देवी नेपाल लिखित ‘छन्दपराग’ को परिमार्जित दोस्रो संस्करण प्रकाशित
कपन अनलाइन, काठमाडौँ, ३० मङ्सिर, २०७३
विसं २०६२ मा पहिलो संस्करणका रुपमा प्रकाशन भएको देवी नेपालद्वारा लिखित छन्दपराग नामक छन्दको लक्षणग्रन्थको परिमार्जित दोस्रोसंस्करण प्रकाशन भएको छ । पहिलो संस्करणभन्दा तेब्बर ठूलो सो कृतिमा धेरै नयाँ कुरा थपिएको छ । कृतिबाट धेरैले कविता, गीत र गजल लेख्न सिकेका थिए । छन्दपरागभित्र कविताको लघुतम रुपमा पर्ने र नेपालीमा लेखिएका हाइकु, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रूबाइयात, लोकपद्य, कवित्, कूटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा र खिचडी आदिको संरचनाविधान र तिनका प्रयोक्ताका बारेमा जानकारी दिइएको छ ।
ऐरावती प्रकाशनले प्रकाशन गरेको कृतिमा कविताको लघु रुपमा पर्ने फुटकर कविता, गीत, गजल र फाँचल, मध्यम रुपमा पर्ने खण्डकाव्य र लामो कविता, बृहत् रुपमा पर्ने ललित महाकाव्य र बृहत्तर रुपमा पर्ने आर्ष महाकाव्यको संरचनात्मक जानकारी दिइएको छ ।
नेपाली कविता, गीत र गजलमा आजसम्मप्रयोग गरिएका पाँचैप्रकारका छन्दको त्यही छन्दमा लक्षण र प्रयोग गर्ने तरिकासमेत सिकाई नेपाली कविहरुले त्यही छन्दमा लेखेका प्रशस्त उदाहरण समेटिएका छन् । वार्णिक छन्दका २६० , मात्रिक छन्दका नौ, लोक छन्दका २५, मुक्त छन्द (गद्यकविताको लयविधान) का २७, बहर (गजलको लयविधान) का ५४ र अङ्ग्रेजी कविताको लयविधानका पाँच गरी तीन सय ८० छन्दको लक्षण र उदाहरण सहित लेखन सीप पनि सिकाइएको छ ।
कृतिमा कविताका विविध रुपको प्रयोगमा र सबैखाले छन्दकविताको पाँच सयभन्दा बढी नेपाली कविका कविता उदाहरणमा समेटिएका छन् । राष्ट्रकवि माधव घिमिरेदेखि अहिलेको पुस्तासम्मका ४४ स्रष्टाका नेपाली कविता लेखनमा ‘छन्दपराग’ले पारेको प्रभावका विषयमा दिइएका प्रतिक्रिया पनि पछिल्लो खण्डमा समावेश गरिएका छन् ।
-रासस