हिउँदको गीत : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २५।
बाटो शिशिरको हिँड्न चुनौती छन् अनेक झन्
जहाँ दाँत बजाएर शीतले गीत गाउँछन्
घामका पाइला बढ्छन् सुस्त सुस्त निरन्तर
अत्तालिएर हेर्दैछन् लेकका खरका घर
फाल्दै बादलको घुम्टो नाच्छ माघेझरी कठै
तर्सेका चुचुरामाथि चिनीका राश थुप्रिँदै
छोइसक्नु छँदै छैन खहरे फेदिमा जल
साम्राज्य स्याँठको चल्छ देखी शिशिर–को–मल
घाम रुन्चे भएको छ प्रभावकारिता घटी
उखरमाउलो गर्ने स्वयं बन्दैछ बन्दकी
को भर्ने ताप को दिन्छ चिसोमा गम्म च्यादर
झुकाउँदै छ जाडोले सारा गरिबका शिर
रोकी शिशिरले बाटो हेर बढ्दैछ अड्चन
पुग्छु वसन्तको काख भनौँ पाइन्न फड्कन
बाक्लै कपास खर्चेर बनेका अति सुन्दर
बुढापाकाहरु भन्छन् लाग्छ यो माघकै डर
हेम शिशिरको जोडी मिल्दै जाडो उमार्दछन्
हिमाली भेकका हावापानी स्याहार गर्दछन्
तुषारो गम्म गम्कन्छ बढेर बैँश हर्हर
नाङ्गो भैकन काँप्दै छ सल्लाको रुख थुर्थर
लामो युध्द चलेकै छ प्राणी प्रकृतिकाबिच
भोगेर जसले दुःख लेखायो गीत हार्दिक
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
