बजेट नहुँदा महिला सामुदायिक भवन अलपत्र
कपन अनलाइन
तेह्रथुम, ८ माघ । तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ । महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो ।
गाविसको लक्षित वर्ग तर्फको बजेटले निर्माण थालिए पनि थप आशा गरिएका गाविस, जिविस र अन्यत्र कतैबाट पनि बजेट नदिइँदा निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको महिला अधिकार मञ्चकी अध्यक्ष विष्णुकुमारी कन्दङवाले बताउनुभयो ।
गाविसबाट दिइएको दुई वर्षको बजेटले घडेरी सम्याएर गाह्रो थाल्न मात्रै पुगेको महिला नेतृ देवीमाया भुजेलले बताउनुभयो । ‘हप्तैपिच्छे केही न केही कार्यक्रम पर्छन्, उहाँले भन्नुभयो, ‘तर सबै कार्यक्रम सामुदायिक भवन र विद्यालयमा गर्नुपर्दा असजिलो हुन्छ ।’ कार्यक्रम जुध्दा महिलाका कार्यक्रम बाहिरै गर भन्छन्, हामी मात्रै कत्ति चौरीमा बस्ने ? झरी बादलमा समस्या हुन्छ, भवन बनाऔंँ भनेर लागियो, उहाँले भन्नुभयो, “तर कसैले पनि सहयोग गरेन, भवन निर्माण अलपत्र परेको छ ।”
भवन निर्माणका लागि बजेट माग गरेपनि पहुँच नपुग्दा समस्यामा परेको उहाँले बताउनु भयो । भवन गाउँ पारालिगल, महिला सशक्तिकरण सञ्जाल र महिला अधिकार मन्चले मिलेर निर्माण थालेका हुन् । तर बजेट अभावले निर्माणकार्य नै अलपत्र बनेको छ । यो वर्षको गाविसको महिला लक्षित बजेट पनि सबै भवन निर्माणमै लगाउने तयारी छ ।
वर्षामा झरिले गाह्रो भत्काइदिँदा समस्या हुने गरेको छ । भवन बनाउन सभासदहरुलाई समेत बजेट माग गरिएको तर बेवास्ता भएको महिलाको गुनासो छ । भवन बनाउन अहिलेसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको छ ।
अझै रु पाँच लाख बढी रकम लाग्ने अनुमान छ । भवन ढुङ्गा माटोको दुई तले बनाउने लक्ष्य लिइएको छ, तर अहिले पहिलो तला लगाउने समेत तयारी छैन । उनीहरुले भवन बनाउन सहयोग गर्न व्यक्ति संस्था र सम्बन्धित निकाय सबैलाई आग्रह गरेका छन् । रासस