मौसम खराबी र बमको हल्लाले उडान प्रभावित
काठमाडौँ, १४ चैत । मौसममा आएको खराबी र विमानमा बम भएको हल्लाका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दिनभरजसो प्रभावित बन्यो ।
मौसमको खराबीले उपत्यकाको आकासमा तुवाँलोले ढाकेपछि विमानस्थलका केही अन्तर्राष्ट्रिय उडान अवरुद्ध बनेको थियो । मौसमसँगै अपराह्न ४ बजे भारतबाट काठमाडौँ आउँदै गरेको जेट एयरको बोइङ ७३७–८ एएल विमानमा बम रहेको भन्ने हल्लापछि थप केही घन्टा विमानस्थल अवरुद्ध भएको थियो ।
बम रहेको भनिएको उक्त विमानलाई छुट्टै स्थानमा पार्किङ गरी सुरक्षा परीक्षण गर्दा कुनै पनि वस्तु फेला नपरेपछि अहिले विमानस्थल सामान्य अवस्थामा रहेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएका छन् ।
यसअघि विमानमा बम भएको हल्लापछि साँझ ६ः३० बजेसम्मका विमानस्थल बन्द गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले विमानमा आएका सबै ‘लगेज’ परीक्षण गरिएको र बम भएको भन्ने कुरा हल्लामात्र भएको बताउनुभयो ।
अपराह्न ४ बजे भारतबाट काठमाडौँ आउँदै गरेको जेट एयरको बोइङ ७३७–८ एएल विमानमा बम रहेको भन्ने हल्लापछि पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सविच राईसहितको उच्च पदाधिकारीको टोली विमानस्थल पुगी यथार्थ जानकारी लिएको थियो ।
बम रहेको भनिएको उक्त विमानलाई छुट्टै स्थानमा अवतरण गरी सुरक्षा परीक्षण गरिएको थियो । झन्डै दुई घन्टा विमानस्थल बन्द हुदाँ केही आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । एयर इन्डिया, कतार एयरवेजलगायत उडानमा रहेका विमान अन्यत्र फर्काइएका थिए । अहिले विमानस्थलमा उडान अवतरण सामान्य रहेको विमानस्थलले जनाएको छ ।
वायुमण्डलमा आएको खराबीले उडान प्रभावित
वरिष्ठ मौसदविद् राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभावसँगै सुक्खायामको कारणले गर्दा अरबी र राजस्थानबाट आएको धुलोका कण वायुमण्डलमा मिसिएकाले नेपालको मौसममा खराबी आएको बताउनुभयो ।
उहाँका अनुसार उक्त वायुको प्रभावले देशैभरको आकासका तुवाँलो लागेकाले आकासको दृश्य कम देखिने भएकाले मुलुकभरको उडान प्रभावित भएको छ ।
“शनिबारदेखि नेपाली आकाशमा बादल लागी सूर्यको किरण नदेखिने गरी तुवाँलो बढेको छ, यो क्रम केही दिन जारी रहन्छ”– वरिष्ठ मौसमविद् श्रेष्ठले भन्नुभयो । आज राति उपत्यकासहित विभिन्न जिल्लामा हल्का वर्ष हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समयदेखि पानी नपरेका कारणले स्थानीय वायुमा पनि धुलोका कण मिसिएकाले मानव शरीरमा समेत असर गर्ने भएकाले सचेत रहन मौसमविद्ले सुझाव दिएका छन् । रासस