भिन्न विचार समूहले निर्वाचनमा असर गर्दैन: सन्तोष खड्का नेका जिल्ला सदस्य

कपन अनलाइन, काठमाडौँ । सन्तोष खड्का नेपाली कांग्रेस जिल्ला सदस्य हुन् । स्थानीय निकाय निर्वाचनको परिवेशमा बुनपाको राजनीति तथा माहौलका बारे कपनअनलाइनसँग खड्काले गरेको छोटो कुराकानी यसप्रकार छ ।

स्थानिय निकायको निर्वाचन मिति घोषणासँगै स्थानिय स्तरको राजनीतिक माहौल तातेको छ, बुढानिलकण्ठ नगरपालिकाको माहौल कस्तो छ ?

पक्कै पनि सबै तिरको जस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि राजनीतिक माहौल तातेको छ, दुई दशकपछि प्रजातान्त्रिक प्रणालीको अभ्यास हुन लागेकोले पनि अहिले अलि बढी नै राजनीति तातेको हो । धेरै जनाले निर्वाचनमा भाग लिनको लागि आकांक्षा व्यक्त गरेकोले पनि राजनीतिक माहौल तातेको हो जस्तो लाग्छ मलाई ।

तपाई पनि त उम्मेदवार होला नि ?
अहिले नै मैले आकांक्षा राखेको छैन । म भन्दा पुरानो पुस्ताका अग्रजहरुले पनि आकांक्षा राख्नुभएको छ । त्यसैले पनि मैले अग्रज पुस्ताले भनेको मानेर आकांक्षा नराखेको हो । तर अग्रज पुस्ताले मलाई पनि योग्य ठानेर अघि बढाउन खोज्नुभयो भने विचार गर्ने हो । फेरी पार्टीको निर्णयलाई पनि मान्नुपर्दछ । यदी अग्रज पुस्ता र पार्टीले निर्णय गर्यो भने विचार गर्छु, नत्र भने अहिले नै मैले त्यस्तो सोचाई बनाएको छैन ।

 

यसपल्ट धेरै जनाले आकांक्षा राखेका छन्, तपाई त जिल्ला समितिमा पनि हुनुहुन्छ, कसरी मिलाउनु हुन्छ ?
लामो समयपछि निर्वाचन भएकोले पनि आकांक्षीहरु धेरै हुनु स्वाभाविक नै हो । स्थानियस्तरमा राजनीतिमा लाग्नु भएका पुरानो पुस्ताले एकतिर आकांक्षा राख्नुभएको छ भने अर्कोतर्फ युवा पुस्ता पनि तयार भइसकेको अवस्था छ । मानिस एउटा सामाजिक प्राणी भएपछि स्वभाविक रुपमा समाजमा केही न केही आशा राखेको हुन्छ । त्यसैले पनि प्रजातान्त्रिक प्रणालीको अभ्यास हुन गइरहेको छ । त्यसमा सबैले भाग लिनु भनेको राम्रो कुरा हो ।
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, पार्टीको शुरुको महाधिवेशनमा विपी कोइराला र मातृकाप्रसाद कोइराला दाजुभाई निर्वाचन लडेको पार्टी हो, पार्टीमा बैचारिक द्धन्द्ध हुन्छ, यसलाई सामान्य रुपमा लिनुपर्दछ । आकांक्षा राखेकाहरु सबैलाई पार्टीले टिकट दिन सक्दैन, त्यसैले छलफलबाट यो समाधान गर्नुपर्दछ र हुन्छ भन्ने विश्वास लिएको छु ।

पार्टीभित्र पनि अहिले गुट उपगुटहरु छन्, कतै भाई फुटे गवार लुटे त हुदैन गुट उपगुटको नाममा ?
पार्टीमा विभिन्न विचार राख्नेहरु भई नै हाल्छ, बैचारिक द्धन्द्ध नभई पार्टी नै बन्दैन । प्रजातान्त्रिक प्रणालीमा यस्तो सबै पार्टीमा भइ नै हाल्छ । पार्टी भित्र संसदीय बोर्ड हुन्छ । उम्मेदवारको निर्णय बोर्डले नै गर्ने भएकोले पनि त्यस्तो गुट उपगुटले समस्या हुन्छ भन्ने लाग्दैन । पार्टीभित्रको विचारको लडाई एकातिर छ भने सिंगो निर्वाचनमा पार्टीको तर्फबाट गर्ने लडाई अर्कोतिर छ । त्यसैले सिंगो पार्टी नै निर्वाचनमा होमिदा त्यस्तो विचार समूहको प्रभाव पर्छ भन्ने लागेको छैन ।

तपाइँको प्रतिक्रिया ।