की तथा रामकृष्ण केसीसँग प्रतिष्पर्धा गर्ने देखिन्छ ।
वडा नं. १२ मा नेकाका तर्फबाट हालसम्म आएको एकमात्र नाम होमनाथ तिमिल्सिनाको हो । युवा उमेरका सशक्त इकाई सभापति मानिने तिमिल्सिनालाई सम्भावित विजेतासमेत मानिन्छ । तिमिल्सनाको पक्षमा यस वडामा युवाहरुले चुनावी अभियान शुरु गरिसकेका छन् ।
वडा नं. १३ ले बुनपाको चुनिखेल भेकलाई बुझाउँछ । यस वडाबाट युवा दावेदारको रुपमा इकाई सभापतिसमेत रहेको महेन्द्र श्रेष्ठ संभावित नाम हो । त्यसैगरी अर्का युवा मदनदास श्रेष्ठले पनि आफूले वडाध्यक्ष बन्न चाहेको बताएका छन् । यस वडामा युवा भन्न सकिने तर लामो राजनीतिक जीवन बिताएका रामलाल श्रेष्ठलाई पनि संभावित वडाध्यक्ष उम्मेदवार भन्ने गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।