विपिलाई पछ्याउँदै सिद्धार्थ !!!

विपिलाई पछ्याउँदै सिद्धार्थ !!!

कपन अनलाइन, ७ कात्तिक, २०७३

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल महाधिवेशनको प्रकृयामा छ । एक महिनाअघि नै हुनुपर्ने तरुणदलको महाधिवेशनको मिति संभवतः तिहारपछि सार्वजनिक हुनेछ । आन्तरिक गुटबन्दि र निषेधको राजनीतिबाट ग्रसित रहेको नेपाली कांग्रेसभित्रको बिभिन्न समिकरणीय समस्याका कारण तरुणदलको महाधिवेशन रोकिएको कुरा छर्लङ्ग छ ।

पछिल्ला लामै वर्षहरुदेखि नेपाल तरुण दल खासै चर्चा प्रभावमा रहन सकेको छैन । नेपाली कांग्रेसको भातृ संगठन हुनुको नाम बाहेक चर्चायोग्य खासै काम गर्न सकेको छैन तरुण दलले ।

नेपाली कांग्रेसको १३ महाधिवेशनपछि भातृ संगठनलाई पनि दुरुस्त बनाउने सोचका साथ तरुण दलको इकाई, क्षेत्र र जिल्ला अधिवेशन पूर्ण भएको छ । नियमित अधिवेशनको सिलसिलाबाहेक तरुणदलको यो महाअधिवेशनको प्रशंगसँगै एउटा नाम चर्चाको परिधिमा आयो ।

नेपाली छापा तथा अन्य पत्रकारिताले उनलाई तुलनात्मकरुपमा राम्रै स्थानसमेत दिएको छ । उनी हुन् सिद्धार्थ कोइराला । स्व. विपि कोइरालाका आफ्नै नाति सिद्धार्थ कोइराला पूर्व मन्त्रि प्रकाश कोइरालाको छोरा हुन् ।

img_0372

तरुणदलभित्रको गुट उपगुटभन्दा पृथक भएर आएको सिद्धार्थ कोइरालाको चर्चासँगै तरुणदलको उचाई पनि अग्लिएको आभाष गरेका छन् धेरैले । विपिको नाति यसरी भातृ संगठनमा केही गर्छु भनेर आउँदा नेपाली राजनीतिमा योग्यहरुको अभाव भैरहेको अवस्थामा राहतसमेत मिलेको आभाष गरिएको छ ।

कुनै अमुक नेताको फेरो समातेर माथि उठ्न खोज्नेहरुको झुण्डहरुबीच सिद्धार्थको परिचय, योग्यता तथा उचाई सर्वथा पृथक थियो । नेपाली कांग्रेसको राजनीतमिा कुन नेताको विश्वासपात्र को हो भन्ने सतही युद्धमा सिद्धार्थको पदार्पण आफैमा सर्वमान्य किसिमको थियो । सिद्धार्थ आफै भन्छन्, “युवाहरुमा आत्मबल भर्न म आएको हुँ ।” परिचयको अभाव भएर उनी राजनीतिमा पदार्पण भएका हैनन् ।

विपिका नाति हुनुसँगै उनले विरासतनै धेरै कुरा प्राप्त गर्न सक्छन् । हाल नेकाभित्र रहेका आफ्नाहरुमै पहल गरे पनि नेकाको राजनीतिमा केन्द्रिय सदस्य वा अन्य केही बन्न खासै मेहनत गर्न नपर्ने सिद्धार्थ युवा पुस्ताहरुमा देखिएको राजनीति प्रतिको घृणालाई सकारात्मक सन्देश दिन चाहन्छन् । “केही बन्छु भनेर म राजनीतिमा आएको हैन, केही दिन्छु युवा पुस्ताका लागि भनेर आएको हुँ राजनीतिमा”, सिद्धार्थले भने ।

विपिका नाति, प्रकाश कोइरालाको छोरा, मनिषा कोइरालाको भाई, बलिउड फिल्ममा पनि एउटा उचाई हासिल गरेका कलाकारको हैसियतमा सिद्धार्थ नामको आगाडि विशेषण धेरै छन । नेपाली राजनीतिमा लाग्नेहरुले नामभन्दा बदनाम नै बढि कमाइरहेको बेला सिद्धार्थ सजगताको साथ राजनीतिमा होमिएका छन्, हजुरबुबा विपिको पथलाई बोकेर ।

नेपाली राजनीतिमा केही फरक गरेर देखाउने मुडमा छन् उनी । राजनीतिमा लागेर केही लिनभन्दा पनि आफ्नो दिन आएको बताउँछन् उनी । “अब चिन्तन मात्र हैन विकासवादी सोच आवश्यक छ”, सिद्धार्थले थपे । विकासका प्याकेज बोकेर गाउँ गाउँ पुग्न सकिदैन भने अवको राजनीति अर्थहिन छ भन्ने सोचाई छ ।

तराई केही जिल्ला भ्रमण गरिसकेका सिद्धार्थ देशका सबै जिल्लामात्र नभै सबै गाउँ पुग्ने तयारीमा छन् । कहाँ के समस्या छ र कसरी विकास गर्न सकिन्छ भन्ने अध्ययन गर्ने क्रममा छन् उनी । “बस्ति अनि घरघरमा नपुगे मान्छेका पिडा र समस्या कसरी बुझ्न सकिन्छ र !” उनले थपे ।

img_0367

आफ्ना हजुर बुबा विपिले नेपाली ग्रामीण क्षेत्रको विकास नै विकासको मूलाधार भएको बताउने स्मरण गर्दै सिद्धार्थले भने, “विपिले जस्तै व्यक्ति व्यक्ति र गाउँ गाउँका समस्या बुझ्न चाहन्छु ।” विपिको विरासतको राजनीतिप्रति सिद्धार्थलाई चासो छैन, उनी भन्छन्, “सिंगो नेपाली कांग्रेस नै विपिको विरासत हो ।

” युवाहरुको विदेश पलायनले देश गम्भीर संकटमा पर्दै गएको बुझाई राख्छन् सिद्धार्थ । “तरुण पढ्दैछन्, तर विदेश जानका लागि, नेपालमा केही गर्न र विकास गर्न हामीले पढ्नसमेत छाडिसक्यौँ ।” ती युवाहरुलाई विकासको मूलाधारमा समेट्न के के गर्न सकिन्छ मात्र हैन केही विकासका प्याकेज लिएर गाउँ हिँड्दैछन् उनी । कृषिमा नयाँ प्रबिधि तथा मेहनतले नेपाली गाउँ विकास हुन्छ भन्ने मानसिकता राखेर सिद्धार्थले चाँडै नै नेपाली कृषिसँग सम्बन्धित कार्यक्रम बनाउँदैछन् । “विपन्न तराई र दुर्गम गाउँका लागि हुनेछ मेरो कृषिका कामहरु” उनले थपे ।

नेपाली कांग्रेसभित्रको कुनमा गुटमा छन् त सिद्धार्थ ? सिद्धार्थले गुटका बारेमा बोल्न चाहेनन् । सबै वरिष्ठ वा अन्य नेताहरुले आयोजना गरेका कार्यक्रममा जान्छन् उनी । उनलाई देख्ने बित्तिकै पूराना नेता तथा कार्यकर्ताले सान्दाजु(विपि कोइराला) को शालिनता, भद्रता र मिलनशारिता पाउँछन् ।

त्यसैगरी नयाँ पुस्ताका नेता कार्यकर्ताले सिद्धार्थलाई भेट्दा उनको योङ्ग र इनरजेटिक स्वरुपमा केही गर्ने क्षमता देख्छन् । विपिका पुस्तक र चिन्तन पढ्न पनि व्यस्त छन् सिद्धार्थ । कोइराला परिवारबाट यतिखेर नेपाली कांग्रेस हाँकिरहेका महामन्त्रि सशांक कोइराला, सुजाता कोइरालाभन्दा पृथक पनि छन् सिद्धार्थ ।

उनलाई पद र स्थानको कुनै महत्व छैन । अझै १० वर्ष कुनै पदमा पुग्न आँतुरी छैन उनमा । “पदका लागि मात्र गरिने राजनीतिका कारण हाम्रो राजनीति कमजोर बनेको हो,” उनले भने । नेपाली राजनीतिलाई सुद्धिकरण गर्न पद र प्रतिष्ठाको स्वरुपबाट माथि उठ्न चाहन्छन् र विकासका आधारमा देशलाई हेर्न चाहन्छन् सिद्धार्थ ।

img_0377

तरुण दलको महाधिवेशको क्रममा महाराजगञ्ज चक्रपथमा एउटा सम्पर्क कार्यालय खोलेर बसेका छन् सिद्धार्थ कोइराला । भेटघाट, प्रचारप्रसारका लागि सहज होस् भनेर खोलिएको कार्यालयमै भेटिन्छन् सिद्धार्थ । उनको यो सबै काममा मेरुदण्ड भएर बसेका छन् नेपाली कांग्रेसमा विगत ३० वर्षदेखि सक्रिय रहेका महाधिवेशन प्रतिनिधि राजेश अधिकारी

राजेश अधिकारीले आफ्नो घरको एउटा कोठा सिद्धार्थका लागि तरुणदलको राजनीति सफल बनाउन भेटघाट तथा प्रचारप्रसारका लागि उपलब्ध गराएका छन् । राजेशलाई सिद्धार्थ नेपाली राजनीतिका कर्णधार लाग्छ । अधिकारी अबको १० वर्षपछि नेपालमा नेताहरुको अभाव हुन सक्ने मान्दछन् त्यसैले मिसन र भिजन भएको व्यक्ति भएकाले सिद्धार्थलाई सहास दिन आफू अगाडि बढेको बताउँछन् ।

भएका नेताहरु क्षेत्रीय, जातीय हिसाबले आफूलाई अगाडि बढाउँदै गरेको अवस्थामा राष्ट्रिय नेता बन्नका लागि सिद्धार्थजस्तो सर्वगुण सम्पन्नसरह मानिस नेपाली राजनीतिलाई खाँचो भएको अधिकारीको ठम्याई छ । सिद्धार्थ राजनीतिक यात्रामा सहयोग गर्न पाएकोमा अधिकारी खुशी छन् । केही गर्न सक्ने मानिसलाई सहयोग गर्न पाउनु आफै उत्साहजनक काम हो उनले भने । राजनीतिमा कपाल आएर कपाल फुलाएकाहरुको भीडमा कपाल फुलाएर राजनीतिमा आएका सिद्धार्थमा धेरै आशा, भरोसा र उत्साह छ, राजेश अधिकारीले ।

फोटो: बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।