कथा – दीपक लोहनी

 

विमल सिटौला
– दीपक लोहनी

(मान्छेको देह नाश भैसकेपछि उसका बारेमा लेख्न बोल्न मलाई पटक्कै मन लाग्दैन । तर मन नलागी नलागी पनि कहिले काहिँ कुनै सम्पादक वा प्रकाशकको आग्रहमा केही लेख्नै पर्ने बाध्यता मैले भोगेको छु । तर आज म जे लेख्दैछु यो कसैको आग्रह वा अनुरोधमा पटक्कै होइन ।)

विमल सिटौला, जो मेरो अन्तरङ्ग साथी हो, उसले एकदिन एउटा परिचित सहरमा– अब बाँच्न सकिदैन भनेर अचानक आत्महत्या ग¥यो । उसको आत्महत्या भैसकेको केही हप्ता पछाडि विमल यस संसारमा छैन भन्ने समाचारले म स्तब्ध भएँ । साँचोमा भनौँ– मैले विश्वास नै गर्न सकिन किनकि उ आत्महत्या गर्न लायक व्यक्ति पटक्कै होइन । जीवनका हरेक मोड र हरेक उकाली ओरालीहरुसँग आत्मसात गर्ने शक्ति उसमा प्रचूर थियो । जीवनलाई ओल्ट्याई पल्ट्याई हेर्ने प्रयास गरिरहेको थियो । दायाँ बायाँ, तलमाथि प्रत्येक कोणकोणबाट जीवनलाई बुझिरहेको थियो तर जति बुझ्थ्यो जीवन दुुःखदायी छ भन्ने आत्मज्ञान उसलाई हुन्थ्यो र हरेक कालो बादलमा चाँदीको घेरा रहेको हुन्छ भन्ने कुराले उ जीवनसँग अति घनिष्ट थियो ।

……………तर विमल सिटौलाले आत्महत्या किन ग¥यो ? त्यो पनि एउटा परिचित सहरमा ! सँधै विमल मेरो संझनामा आउँदा मलाई यस्तो लागिरहन्छ –

– विमल प्रष्टवक्ता थियो ।
– विमल सहरको चलेको गणित, विज्ञान, कम्प्युटर शिक्षक थियो ।
– विमल यतिखेरको सम्मानित दुई वोर्डिङ् स्कूलको फाउण्डर थियो ।
– विमल परिचित सहरको घरानिया थियो ।
– विमल परिचित सहरको घरानिया ज्वाँइ थियो ।
– विमल राजनीतिको एउटा कुशल खेलाडी थियो ।
– विमल आफ्नो आदिम गाउँको गाविस अध्यक्ष पनि थियो ।
– विमल पछिल्लोपटक म्यानपावर कम्पनिसँग पनि सम्बन्धित थियो ।

– सबैभन्दा महत्वपूर्ण कुरो– विमल कल्कलाउँदो उमेरकी एउटा छोरीको बाउ थियो । जो आफ्नी छोरीलाई सुन्दर भविष्यको लागि रातोदिन भागदौड गरिरहन्थ्यो ।
…………………. तर विमल सिटौलाले एक परिचित शहरमा एक्कासी आत्महत्या ग¥यो ।

भन्नेहरु भन्छन्–

– विमलले स्कूलको फाउण्डर छोड्नु नै आत्महत्यको कारण हो ।
– विमलले गाविस अध्यक्ष खानु नै आत्महत्याको कारण हो ।
– विमलले म्यानपावर कम्पनिको दलाल काम गर्नु नै आत्महत्याको कारण हो ।

भन्नेहरु भन्छन््– विमल सिटौलाले त्यो युवतीसंग बिहे गर्नु नैै आत्महत्याको कारण हो ।
…………… तर जब मेरो दिमागमा विमल सिटौला उदाउँछ– तब उसले आफ्ना विविध समस्याहरुबाट उम्किएर जीवनलाई सकारात्मक सोचतिर सकिनसकि तानिरहेको दृष्यपट देख्छु तब भन्नेहरुको सम्पूर्ण भनाइहरु मलाई मिथ्या लाग्छन् ।
……………………….. र पनि विमल सिटौलाले परिचित सहरमा आत्महत्या ग¥यो– यसलाई मैले स्वीकार्नै पर्छ । तर उसले आत्महत्याचाहिँ किन ग¥यो ? यो प्रश्नले मलाई उसको आत्महत्याको खबर सुनेको दिनदेखि नै उसलाई सम्झियो कि सताइरहन्छ ।

वास्तवमा म पनि आत्महत्याबाट बालबाल बाँचेर हिँडिरहेछु । निरिह ज्यान,(साथीभाइहरुको विचारमा) योजना नभएको दिमाग, लथालिङ्ग कामहरु, रित्याइनसकेको अभावग्रस्त वर्तमान, सम्झदैँ कहालीलाग्दो भविष्य र साथमा एउट चुत्थो जिन्दगी । मजस्तो एउटा साधारण मानिसको लागि आत्महत्या गर्न यति नै पर्याप्त छन् । अब मजस्तालाई अन्टसन्ट केही चाहिँदैन । मेटासिड वा पाँचहाते डोरीले नै मजस्ताहरुकोे इहलिला चेट गर्न सक्छ ।

यध्यपी आफू परियो थोरबहुत बुझक्कड । हल्का साहित्य अनुरागी । मजस्ताहरुलाई यस्ता ऐजन कुराहरुले आत्महत्या गराउन प्रेरित गरिरहेको छैन, हालका मितिसम्म ।

म अहिले सम्झन्छु–

विमल आफै भन्थ्यो– ‘बुझिस् दीपक्, आत्महत्या कायरहरुको काम हो । जिन्दगीको महत्व बुझ्न नसक्नेहरुको खेल हो । जीवनलाई त जतिसक्दो सजाउन पर्छ हामीले ।’

तर उसको कुरामा म पूर्ण सहमत हुन सक्दिनथेँ । जीवनलाई जसरी कोर्न वा व्यक्त गर्न सकिन्छ त्योभन्दा हजार गुणा बढि जीवनलाई व्यवहारमा ढाल्न कठिन हुन्छ । उदाहरणका लागि म आफै काफि छु । आफ्नो सामान्य काम र सस्तोमा पनि जीवन जिउन नपुग्ने आम्दानीदेखि हैरान छु । व्यस्त छु विहानदेखि बेलुकासम्म । एउटा चुत्थो जिन्दगी र निरिह ज्यान भागवण्डा गरिरहेको छु– श्रीमतीलाई, छोरीहरुलाई, आमा बालाई, साथीभाइलाई र एउटा चुत्थो कामलाई । असलमा भनौं– सबैतिर भागवण्डा गरिसकेपछि न मेरो आम्दानी मसँग सुरक्षित रहन्छ न आफ्नै जिन्दगीको एक अंश ।

म भन्छु– ‘विमल, आफ्नै आम्दानी र आफ्नै जिन्दगीको एक अंश पनि आफ्नो हातमा नपरेपछि साला के बाच्नु ! म त दुई सेकेण्ड चढेको दिन आफ्नै हत्या गरिदिन्छु ।’

तर विमल सम्झाउँथ्यो मलाई– ‘त्यहि त मजा छ जिन्दगीमा आफू रित्तिएर ÷ आफू सिद्धिएर अरु खुशी पार्नुको मजा नै हो जिन्दगी । जानाजान आफ्नै हत्या गरेर अरुलाई रुवाउनु के को जिन्दगी ? यो त कायरहरुको काम हो, असफलहरुको होइन । हामी जिन्दगीमा कायर होइनौं असफल हौं । असफलले आत्महत्या होइन सफल हुने प्रयास गर्नुपर्छ ।’

विमलले परिचित सहरको एउटा सामन्य कोठमा भनेथ्यो मलाई, म उसकै स्कूले विद्यार्थीझैँ मन्त्रमुग्ध भएर सुनिरहेको थिएँ ।

®

…………… र पनि विमल सिटौलाले आत्महत्या ग¥यो ? तर किन ग¥यो आफै अश्चर्यचकित छु ।
एकसाँझ परिचित सहरकै एक परिचित भट्टीमा उसले रक्सि पिउँदै भनेथ्यो– ‘बुझिस् दीपक्, असफलको छाप लागिसकेपछि मान्छे जतिसुकै सफल बन्दै गए पनि कसैले पत्याई नहाल्दो रहेछ । जसलाई भनेर आफ्नो जिन्दगी र आफ्नो आम्दानी भागवण्डा गरियो तिनै श्रीमती, छोरी, आमा बा, साथीभाइ सबैै क्रमशः पराई हुँदा रहेछन् । जब एउटा परिचित सहरमा कोही पनि आफ्नो नभएपछि यो सँधैको हतारो, सँधैको अभाव र सँधैको सास्ती किन ? आत्महत्या त दुईमिनेटको पीडा मात्र हो । साला, यो नाथे जिन्दगी ! वर्षौँवर्ष जाने पीडा हो । आफैले बेसाएको पीडा पो म सहन सक्छु तर सबैेले लादिदिएको पीडा बोकेर म कति दिन बाँचु दीपक् ? मलाई यो जिन्दगी घाँडो भयो ।’

उसले लोकल रक्सि, रित्तिन लागेको गिलास टेबुलमा ठोक्यो । गिलास फुटेर उसको हातसमेत काट्यो । छरिएका केही छिटाहरु मेरो गालामा अड्किए ।

मैले सम्हालेँ परिवेश र सम्हाले उसलाई– गर्वका साथ । किनकि उसले मलाई सम्हालेको घटना–दुर्घटनाहरु अनन्त छन् मेरा जिन्दगीमा । कुनै प्रिय दिन उसलाई पनि मैले सम्हालुँ भन्ने मेरो भित्री चाह थियो ।

होस्मा आ, विमल’ मैले अँगालोमा बेर्दैभने– ‘आज तँलाई के भयो ? तर तँ त यस्तो थिइनस् । तँ त मेरो आदर्श होस् विमल् । तँ जस्ताले यो सहरमा यसो गरिस् भने कसैले भट्टी राख्दैन सहरमा । र हामी कहाँ पिउन जाने ? कहाँ बुझाउने मन् ? आखिर असफलहरुले मन् बुझाउने एउटा ठाउँ चाहिन्छ नि, हैन ?’
मैले केही नाटकमा र बढि आत्माबाट बोलेँ । विमल सामान्य बर्बराइरहेको थियो । खासै उल्लेखनीय लफडारगडा केही गरेन उसले ।

त्यसपछि हामी लड्खडाउँदै लरबराउँदै झरीमा रुझ्दै गल्लीयात्रामा निस्कियाँैँ । रक्सिको नशा र चोटको पीडमा परिचित सहरको परिचित गल्लीको यात्रा पनि ठूलै भयावह हुँदो रहेछ । तर एउटा चुत्थो जिन्दगीजस्तै यो यात्रा हामीले सकिनसकी हिँड्नु नै थियो तुर्नु नै थियो । किनकि परिचित सहरको उत्तर काँठमा विमलको कोठाले हामीलाई पर्खिरहेको थियो ।

कोठमा पुगेपछि मैले विमललाई खाटमा लडाएँ र आफू पनि लडेँ । लड्नुभन्दा कुनै नौलो उपलब्धी थिएन हाम्रो जीवनमा ।

भोलिपल्ट बिहान फुलिसकेपछि मैले रक्सिको ह्यांगमै विमल र विमलको कोठालाई एकैसाथ छोडेँ र लागेँ आफ्नो गुँडतिर । म मेरो गुँड पनि विमल र विमलको कोठाको अवस्थासँग समानान्तर थियो ।

³

एकसातासम्म उसको र मेरो कुनै भेटघाट भएन । म मेरै जिन्दगीको अभावमा रुमल्लिरहेको थिएँ । बगरेले मासु भागवण्डा लगाएझैँ आफ्नै जिन्दगी भागवण्डा लगाएर म आफैलाई तौलिरहेको थिएँ । एक्कसी विमलको याद आयो ‘आजको साँझ अलिकति बचेको जिन्दगी विमललाई दिन्छु ।’ मैले सोचेँ । विमललाई खर्चिएको समय र पैसादेखि म पाइपाइ सन्तुष्ट थिएँ ।

विमललाई फोन गरेँ । उ सम्पर्कभन्दा बाहिर थियो । तसर्थ आफै सम्पर्क बढाउन हिँडे परिचित सहरको उत्तर काँठतिर । तर बाटोमा उसको घनिष्ट साथीलाई भेटेँ । उ निदाउरो अनुहारमा थियो । मैले एक्कासी सोधँे– ‘कता छ विमल् ? के छ उसको हालचाल ? एक हप्ता नै भयो हाम्रो भेट नभएको ।’

‘……………..’ साथी केही बोलेन ।

‘हैन कहाँ छ विमल ? तपाई किन नबोलेको ?’ मैले पुनः सोधेँ ।
‘. उ त गयो ?’

‘हैन कहाँ ? दुबई ?’ मसँग एकदिन उसले परिचित सहरबाट वाक्क भएर दुबइको अपरिचित सहरमा जाने योजना सुनाएको थियो ।

‘हैन ……………. विमलले आत्महत्या ग¥यो ।’

म बाटामै खसेँ । सायद छाँगो पनि यसरी खस्दैन होला । र बाटैमा होस गुमाएँ ।

…………………………तर जब होश आयो म वीर अस्पतालको सामान्य कोठामा लडिरहेको थिएँ । त्यहाँ मेरा केही आत्मीय असफल साथीहरु थिए तर विमल सिटौला थिएन ।

³

यतिखेर विमलले आत्महत्या गरेको केही वार्षिकीहरु बिते । तर जबजब म विमललाई सम्झन्छु– उ मेरो नजिक यतैकतै छ जस्तो भान भैरहन्छ । त्यो अग्लो र खबटे शरिर, ती मैला लुगा, केही पातला दाह्रीहरु र हैरानी झल्किएको अनुहार झझल्कोमा आइरहन्छ ।

……………. आखिर विमल सिटौलाले किन आत्महत्या ग¥यो एउटा परिचित सहरमा ? आखिर उ त जिन्दगीलाई चारैतर्फबाट बुझ्न सक्ने हैसियत राख्थ्यो ।

तपाइँको प्रतिक्रिया ।