पानी नै तिर्खायो भने केले मेट्ने तिर्खा ?
कपन अनलाइन, असार ६, २०७३, साहित्य
-रामकुमार एलन
‘हाइ, नमस्कार ।’
च्याटमा सत्कार स्वीकारेपछि उनले भनिन्, ‘म त हजुरको नियमित पाठक । सबै पढ्छु नछुटाइकन ।’ उनको कुराले खुशी भएँ ।
लेखकहरुको चिन्ता नै यही हो । दिमाग लगाएर, कपाल झारेर लेखियो, कसैले पढेनन् । प्रतिक्रिया आएन, यस्तै यस्तै चिन्ताले लेखकहरु पलायन भइरहेका हुन्छन् ।
‘ओह नाइस, थ्यांक्स ।’ फकाएँ । सोधिन्, ‘बिजी हो कि कुरा गर्न मिल्छ ?’ फ्रि नै भएको संकेत गरेँ र भनेँ, ‘उही त हो नि एउटा मायापथ लेख्नु छ फेरि ।’
‘ए, कुन विषयमा हो नि यसपटक, कसलाई छोडाउँदै हुनुहुन्छ ?’ उताबाट कडा म्यासेज आयो ।
थपियो, ‘जनताका छोरीलाई काँक्राको चिरा झैँ पारेर पाठकलाई बेच्न सक्ने तपाईंको लेखाइलाई चैँ मान्नै पर्छ ।’
‘ओ, हो र, त्यस्तो होइन नि, समाजमा देखिएको दृश्यलाई शब्दमाला उनेको मात्र,’ लुकाउन खोजेँ ।
‘हो नि खुबै,’ मान्छेलाई पानी–पानी बनाउने, अनि तिर्खा जगाएर भाग्ने तपाईं लाक्षी लेखक हो,’ पेचिलो डाइलग आयो ।
‘मैले कसलाई पानी–पानी बनाएँ र पानी बनाएपछि तिर्खा लाग्छ कसरी ?’ नादानी बनेँ ।
‘यी लेखकहरु के भएका, तिर्खा लागेको कुरा लेख्छन् तर तिर्खा मेटाउने कुरै गर्दैनन् ।’
एकपछि अर्को पेचिलो प्रतिक्रिया आउन छाडेन । लेख्न छाडेर गफिने रहर भयो ।
‘कसको तिर्खा मेट्ने र,’ सोधेँ । ‘सबैको तिर्खा मेटिए पनि पानीको तिर्खा कसले मेटेको छ लेखकज्यू,’ फेरि घुमाइफिराइ डाइलग नै आयो ।
‘पानी पनि तिर्खाउँछ र,’ भनेँ, ‘उनले त सबैको तिर्खा पो मेट्छ त ।’
‘हो नि, त्यही पानी चैँ तिर्खाउँछ भनेर किन लेख्दैनन् लेखकहरु,’ मर्मभेदी प्रहार आयो, ‘कहिलेकहीँ कसैलाई पानी–पानी बनाएपछि तिर्खा पनि मेटाउनु नि ।’
लाइन गयो । इन्टरनेट एक्सेस हरायो । उनका प्रश्नहरुले गम्भीर पनि बनायो । खोइ के लेखियो, के लेख्न सकिएन । कोहीकोही पानी–पानी भएर तिर्खारहेको गुनासो आयो । सबैको गुनासो एउटै लेखले पूरा गर्न पनि सक्दैन । त्यसमाथि पानी पनि तिर्खाउँछ भनेर सोचेकै होइन । जे होस्, यिनले आज नयाँ विषय दिइन् । सबैलाई प्यास मेटाउने पानी आफैँ तिर्खायो भने उनको प्यास मेटाउने के ले ? गम्भीर प्रश्न छाडेर गइन् । अफ भएँ, नेपाल विद्युत प्राधिकरण मीठा गफमा तगारो भइदियो ।
‘हेल्लो किन अफलाइन, डराएको लेखकज्यू,’ मोबाइलमा म्यासेज आयो । फेसबुकमा मोबाइल नम्बर दिनुको फाइदा या बेफाइदा यसैमा छ । प्रोफाइल सर्च गरेर म्यासेज नै आयो ।
पक्कै उनको हो, जवाफ फर्काएँ, ‘लाइन गयो ।’ ‘बहाना हो कि,’ उताबाट जवाफ आयो । मैले होइन, लेख्न बाँकी भएको र नपाएको सुनाएँ ।
‘कफी पिउन आउनुस्,’ निम्तो आयो ।
‘कहाँ आउने ? काम छ मेरो त,’ बहाना बनाएँ । उनले बोलाएको लोकेसन नजिकै नै थियो ।
भनिन्, ‘लाइन आएपछि पठाउँला क्या, लेखकज्यूलाई अपहरण गर्दिनँ ।’ आउने संकेत गरेँ । आखिर लाइन जाँदा काम नै के छ र ? कफी सपमा गफिँदै कफीको चुस्की लियौँ । उनले काठमाडौंका धेरै लेखकहरुको कुरा सुनाइन् । भनिन्, ‘त्यो फलानालाई त मैले अनफ्रेनड गरेँ नि !’ सोधेँ, किन नि ? उनले भनिन्, ‘उ अलि अराजक थियो क्या । यो कफी सपमा उनैले हो बोलाएको मलाइ । उनको फ्यान थिएँ । तर मान्छे अराजक । त्यसपछि अनफ्रेन्ड गरेँ ।’ उनले धेरै लेखकहरुको आनीबानी र नानीबारे बताइन् । भनिन्, ‘त्यो फलानो त खेलौनाजस्तै हो नि ।’ मूला सडकछाप हो, सम्पादकले त्यस्ता झारेको पनि लेख छापेर स्थापित बनायो । घरमा बूढीलाई पिटछ्, बाहिर महिला अधिकारका पक्षमा लेख्छ ।’ उनले खासमा बूढीबाट सन्तुष्टि नपाएर बाहिर खेलौना खोज्दै हिँडेपछि बूढीले गुनासो गर्दा पिटेको हो । त्यस्ता खत्तमलाई पनि लेखक बनायो मिडियाले । उनका कुरा सुनेर गम खाएँ ।
‘कफी सेलायो,’ उनले हात समातिन् । नरम हातको स्पर्शले सम्वेदित हुन सकिनँ ।
सोधेँ, ‘पानीलाई पनि तिर्खा कसरी लाग्छ ?’ उनी हाँसिन् । यस्तो घुरेर हेरिन् कि आँखा भूइँतिर हेर्न हतारिँदै थियो । पानीलाई तिर्खा लागेको ‘डेमो’ देखाएको झल्को आयो ।
कुरा मोडेँ, ‘घरमा को को छन्, के गर्छन् ?’ उनी बोलिनन् ।
फेरि सोधेँ, ‘किन चुपचाप ?’
उनले भनिन्, ‘भन्दै जाउँला नि ।’
‘हुन्छ,’
‘हजुरको लेख मन पर्छ,’ फेरि प्रशंसा आयो ।
कुन कुन मन परे र ?
त्यो थियो नि, ‘काजमा हाल्नु ।’ हाकिमले क्या ‘मिलाएर खाएको’ है होटलमै लगेर । उनको वाणीले लज्जित भएँ । हुन त २१ औँ शताब्दीको महिला न परिन् । अनि त्यो थियो नि, पत्रकारले मोडलको अन्तवार्ता छापेको, नगरकोटमा रात बिताएको, त्यो पनि दमदार थियो । उनीले सबै पढेको झैँ गरेर लाइनलाइन भन्न थालिन् । विचरा सम्पादकलाई पनि रिपोर्टरले ओछ्यानको ब्लो अप छापेको थाहा हुँदैन रहेछ है पत्रकारितामा । उनले यस्ता विषय उठाइन् कि दिमाग घुम्न थाल्यो । उनले भनिन्, ‘साला बैंकरहरु त साथीको श्रीमतीलाई पनि बाँकी राख्दैनन् है,’
ओ हो, यो केटी कति पढन्दास । सबका सब लेख कण्ठ छ । हाँसिरहेँ । उनी बोलिरहिन् ।
भनिन्, ‘लाइन आउने बेला भयो, तपाईं जाने होला अब ।’
हो भनेँ । ‘अनि यो हप्ता कसलाई छोडाउने हो नि,’ सोधिन् ।
भनेँ, ‘मूड छैन, लेख्दिनँ होला ।’
भनिन्, ‘लेखकसँग एउटी पाठकको कुरा लेख्नुस् न ।’
कस्तो कुरा ?
उही, पानीलाई तिर्खा लागेको । उनको कुराले सत्रौँपटक गम्भीर बनायो । कस्तो तिर्खा लागेको हो र ? उही क्या अरुलाई जस्तै । तपाईंको लेखका पात्रलाई जस्तै । बाहिर अर्कीसँग लठारिँदा पनि घरकी बूढीको चिन्ता गर्ने बैंकरलाई जस्तै, बूढीसँग हुँदा पनि बाहिरकीलाई सम्झेर रिसाउने इन्स्पेक्टरजस्तै । ‘सबका तिर्खा उतार्ने, लेखकसँग पाठकको तिर्खा बुझ्ने क्षमता हुँदैन ?’
कफीको पैसा तिरेर निस्किएँ । अँगालोको इसारा आयो । पहिलोपटक भएकाले हात मात्र हल्लाएँ । एकटकले उनी हेरिरहेकी थिइन् ।
अलि पर बाटोमा पुगेपछि म्यासेज आयो । ‘खुशी लाग्यो, हजुरलाई मिस गरिरहेछु, मिल्छ भने शुक्रबार नगरकोटा जाउँ न ।’ लेखकले दुनियाँलाई पानी–पानी हुने गरी लेख्दा कोही यसरी तिर्खाउँदा रहेछन् । पानीको तिर्खा मेट्नु लेखकका लागि कति गाह्रो हुन्छ, परीक्षामा उत्रने बेला आयो ।
म्यासेज फेरि आयो, ‘मूड बनाउनुस् है, म पनि नगरकोट जान एक्साइटेड छु, जहाँ तपाईंले धेरै पात्रलाई पानी–पानी पार्नु भएको थियो, त्यहाँ म पनि तपाईंलाई पानी–पानी पार्न सकूँ ।’ पानी नै तिर्खायो भने लेखकले नै पँधेरो खन्नु पर्ने समाजको माग आयो । माया गर्नेहरुको जय होस् ।