यी हुन् बुनपामा एमालेबाट मेयरका सम्भावितहरु !

कपन अनलाइन, काठमाडौं

स्थानीय निकाय चुनाव विशेष

केशव पाठक 

कपन अनलाइनमा पछिल्ला केही समयदेखि नियमितरुपमा बुनपामा एमालेतर्फबाट मेयर पदका लागि सम्भावितहरुको नाममा बिदुरविक्रम खड्काको नाम अगाडि आउँदा धेरैलाई अर्थहीन लाग्ने गरेको छ । कार्यकर्तामात्र हैन क्षेत्र नं. ४ र बुनपाका धेरैजसो एमाले नेताहरु नै बिदुरविक्रम खड्काले मेयरको टिकट पाउने कुरा आकस्मिक संयोगसम्म मान्न तयार छैनन् । यद्यपि नगर सहजीकरण समिति सदस्य तथा केही अन्य कारण हेर्दा खड्काको दावेदारीलाई सामान्य आंकलन गर्न भने सकिदैन ।

खड्काको बोलीमा देखिने नियमित गडबडाहटलाई सुधार्ने हो भने उनी बुनपा एमालेका अब्बल दर्जाका नेता हुन् । सामाजिक संजालबाटै टिकटको दावी गर्ने पहिलो एमाले नेता पनि हुन् उनी । सामाजिक संजालमा खड्काको उपस्थितिलाई कुनै दिन पार्टीले रोकसमेत लगाउन सक्नेखालको मानिन्छ । कपन गुम्बाको विषयलाई अख्तियारमा पुर्याएको जस खड्कालाई गए पनि उनी कपनसँग राम्रो सम्बन्ध भएको नेताको रुपमा लिइदैन ।

क्षेत्र नं. ४ का एमाले अध्यक्ष कुसुम कुमार कार्की बुनपामा सम्भावित मेयर उम्मेदवारमा अघिल्लो पंक्तिमा छन् । कम बोल्ने तथा शान्त मिजासका कार्कीलाई कुटनीतिक मान्नेहरु पनि छन् । गाविस अध्यक्ष भएर विकास गतिबिधिमा भूमिका खेलेको अनुभव तथा कपनसँग नजिकको नाता आदिले उनलाई मेयर पदको टिकट पाउने नेताको रुपमा लिइन्छ ।

यद्यपि ओली र नेपाल पक्षबीचको टिकट बाँडफाँडमा ओली पक्ष हावी भएको खण्डमा नेपाल पक्षीय कार्की कमजोर हुन सक्ने देखिन्छ । त्यसैगरी क्षेत्रीय अध्यक्ष भएपछि संगठनका काममा उनले चुस्तता दिन सकेनन् भन्ने आरोपबीच पार्टी सचिवालयसमेत बनाउन नसक्नुलाई धेरै प्रश्न चिन्ह बनाएका छन् । नेता नेताबीचको अन्तरसम्बन्धमा पनि कार्की कमजोर छन् भन्ने गरिन्छ ।

साविक चपली गाविसका अध्यक्ष तथा बुनपामा सहजीकरण सदस्य बनेर काम गरिसकेका उद्धब खरेल मेयर पदको सशक्त दावेदारमध्ये एक हुन् । विकासे गतिबिधिमा उनलाई क्षेत्रकै अब्बल नेताको रुपमा लिइन्छ । पार्टी संगठनमा पनि उनी बुनपाभित्रका उच्च पंक्तिका नेता हुन् । बुनपाको भौगोलिक तथा सामाजिक विषयमा उनलाई अन्यभन्दा धेरै ज्ञान भएको बताइन्छ । बुनपाको विकाससम्बन्धी अवधारणा भएका एकदमै थोरै नेतामध्ये उनी अगाडि नै छन् ।

एमालेभित्र ओली पक्षीय हुनुले पनि उनलाई मेयर पद प्राप्त गर्न सक्ने नेताको रुपमा लिइन्छ । यद्यपि खरेलको कपनसँगको सम्बन्ध राम्रो मानिदैन । उनले कपनलाई कहिल्यै प्राथमिकताको रुपमा लिएनन् वा कपनमा आफ्नै पार्टीका नेताहरुलाई पनि बारम्बार होच्याउने गरे भन्ने आरोपले टिकट पाए पनि कपनले धोका देला कि भन्ने कोणबाट हेर्ने गरिन्छ । त्यसैगरी खरेललाई आफ्नै चपलीमा नै भोट कम आउँछ भनेर उनकै पार्टीका कतिपय नेताले भन्दै हिँडेको देखिन्छ । त्यसैगरी खरेललाई प्रदेश चुनावको लागि पार्टीले सुरक्षित राख्ने हल्ला पनि छ ।

दलित अगुवा सुन्दर पुर्कुटी बुनपा एमालेमा मेयर पदका दावेदार हुन् । पार्टीभित्र भूगोलमा काम गरेर उद्धब खरेलझैँ प्रदेश कमिटि सदस्य रहेका पुर्कुटी विकासे कामका लागि पनि चिनिएका व्यक्ति हुन् । तत्कालिन महांकाल गाविसमा वडाध्यक्षसमेत बनिसकेका उनी झलनाथ खनाल प्रम हुँदा सरकारी नियुक्तिमा महत्वपूर्ण पदमा बसेर क्षेत्र र संगठनका लागि काम गरेको कारणले मेयर पदको दावीलाई महत्वपूर्ण रुपले हेरिएको छ । बुनपाभित्र रहेका करिब २००० दलित मतदाताबीचमा पनि उनी सबैभन्दा चिनिएका व्यक्ति हुन् । दुख गर्ने नेताको रुपमा पनि पुर्कुटीलाई चिनिन्छ ।

एमालेको दलित मोर्चा मुक्ति मोर्चाका केन्द्रिय सचिवसमेत रहेका पुर्कुटी पार्टीभित्र मध्यमार्गी धारका व्यक्तिका रुपमा चिनिन्छन् । यद्यपि उनीभन्दा सिनयर कुसुम कार्की, उद्धब खरेल, दीपक निरौलालगायतका नेताका अगाडि उनले टिकट ल्याउन सक्लान् वा नसक्लान् भन्ने प्रश्न ठूलो छ । पुर्कुटीले मेयर पदको सशक्त दावी गरेका छन् । लोकप्रियता र कपन फ्याक्टरले उनलाई मेयर पदको दावीका लागि कमजोर बनाउन सक्नेछ ।

बुनपा एमालेभित्र प्रखर वक्ताको रुपमा चिनिएको दीपक निरौला पनि सम्भावित मेयर पदका उम्मेदवार हुन् । बुनपा सहजीकरणमा काम गरिसकेका निरौला बुनपामा पार्टीभित्र माथिल्लो श्रेणीका नेताहरुमाझ सबैभन्दा धेरै पहँुच भएको नेताको रुपमा पनि चिनिन्छ । मदन भण्डारी अध्ययन प्रतिष्ठानको पदाधिकारी भएर काम गरिरहेका निरौला बोलेरै चुनाव जिताउने सक्ने नेताको रुपमा लिन सकिन्छ ।

यदि दीपन निरौलाले मेयर पदको टिकट नपाए पनि संभवतः आउँदो चुनावको एमालेका स्टार प्रचारकको रुपमा कमान्ड संहाल्ने कुरामा कसैको दुईमत रहँदैन । संगठन र पहुँचका आधारमा उम्दा भए पनि निरौलालाई नचिनेएका नेताको रुपमा लिइन्छ । उम्मेदवारको रुपमा उनलाई चिनाउँदै हिँड्नु पर्ने बाध्यता सम्भवता उनको लोकप्रियताको कसीमा कमजोर बनाउन सक्छ । चुनाव जित्नका लागि कपन फ्रेन्डली हुनु पर्ने विषयमा पनि निरौला कमजोर बन्ने सक्नेछन् ।

त्यसैगरी बुढानिलकण्ठ विकास समितिका अध्यक्ष जयराम थापालाई पनि बुनपा मेयरको सम्भावित दावेदार मानिन्छ । कानुनका विधार्थी थापा पार्टी संगठनमा पनि परिचित नाम हो । त्यसैगरी बुढानिलकण्ठ क्षेत्र विकास समितिमा बसेर काम गरेको उनको अनुभवलाई पनि मेयरको पदको दावीको आधार भन्न सकिन्छ । पहिलो बुढानिलकण्ठ महोत्सवको संयोजकसमेत रहेका थापा कुशल प्रशासक बन्न सक्ने गुणका व्यक्तिको रुपमा चिनिन्छन् ।

एमालेभित्र टिकट बाँडफाँडमा हुने ठूलो खिचलोभित्र समस्या समाधानका रुपमा थापाको नामलाई पार्टीले सिफारिस गर्ने सम्भावित व्यक्तिको रुपमा लिइन्छ । यद्यपि मासबेसको राजनीतिको अभाव तथा जनताबीचको परिचयको अभावले उनलाई कमजोर बनाउन सक्नेछ । त्यसैगरी कपनसँग सानिध्यता पनि थापालाई निकै कमजोर बनाउन सक्ने बताइन्छ ।

संगठनमा पहँुच भएर लोकप्रिय बनेका विकासे गतिबिधिमा पोख्त व्यक्ति एमाले बुनपाको मेयर बन्ने आधार हो । यो कोटीमा संभवतः कुसुम कार्की, उद्धव खरेल, विदुुर खड्का, दीपक निरौला, सुन्दर पुर्कुटी र जयराम थापामध्ये एक पर्ने धेरै सम्भावना मानिन्छ । यी ५ बाहेक अन्यले मेयर टिकट पाउने सम्भावना एकदमै कम मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।