लाछी ‘हिल एलिट’ र भँडूवा पावर एलिट बारे

लाछी ‘हिल एलिट’ र भँडूवा पावर एलिट बारे

कपन अनलाइन, असार, २, २०७३/दृष्टिकोण

सामाजिक न्यायको आन्दोलनलाई खिसिटिउरी गर्ने को हुन् ?

-मात्रिका पौडेल

मनका कुरा कति गुम्स्याएर राख्ने ? मैले आँट नगरेको तैले गरिस,आँतै भरिएर आयो । ‘एउटा बबुरो एलिट बाहुनको बकपत्र’ पढेपछि पत्रकारिता तथा लेखन क्षेत्रका स्थापित एक अगुवाले फोनबाट दिएको प्रतिक्रिया हो । मिडिया र डोनरको साम्राज्यमा सिण्डिकेट चलाएर बसेको एउटा भडूँवा पावर एलिट गु्रपको तारो बन्ने डरले अचेल लेखक र अग्रज पत्रकारहरु पनि बोल बोल मछली मुखभरि पानीको अवस्थामा देख्छु ।

नेपाल राज्यलाई अस्थिरता र अराजकतामा लैजाने सुबिचारित बाह्य एजेण्डा स्थापित गर्न नेपालका केही नाम चलेका लेखक र इन्भर्टेट कमावाला बुद्धिजिवी परिचालित छन् । अनि नेपालको मूलधारे मिडियाको बहस उनीहरुकै सिण्डिकेटबाट चल्छ । उनीहरुको सिण्डिकेट नरुचाउने तर खुलेर बैचारिक तहमा प्रतिवाद गर्न डराउने लाछी प्रवृतिबाट बौद्धिक जगत पीडित छ ।

matrika

जसका लागि डोनरको डलर चाहिएको छैन,जसका लागि सिमित स्वार्थ समूहको सम्भ्रान्त क्लबमा पानी नचले पनि पुग्छ त्यसैले हो अब यिनको भण्डाफोर गर्ने । भृकुटीमण्डपको पुस्तकमेला देखि एनसेलको साहित्यिक भेलासम्म कब्जा जमाएको पावर एलिटहरुको सिण्डिकेट तोड्न सजिलो छैन तर असम्भव पनि होइन ।

नेपालको संविधानसभाले संविधान जारी गरे लगत्तैबाट बाह्य शक्तिको प्रत्यक्ष संलग्नतामा सुबिचारित ढंगले नेपालमा पावर एलिटहरुको एउटा ग्रुप तयार पारियो, जसको जिम्मेवारी संविधान र नेपाल राज्यलाई असफल बनाउने । स्वभाविक रुपमा यो सिण्डिकेटमा डोनरले पत्याएका,अंग्रेजी र नेपालमा राम्रो लेख्न सक्ने र समाजले चिनेका लेखक,पत्रकार र अधिकारकर्मीको आवरण भिर्ने अगुवाहरुनै रहने भए ।

संविधानले सबैका सबै माग र आवाज सम्बोधन गर्न सक्ने अवस्था थिएन र रहेन । छिमेकीको जोडबलमा नाकाबन्दी सम्मको अवस्था खेप्नुपरेको कसैले बिर्सेको छ । संविधानले मधेशी जनतालाई यो यो अधिकार दिएको छ भन्ने कुरा समयमै बुझाउन नसक्नु संविधान जारी गर्ने दल र सांसदहरुको कमजोरी थियो । त्यो कमजोरीमा आन्तरिक र बाह्य स्वार्थ समूहले यति मज्जाले हाने कि,तराई मधेश अझै उठ्न सकेको छैन ।

मधेशको आगोमा घिउ थप्न नेपाल छाडेर विदेश पलायन भइसकेका घरानीया सम्भ्रान्तहरुले क्बलनै बनाएका छन् । यो क्लबमा एउटा पावर एलिटको झुण्ड सधैं सँगै रहनेनै भयो । चौकोठ र त्रिकोठका नाममा पावर एलिटहरुले पसल चलाउन्जेल यो क्रम जारीनै रहनेछ । उनीहरु एउटा मामिलामा आंशिक सफल भए त्यो के भने–नेपालको पहाडी क्षेत्रमा बस्ने खस बाहुन क्षेत्रीहरु शासक र शोसक हुन् । विदेशीलाई राम्रोसँग उनीहरुले भ्रम दिन सफल भएकै कारण हिल एलिट भन्ने शब्द अहिले उनीहरुबीच चल्तिमा छ ।

नेपालको संविधानले कसैलाई केही अधिकार दिएन,सबै अधिकार खोसेर पहाडेलाई पहिलो दर्जाको नागरिक बनाइयो भन्ने उनीहरुको सुबिचारित लाइन अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुमा एकोहोरो रुपमा प्रवाह गरे ।

‘यो मेरो संविधान होइन’ भन्ने ट्रेन्ट चलाउने गिरोहमा यस्तै यस्तै कुण्ठाग्रस्त र बिभिन्न स्वार्थ समूहबाट प्रायोजित मान्छेहरु लागे । जो यो देशको नागरिकनै होइन,जसले देश छाडेर विदेशमा घरबास जमाइसकेको छ उसले समेत यो संविधान मेरो होइन भनेर ट्रेण्ड चलायो । नेपालमा जागिर वा घरजम बसाउने तर भित्रि नियत अरुनै भएकाहरुको यसमा लगानी नहुने कुरा भएन ।

अचेल सामाजिक सन्जाल र आमसन्चार माध्यममा समेत निकै चल्तिमा रहेको शब्द छ ‘एलिट’ । विशेष गरि यो शव्द तिनीहरुलेनै प्रयोग गरिरहेका छन्,जो राजशी सुखसयलमा हुर्किए,सेन्ट जेभियर्स र बुढानिलकण्ठ जस्ता स्कूलमा पढे अनि हावर्ड,अक्सफोर्ड र ओस्लो जस्ता विश्वविद्यालयमा पढेर ठूला परियोजनाको नेपाली कन्सल्ट्यान्ट भएर फर्किए ।

गरिवी,अभाव,उत्पीडन,थिचोमिचो र पछौटेपनको बारेमा युएनडिपीले संग्रह गरेका तस्विर वा पश्चिमा परियोजनाहरुले तयार पारेका प्रपोजल पढेर मात्र थाहा पाएका तिनीहरुको मिसनको प्रतिवाद गर्नेहरुलाई ‘एलिट’को दर्जा दिएर अंग्रेजीमा ट्वीट गर्छन् अनि पश्चिमा र भारतीय मिडियामा नेपाल विरुद्ध एकतर्फी प्रोपोगाण्डा मच्चाउछन् ।

कुनै अमूक जात,भाषा,लिंग वा समुदायको पहिचान नामको पछाडि झुण्ड्याएपछि उनीहरु उत्पीडित हुने र कुनै अमूक जातको पहिचान नामको पछाडि झुण्डिएकै कारण ढाक्रे,भरिया र हरुवाचरुवानै भए पनि थरकै कारण एलिट हुने उनीहरुको परिभाषा मान्न कत्ति पनि सैह्य भएन । त्यसैले के हो एलिट र को हुन् एलिट भनेर बहसमा उत्रिनु परेको हो । म बहसमा उत्रिएपछि उनीहरुमध्ये केहीले मलाई ट्वीटरतिर ब्लक हानेर भागेका छन् ।

बाहुन क्षेत्री कुलमा जन्मिएकै आधारमा उच्च जातीय पहाडे खस अंहकारवादी,नश्लबादी,मनुवादी जस्ता दर्जनौं आरोप खेपेर बसेका हजारौं मान्छेले मेरो बकपत्रलाई आफ्नो मनको भावना मानेका छन् । उनीहरुको समर्थनले पावर एलिटहरुसँग बैचारिक लडाइमा मलाई उर्जा प्राप्त भएको छ ।

उनीहरुले पहाडे उच्च जातीय खस अहंकारवादी,नश्लबादी भनेर आरोप लगाइएका प्रायः सबै मान्छेहरु गरीव किसान परिवारबाट माथि उठेका हुन् । अनि आफूलाई प्रगतिशील र उत्पीडन विरुद्धका अभियन्ता भन्नेहरुको पारिवारिक,राजनीतिक,सामाजिक र आर्थिक सूचांक हेर्ने हो भने गगनचुम्बी छ । उनीहरु सिराहाको डोम वा टोटीका मिजारले भोगेको विभेदबारे बोल्न र लेख्न चाहदैनन् । बौद्धिक बजार सिमित पावर एलिटको कब्जामा छ । मधेशी मोर्चाको आन्दोलनमा साम दाम दण्ड प्रयोग गर्ने समूह मधेशकै सामाजिक विभेदको आन्दोलनलाई भने खिसिटिउरी गर्छ । यसबाट प्रष्ट हुन्छ यिनीहरु भँडूवा एलिट हुन्,समाजिक न्यायको आन्दोलन यिनीहरुका लागि मजाक हो ।

आजभोलि एउटा फेसननै चलेको छ,राज्य र संविधान विरुद्ध बोलेपछि,लेखेपछि वा कुनै हर्कत गरेपछि अधिकारवादी वा पहिचानवादी भइहाल्ने । सिंहदरवारको भित्तामा रातो पोतेर होस वा संविधानमा आगो झोसेर होस मान्छेहरु अधिकारको वकालत गर्छन् । त्यति गरेपछि उत्पीडित भइहाल्ने अनि जे जस्ता गैरकानुनी अपराध गरेपनि अधिकारको लडाईमा दर्ज हुने । कानुन विपरित काम गर्नु अधिकार होइन भन्यो भने त्यो एलिट भइहाल्ने । उनीहरुको कुतर्क र भँडूवा चरित्रको आलोचना गरेर कसैले लेख्यो भने ऊ विरुद्ध झुण्ड बनाएर आक्रमणमा उत्रिने । मिडियाले उनीहरुको बाहेक अरुको बिचार प्रवाह ग¥यो भने त्यो मिडिया विरुद्धनै सोसल मिडियाबाट गालिगलौज गर्ने शैली नितान्त निषेधकारी होइन र ?

सामान्यतः संक्रमणकालिन राज्यमा हुने आम प्रवृति हो यो । तर नेपालमा पछिल्लो समयमा यो प्रवृतिको प्रवर्तक र संरक्षक भने समाजमा स्थापित भएका,बाउबाजेहरु राज्यको उच्च तहमा पुगिसकेका कारणा सामाजिक प्रतिष्ठा बनाएका र जीवनलाई पुग्ने कुस्त कमाएर अधिकारको आन्दोलनका अगुवा भएकाहरुनै देखिन्छन् । जसका छोराछोरी विदेशका महँगा स्कल्ूल र कलेजमा पढ्छन् उनीहरुनै उत्पीडित समुदायका अगुवा बनेर उग्र भाषण गर्छन् ।

जो युगौंदेखि अधिकारबाट बन्चित छ,जसका छोराछोरीले स्कूल र कलेज देख्न पाएका छैनन्,जो विरामी हुँदा सिटामोल खान नपाएर मर्छ ऊ सम्पूर्ण रुपमा बेखबर छ । तर उसको नाममा सिमित व्यक्तिहरुको स्वार्थ समूहले संगठित रुपमा धन्दा चलाएर पहिचान र अधिकारको फर्जी लडाई देखाएर कमाउ धन्दा चलाइरहेको छ ।

अमेरिकी समाजशास्त्री सी राइट मिल्सको परिभाषा नेपालका पावर एलिटहरुको सन्दर्भमा पनि मेल खान्छ । यी यस्ता एलिटहरु हुन् जसले राज्यभित्र उठेका बिभिन्न एजेण्डा र आवाजहरुलाई अपहरण गर्छन् र तीनलाई भजाएर आफ्नो स्वार्थ समूहको भाँडो भर्छन् ।

त्यस्ता पावर एलिटहरु नेपालमा कुनै बेला माओवादी विद्रोहलाई भजाउथे,कुनै बेला आदिवासी जनजाति आन्दोलनलाई भजाउथे र पछिल्लो समय मधेश आन्दोलनलाई भजाउन उद्यत भए ।

खासमा यिनीहरुको कुनै बिचार,सिद्धान्त वा निष्ठा हुदैन । जुन बेला जुन एजेण्डा बिक्छ त्यसको बौद्धिक भरिया बन्ने र पैसाको भारी कुम्ल्याउने बाहेक यस्ता बौद्धिक एलिटहरुको अरु कुनै स्वार्थ हुदैन । खासमा समाजमा थिचोमिचो र उत्पीडन अनि अशन्तुष्टि रहि रहोस र त्यहि अशन्तुष्टिको आगोमा इन्धन थप्न पाइयोस भनेर ढुकेर बस्नेहरुको जमात आज संविधानमा प्रकट भएका जनताका बिभिन्न कोणका अशन्तुष्टिलाई आफ्नो कुण्ठाको भट्टीमा सेकाउन चाहिरहेका छन् ।

यिनीहरु समाजमा भएको शोषण र उत्पीडनको अन्त गर्न चाहदैनन्,बरु राज्यलाई गाली गरेर जनतामा सधैं राज्यप्रति बागी बनाउने खेती गर्छन् । समाजमा रहेको थिचोमिचो र भेदभाव अन्त भयो भने यिनीहरुको पसल बन्द हुन्छ । त्यसैले वीरगन्जका पत्रकार भुषण यादवको यो ट्वीटबाट धेरै कुरा बुझिन्छ–सामाजिक रुपमा मधेसीहरु सचेत र विभेदमुक्त भए भने मधेशीको नाममा राजनीति गर्ने केही मधेशी बुद्धिजिवीहरुको एनजिओ बन्दनै हुने डर पनि त छ । यति बुझेपछि अरु केही भनि रहनुपर्छ र ?

(मातृका पौडेल, कपन अनलाइनका सल्लाहकार सदस्य साथै सूचना तथा संचार मन्त्रि शेरधन राईका प्रेस सल्लाहकार हुन् )

तपाइँको प्रतिक्रिया ।