बालकुमारी निमावि नयाँ ढंगले अगाडि बढ्ने तयारी गर्दै

कपन क्षेत्रमा रहेको वालकुमारी निमावि व्यवस्थापन पक्षीय समस्याका कारण बेलाबेलमा आलोचित एवम् विवादमा आइरहने विद्यालय अन्र्तगत पर्दछ । व्यवस्थापन समितिमा रहेका व्यक्तिहरुको स्वेच्छाचारिता तथा शिक्षक शिक्षिकाहरुको गलत आचरणका कारण यहाँ शैक्षिक गुणस्तरलगायत सम्पूर्ण पक्ष विस्तारै अधागतितिर गैरहँदा हालै भएको नयाँ व्यवस्थापन समितिको गठनपश्चात आएका समितिबाट धेरैले ठूलो आश गरेका छन् । ध्रुवराज न्यौपानेको अध्यक्षतामा बनेको समिति राजनीतिक समिति देखिए पनि काम गर्ने समितिको रुपमा चिनिन थालेको छ । करिब करिब बन्द हुने अबस्थामा नेतृत्व लिएको नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि केही महत्वपूर्ण पहलहरु संचालन गर्न शुरु गरेको छ ।
यही क्रममा मंसिर २ गते शनिवार कपन तथा आसपासमा रहेको शिक्षा क्षेत्रका जानकार तथा सामाजिक जीवनका सरोकारवाला व्यक्तिहरुलाई डाकेर महत्वपूर्ण सुझावहरु संकलन गरेको छ । वालकुमारी निमावि परिसरमा रहेको बाल बिकास समाजको कक्षमा आयोजित कार्यक्रमा उपस्थित विभिन्न व्यक्तिहरुले स्कूललाई अगाडि बढाउन महत्वपूर्ण सल्लाह दिए ।

करिब ३५ को संख्यामा उपस्थित व्यक्तिहरुले दिएका केही महत्वपूर्ण सुझाव दिने क्रममा विशेषगरी यस अघि राजनीतिक व्यक्तिहरुले आफ्ना मानिसहरुलाई शिक्षक शिक्षिकाको रुपमा गरिएको भर्तिलाई सबैले आलोचना गरे । विशेष गरेर  अनावश्यक शिक्षकहरुको नियुक्तिलाई बदर गर्न धेरैले सुझाव दिए । कपनमा राजनीति गर्ने र वालकुमारी निमाविमा आफ्ना आफन्त शिक्षकको रुपमा नियुक्त गरेर विवादमा परेका राजकुमार कार्कीले आफ्ना भाइलाई, श्याम डोटेलले छोरीलाई र मुरारी भण्डारीले श्रीमतीलाई शिक्षक बनाएका थिए । यो बाहेक पनि पार्टीको नाममा अरु केही नियूक्ति भएको छन् । जम्मा ३५० विद्यार्थि रहेको यस विद्यालयमा १४ जना शिक्षक रहेका छन् । जुन विद्यालय मापदण्ड अनुरुप करिब छ जना बढि शिक्षक हुन् । जसमध्ये १० शिक्षकलाई निजी श्रोतबाट तलब खुवाइने गरिन्छ ।

सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकांशले शिक्षकहरुको योग्यतालाई हेरि मूल्यांकन गरेर अगाडि बढ्न नयाँ अध्यक्ष ध्रुवराज न्यौपानेलाई सल्लाह दिए । लेखा प्रणालीलाई दुरुस्त पार्न तथा विद्यालयको आफ्नो विनियम बनाउन पनि सल्लाह दिएइको थियो । सहभागिहरुले हाम्रो मान्छे हैन राम्रो मान्छे शिक्षकको रुपमा चयन हुनु पर्नेमा जोड दिए । साथै शिक्षक र व्यवस्थापन समितिबीच आपसी सहयोग बिना विद्यालय चल्न नसक्ने भन्दै विशेषगरेर शिक्षकहरुको रबैयाको खुलेर आलोचना गरेका थिए ।

 

कार्यक्रममा सुझाव दिने क्रममा ठाकुरप्रसाद खकुरेलले यस क्षेत्रमा रहेका अरु विद्यालयसँग प्रतिस्पर्धा गर्ने आधारको पठनपाठनको आधार तय गर्न सुझाव दिए । खकुरेलले शिक्षकले राजनीति गर्न नहुने यदि त्यस्तो शिक्षक छन् भने कारबाहि गर्न व्यवस्थापन पक्ष तयार रहन पनि सुझाव दिए । त्यसैगरी स्थानीय समाजसेवी सुरेन्द्र पौडेलले स्थानीय भेकका सबैलाई समेटेर यो यस क्षेत्रको विद्यालय हो भन्ने भावना जागृत गर्न पर्ने आवश्यक्ता औंल्याउँदै आजसम्म सहयोग गर्ने दाताहरुको अभिलेखीकरण हुन नसकेकोमा गुनासो गर्दै बिगतको इतिहासलाई समेट्न अनुरोध गरे ।

 

कार्यक्रममा पूर्व गाविस  अध्यक्ष मीठाराम अधिकारीले विद्यालय स्थापनाको बेलामा दुःख गर्नेहरुको नाम आज कसैले नलिएकोमा गुनासो गर्दै सबैभन्दा पहिले बालकुमारी स्कूललाई सहयोग इन्द्रबहादुर तामाङजस्ता व्यक्तिहरुको नाम अग्रपंक्तिमा राख्न जोड दिए । ५ वर्ष गाविस अध्यक्षसमेत रहेका अधिकारीले कपनमा ठूलो समस्या परेपछि मीठाराम चाहिन्छ भन्दै आफ्नो विज्ञापन गर्न पनि भ्याए ।

ध्रुवराज न्यौपाने – अध्यक्ष, विद्यालय व्यवस्थापन समिति

कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले आआफ्नो स्तरको सुझाव दिए । यसरी सुझाव दिनेहरुमा श्याम डोटेल, मुरारी भण्डारी, पुण्यराज पुडासैनी, नरेश पौडेल, नवराज भट्टराई, गंगाबहादुर श्रेष्ठ, अशोकराज पाण्डे, हरेराम ढुंगाना, टंक सापकोटा, सागर बैजु, किरण थापालगायतका थिए ।

सुझाव संकलन कार्यक्रमको अन्त्यमा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले सहभागि सबैलाई धन्यवाद दिँदै हिजोदेखि देखिएका समस्यालाई अब अगाडि नबढाउन विभिन्न उपसमिति बनाएको तथा विद्यालयका आफ्नै विनियम बनाउने तयारी भैरहेको जानकारी दिए । उनले विद्यालयमा केही शिक्षकहरुको दरबन्दि ल्याउने प्रयास भएको पनि जानकारी दिए । शिक्षा नियमावली अन्तर्गगरही शैक्षिकस्थिति राम्रो बनाउन पूनर्मूल्यांकन समितिको निर्माण भएको पनि उनले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।