नेकपा -माओवादीका काठमाडौँ इन्चार्ज झकबहादुर मल्लसँग गरिएको अन्तरवार्ता

एनेकपा माओवादीसँग सैद्धान्तिक मतभेद राखेर छुट्टिएको वैद्य समूह नेकपा – माओवादी बनेको पनि करिब ८ महिना हुन लागेको छ । जनयुद्धकालिन मुद्धाहरुलाई उठाएरअगाडि बढ्ने क्रममा पूर्व जनमुक्ति सेना तथा पूराना र खारिएका कार्यकर्तालाई समेट्ने क्रममा रहेको यो पार्टी यतिखेर महाधिवेशनको संघारमा रहेको छ ।  सामान्य जनताले एमाओवादी र नेकपा – माओवादीबीचको अन्तर जुँगाको लडाइँमात्र हो कि भनेर बुझिरहेको अवस्थामा नेकपा – माओवादी काठमाडौं इन्चार्ज झकबहादुर मल्ल(सुदिप )सँग कपन अनलाइनले नितान्त सैद्धान्तिक वार्ता गरेको छ । जनयुद्धका सुरुवाती दिनदेखि पार्टीमा आवद्ध भएर अगाडि बढेका मल्ल सुर्खेत लाटीकोइलीका स्थायी बासिन्दा हुन् । ०५७ सालमा अखिल क्रन्तिकारीको केन्द्रिय सदस्य बनेका ३३ वर्षीय मल्लले ०५८ सालमा सुर्खेत जेल ब्रेक गरेका थिए । कम्पनि कमिसार, बटालियन कमिसार, विग्रेड कमिसार हुँदै तमुवान राज्य अध्यक्षजस्ता महत्वपूर्ण पदमा बसेर उनले काम गरिसकेका छन् । जनयुद्धमा पत्नीसमेत गुमाएका मल्लसँग कपन अनलाइनले गरेको वार्ता ः 

नेकपा -माओवादीका काठमाडौँ इन्चार्ज झकबहादुर मल्ल

 

प्रश्न ः नेकपा -माओवादी र एकिकृत माओवादीबीचको खास अन्तर के हो ? सामान्य मानिसले बुझ्न सक्ने गरी भनिदिनुस् न ?


झकबहादुर मल्ल ः एकिकृत माओवादीको पहिचान भनेको जनयुद्धको पहिचान हो । जनयुद्धले स्थापित गरेका पहिचानभित्र जनयुद्धले बोकेको लक्ष्य, उद्धेश्य र जनयुद्धको बेलामा वा रगत बगाउने बेला गरिएको त्याग, समर्पण र बलिदानमा अभिव्यक्त भएको शैद्धान्तिक निष्ठा विचार जोडिन्छ । एमाओवादी त्यो बेलाको बिचारबाट हाल आइपुग्दा विहिन वा च्यूत भएको छ । त्यो बेलाको निष्ठा, समर्पण र प्रतिबद्धताबाट पूर्णतः बाहिरिएको छ । र त्यहि बलिदान, समर्पण र निष्ठाको ओजलाई कायम राख्न, त्योबेलाको गरिमालाई अविच्छिन्नरुपमा अगाडि बढाइ राख्ने सबालमा हामी नेकपा- माओवादी अगाडि बढेका छौं । अन्तर भनेको जनयुद्धको पहिचानलाई मार्ने र नमार्ने भन्ने विषय नै हामीबीचको मूल अन्तर हो ।
प्रश्न ः नेकपा माओवादी गठनपछि पनि ७ महिना बितिसक्यो । यो जुन भिन्नता यहाँले बताउनु भएको छ यो भिन्नतालाई सम्बोधन गर्ने काम यो बीचमा केही भयो ?
झकबहादुर मल्ल ः सबैभन्दापहिला हाम्रा मूलभूत एजेण्डाहरु ७० बँुदे माग बनाएर नेपाल सरकारलाई बुझाएका छौं । त्यसैगरी यो बीचमा हामीले नेकपा माओवादी गठन गर्नु पर्ने कारण तथा प्रतिबद्धताहरु जनसामान्यले थाहा पाउने गरी सार्वजनिक गरिसकेका छौं । पार्टीको रुपमा कुनै पनि काम अगाडि बढाउनु पूर्व संगठनलाई मजबुत बनाउनु पर्ने हुन्छ । हामीले सांगठनिकरुपमा तितरबितर भएको संगठनलाई मजबुत बनाउन पनि हामीले समय खर्चिरहेका छौं । यसैबीचमा पार्टीको महाधिवेशनको तयारीमा हामी छौं । महाधिवेशनसँगै बन्ने मजबुत संगठनपछि हाम्राबारेमा अझै धेरै कुराहरु अगाडि आउँछ ।
प्रश्न ः जनयुद्धमा होमिएका वा संघर्ष र आन्दोलनमा बलिदान दिएकाहरुलाई सम्बोधन गर्ने भनेको यी हिजो जनयुद्धका लडाकुहरुलाई इङ्गित भएको हो कि भन्ने बुझिन्छ, यहाँहरुको कार्यकर्ता पंक्ति यिनै हुन् ?
झकबहादुर मल्ल ः पूर्व लडाकुहरु मात्र हैन, यो देशमा रहेका किसानाहरु, मजदुरहरु, बहुसंख्यक उत्पिडित जनताहरु यो सबै समुदायलाई सम्बोधन गर्ने गरी जनयुद्धको बेलामा जुन प्रतिबद्धता व्यक्त भएको थियो त्यहि प्रतिबद्धतालाई साकार रुप दिनको लागि हामी कृयाशील छौं । हामीसँग यी सबै तप्काका कार्यकर्ताहरु आबद्ध छन् । जनयुद्धको सबै पक्षलाई समग्र अध्ययन नगरीकन नेपालको वर्तमान राजनीतिलाई अगाडि बढाउन सम्भव छैन । हामी त्यसैको पक्षमा वकालत गरिरहेका छौं । हामी निकर्षमा पुगेका छौं भने जनयुद्धको बेलामा उठाएका सैद्धान्तिक प्रतिबद्धताहरु अहिले नेपालमा आवश्यक छ । किनकी पूरानो संसदीय व्यवस्थाले नेपाललाई निकास दिन सकेन । नेपाललाई अग्रगामी निकासमा लैजान सकेन । देशको विकास, प्रगति र समृद्धिको नेतृत्व गर्न सकेन । शान्ति प्रकृया यता भएका सबै कृयाकलाप पनि संसदीय व्यवस्थाको एउटा स्वरुपमा मात्र देखियो । जनयुद्धमा उठाइएको महत्वपूर्ण मुद्धाहरु कार्यान्वयन नहुँदा देश पूर्णत अनिर्णयको बन्दि भयो । यी सबै मुद्धामा आबद्धहरु हाम्रा कार्यकर्ता हुन् ।
प्रश्न ः यतिखेर सरसर्ति हेदाचाहिँ तत्कालिन जनयुद्धले जे कुरा उठान गरेको थियो, गणतन्त्रपश्चात ती कुरा असफल हुँदै गएको देखियो हैन ?
झकबहादुर मल्ल ः जनयुद्धमा अभिव्यक्त भएका वा जनयुक्तले सम्बोधन गरेका आधारभूत कुराहरुमा गणतन्त्रपश्चात देश जाँदै गएन । त्यति मात्र हैन जनयुद्धबाट प्राप्त भएका उपलब्धिलाई समेत संस्थागत गर्नसमेत पनि नेपालको राजनीतिक नेतृत्व असफल भएको छ । त्यसकारणले गर्दा देशमा दिनप्रतिदिन संकट, अन्यौलता गहिरिँदै गएको छ । यो अप्ठेरो अवस्थाको सृजना जनयुद्धले उठाएको विषयहरुलाई संबोधन र संस्थागत गर्न नसक्नुले उब्जाएको हो ।
प्रश्न ः नयाँ पार्टी बनेपछि तपाइँहरुले कसरी कार्यनीतिक वा रणनीतिक मार्ग अवलम्बन गर्नु हुन्छ, त्यो त हेर्न पाइला तर जे कुराहरु यहाँहरुले उठाइरहनु भएको छ यी सबै वा त्योभन्दा बढि कुरा एमाओवादीले उठाउने गर्छ वा यस्तै यस्तै कुराहरु एमालेहरुले पनि उठाउने गर्छन् । तपाईहरुले के त्यस्ता कुरा तथा काम गर्न सक्नुहुन्छ जसले नयाँ पार्टी बनाएर लाँदा खेरी जनताले विश्वास गर्ने आधार तय हुन्छ ?
झकबहादुर मल्ल ः यो अत्यन्त महत्वपूर्ण सन्दर्भ हो । सबै पार्टीहरुले देशको लागि, जनताको लागि वा परिवर्तनको लागि भनेर बोलिरहेका हुन्छन् । तर यो भन्ने कुरा र व्यवहारमा लागु गर्ने कुरामा जुन भिन्नता देखिएको छ । एमाओवादीले हिजो जनयुद्धमा उठाएका धेरै मुद्धाहरु अहिले तत्काल पुरा हुने अवस्थामा छैन भन्न थालेको छ । तत्काल नयाँ जनवादी व्यवस्था सम्भव छैन भन्ने उहाँको आम धारणा बनिसकेको छ । हिजो आन्दोलनमा हँुदा सम्भव देख्ने, हिजो कमजोर अवस्थामा हुँदा सम्भव देख्ने अहिले जनताहरुको पार्टी बनेर यति ठूलो अवस्थामा पुग्दा उहाँहरु त्यस्तो के कुराले असम्भव भनिरहनु भएको छ ? उहाँहरु सैद्धान्तिक, मूल्य मान्यता र आदर्शबाट विचलित हुनु भएकोले यस्तो भएको हो तर हामी नयाँ जनवादी व्यवस्थाको पक्षमा आमधारण विकास गर्न लागि परेका छौं । सत्तामा पुगेपछि भ्रष्टाचारमा, तस्करीमा, राष्टघातमा निर्लिप्त हुनेहरुले राष्टियता, जनवाद वा अन्य महत्वपूर्ण कुराहरु बोल्दैमा वा लेख्दैमा अब जनताले पत्याउँदैनन् ।
प्रश्न ः आजको सम्मको विश्वको इतिहास हेर्दा पनि तपाइँहरुले लिएको जस्तो अवधारण बोक्नेहरु सत्तामा छँदै छैनन् अब पार्टीको रुपमा पनि विश्व बजारमा कमै पाइन्छ तर एमाले वा एमाओवादीले जस्तो संसदीय मोर्चाबाट भाग लिनेहरु कहिँकतै सफल पनि छन् । कसरी यहाँले लिएको बाटोबाट जनवादी सत्ताको सम्भावना छ ?


झकबहादुर मल्ल ः विषयवस्तुको ठीक ढंगले विश्लेषण गर्दा नेपालमा मात्र हैन विश्वभरी हामीले हेर्यौं भने विश्वमा पुँजिवादको संकट, साम्राज्यवादको संकट र सर्वहारवर्गीय आन्दोलन, वर्गीय आन्दोलन उठ्दै जाने साम्रज्यवादी हस्तछेपका विरुद्ध आवाजहरु उठ्दै जाने संभावना पनि हामी देखिरहेका छौं । विश्वमा साम्राज्यवादीहरुलाई चुनौति दिँदै कम्युनिस्ट पार्टीको झण्डा फहराउँदै गरेको देशहरु पनि छन् । विश्वमा कम्युनिस्टहरु पराजित भएका वा कम्युनिस्टहरु सिद्धिदैँ गरेको तर्क सही हैन । यथार्थ कुराचाहिँ विश्वमा भैरहेको विज्ञान र प्रविधिको विकास, चेतनाको विकास, ज्ञानको विकासमा जुन फड्को मारिरहेको छ त्यसको निकास साम्राज्यवादी सरकारहरुले दिन सक्दैनन् । त्यसको सम्बोधन गर्न सक्ने व्यवस्था भने समाजवादी र साम्यवादी व्यवस्था हो । त्यो सम्भावना हामी विश्वभरी देख्छौं । त्यसैगरी स्वदेशमा पनि हाम्रा बारेमा अब हामी हतियार बोकेर हिँड््छौ भनेर जुन तर्क गर्न खोजिएको छ त्यो पनि हैन । शान्तिपूर्ण तरिकाले नै जनताका आवाजहरुलाई सम्बोधन गर्छौँ । देशलाई व्रम्हलुट गरिरहँदा अब जनताहरु मुकदर्शक भएर बस्नु हुँदैन र व्रम्हलुट गर्ने शक्तिहरुलाई पराजित गरी नयाँ जनवादी सत्तामा जनतालाई अधिकारपूर्ण बनाउन हामी अग्रसर छौँ ।
प्रश्न ः तपाईहरु ठोस कुरा बाहिर आउन सकेको छैन, कतै युद्धको कुरा पनि उठेका पाइन्छ कतै कतै संसदीय पद्धतिको बिरोधको कुरा पनि उठेको छ । तपाई युद्ध हाम्रो मूलभूत सिद्धान्त हैन भन्नुहुन्छ । निर्वाचनको कुराहरु उठिरहेको छ, तत्काल निर्वाचनमा नजाने कुरा पनि आएको थियो । तपाइँहरु अगाडि बढ्ने बाटोचाहिँ कुन हो ?
झकबहादुर मल्ल ः हामीले लिने कतिपय कार्यनीतिक तथा रणनीतिक मार्गहरु आउँदो अधिवेशनले पनि स्पष्ट पार्नेछ । हामी यतिखेर नेपालको कम्युनिस्ट आन्दोलन तथा जनयुद्धलगायत विश्व कम्युनिस्ट आन्दोलनको संश्लेषणका चरणमा छौं । महाधिवेशनले यी धेरै कुराको सार्वजनिक गर्नेछ । तर यसको अर्थ अहिले हाम्रो पार्टीले केही पनि गरिरहेको छैन वा विरोध मात्र गरिरहेको छ । कुनै नयाँ भिजन दिन सकेको छैन भन्ने कुरा पनि हैन । हामीले प्रष्ट भनेका छौँ । पूरानो जनवादी व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था हुन्छ त्यो व्यवस्थामा जानु पर्छ भन्ने हाम्रो भनाई हो । ठीक छ तत्काल त्यो व्यवस्थामा जान सकिदैन भने सर्वपक्षीय गोलमेच सम्मेलन गरौँ र जनतालाई बढिभन्दा बढि अधिकार सम्पन्न बनाऔँ । तर ठीक उल्टो यो कार्ययोजनमा अगाडि बढ्नु सट्टा कहिले संसद पूर्नस्थापनको बहस कहिले चुनावको बहस गरेर जनतालाई गुमराह बनाइँदैछ । हामी यसको सशक्त विरोधमा छौं ।
प्रश्न ः तपाईहरुले भनेको जस्तो गोलमेच सम्मेलन गरेर २५ ३० दलका प्रतिनिधिले भाग लिएर नतिजामा पुग्ने यहाँको माग वा यिनै दलहरुले भरिएको संसद पुर्नस्थापना गरेर निकासको बाटो खोज्नुबीच के अन्तर छ र त्यस्तो ? आखिर तिनै दलहरुका मूख्य नेताहरु नै त छन् जता पनि । संसदलाई नै गोलमेचमा स्थापना गर्न सकिदैन ?


झकबहादुर मल्ल ः संविधानसभा २ वर्षको लागि बनाइएको थियो । अरु दुईवर्ष थपियो । काम केही गर्न सकिएन । त्यो पूर्णतः असफल भैसकेको छ । त्यसबाट कुनै निकासको संभावना छैन । ६०१ जनालाई तलब भत्ताको सुबिधा दिएर यो देशको निकास निस्कदैन भन्ने हाम्रो मान्यता हो । यो त असफल भैसकेको छ । फेरि यो चारवर्ष यता केही नेपाली राजनीतिमा केही नयाँ शक्तिहरु पनि उदाएका छन् । केही नयाँ शक्ति सन्तुलनका मोर्चाहरु पनि देखिएका छन् त्यसेले यी सबैलाई समेटेर गोलमेच सम्मेलन नै अहिलेको उत्तम विकल्प हो ।
प्रश्न ः कतिपय अवस्थामा एमाओवादीबाट तपाइँहरु फुट्नुमा बाबुराम भट्टराई पक्षको गलत रबैयाको कारण हो भन्ने सुन्ने गरिन्छ । दाहाल पक्ष बैद्य पक्षबीच त्यति ठूलो समस्या थिएन भनिन्छ । कुनै त्यस्तो बिन्दु फेरि नेकपा माओवादी र एमाओवादी जुट्ने सम्भावना कत्तिको छ ?

झकबहादुर मल्ल ः हामी भावनात्मक र सहकार्यको रुपले विगतदेखि नै निरन्तर दाहाल पक्षसँग सहकार्य हुँदै आएको हो । तर फुटको कारण वा भोलि जुट्न सक्ने कारणलाई भट्टराई वा अरु कुनै समूह हो भनेर भन्नु चाहिँ सर्वथा गलत हुन जान्छ । एमाओवादीको मूल नेतृत्व विचलित भएको कारण हामी अलग्ग्एिका हौं । यहि अवस्थामा कुनै जुट्ने सम्भावना पनि छैन । यसले नेपालमा प्रगति हुनेवाला पनि छैन । सच्चाई कुरा के हो भने जनयुद्धका सपनाहरु साकार पार्नै प्रतिबद्धताबाट विचलित भएको कुरा स्वीकार नगरेसम्म र नेपालमा नयाँ ढंगले जाने प्रतिबद्धता नआउँदासम्म कुनै संभावना खोजिनु पनि हुँदैन भन्ने मलाई लाग्छ । अहिलेको अवस्थामा एमाओवादीकबाट त्यस किसिमको प्रतिबद्धता आउने सम्भावना पनि देखिदैन । राज्य रुपान्तरण नहुँदै जनमुक्ति सेनालाई जुन किसिमले विघटन गरियो र संसदीय व्यवस्थामा फर्किएर मन्त्रि र प्रधानमन्त्रि हुने काम भयो त्यस्ता गल्तिहरुबीच हामी तत्काल एकिकरणको सम्भावना खोज्दैनौं पनि ।
प्रश्न ः एउटा न एउटा विन्दु पुगेर युद्धमा होमिएका सेना विघटन हुन्छ । त्योबेला प्रयोग गरिएको हतियार राज्यले लिन्छ अथवा युद्ध हाँक्नेहरु सत्तामा आउँछन् यो त प्रकृया नै हैन र ? के गलत भयो यहाँ ? युद्धको कुनै न कुनै लक्ष्य त सत्ता नै होइन र ?
झकबहादुर मल्ल ः युद्ध वा आन्दोलनको लक्ष्य सत्ता प्राप्त गर्नु नै हो । यसमा लुकाउनु पर्ने कुरा केही पनि छैन । तर यहाँ जनताको सत्ता स्थापना भएको छैन । हिजो गाउँमा काम गर्दै गरेको किसानलाई तिमीले जनयुद्धमा छोरो पठाइदेउ हामी तिमीलाई स्वतन्त्रता दिन्छौं भनेर भनिएको थियो । हिजो स्कूल जाँदै गरेको विद्यार्थिलाई तिमी युद्धमा हिँड तिमीलाई जनवादी शिक्षा दिनेछौं भनिएको थियो । आज खोइ तिनीहरुकोमा राज्यसत्ता पुगेको खोइ तिनीहरुको अधिकार प्राप्त भएको ? जनवादी शिक्षा प्राप्त भएको छैन । किसानले जस्को जमिन जोत्छ त्यो किसानकै हुन्छ भनिएको थियो तर शान्ति प्रकृयामा आइसकेपश्चात उल्टै जमिनदारसँग मिलेर जग्गा फिर्ता गरियो । किसानहरुलाई हतोत्साही बनाइयो । यसकारण यी घटनाहरुले सत्ता प्राप्त नभएको देखाउँछ तर सत्ता प्राप्त नहुँदै हाम्रो शक्ति भने सकाउने काम भयो । हिजो युद्धको बेला एउटा हतियार वा ग्रिनेड छोडेर भाग्ने लडाकुलाई कारवाही हुने गथ्र्याै र उसलाई दण्डित गरिन्थ्यो तर आज साराका सारा हतियारलाई प्रतिक्रियावादी शक्तिहरुसँग समर्पण गर्ने प्रचण्डलाई कारवाही हुनुपर्छ ।
प्रश्न ः यतिखेर स्थानीय निकायको अधिवेशनको कुरा चलिरहेको छ । कस्तौ हुँदैछ ?
झकबहादुर मल्ल ः काठमाडौं जिल्लामा हामी मंसिरको पहिलो साताबाट अधिवेशन शुरु हुन्छ । देशभरी पनि यहीबीचमा अधिवेशनको कामहरु हुनेछ । पौष १५ गतेभित्रका देशभरीका राज्यस्तरका अधिवेशनहरु सम्पन्न गर्ने र पौष २५ गते महाधिवेशन पनि काठमाडौं गर्ने तयारी पार्टीले गरिरहेको छ ।

-केशव पाठक

 

तपाइँको प्रतिक्रिया ।