रसुवाका बाढी प्रभावित क्षेत्रमा बुढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य टोली परिचालन

रसुवाका बाढी प्रभावित क्षेत्रमा बुढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य टोली परिचालन
कपन अनलाइन
काठमाडौं भदौ १४।
रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी, एक जना जनप्रतिनिधि र नगर प्रहरी सम्मिलित टोली रसुवा पठाएको छ।
नगर कार्यपालिकाको आकस्मिक बैठकबाट भएको निर्णयअनुसार परिचालन गरिएको टोलीलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले बिदाइ गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा मानवीय सहयोग उपलब्ध गराउन सक्रियतापूर्वक खटिन आग्रह गर्नुभएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने भएकाले तत्कालीन स्वास्थ्य उपचार, प्राथमिक स्वास्थ्य सहायता तथा आवश्यक परामर्श उपलब्ध गराउनु टोलीको प्रमुख उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। एम्बुलेन्सको उपस्थितिले बिरामी तथा घाइतेलाई आवश्यक परे सुरक्षित स्थान वा स्वास्थ्य संस्थासम्म पुर्याउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
टोलीले स्थानीय अवस्था र आवश्यकताअनुसार स्वास्थ्य उपचार, प्राथमिक सहायता तथा राहत–उद्धार कार्यमा सहजीकरण गर्नेछ। विपद्को कठिन समयमा स्थानीय सरकारबाट गरिएको प्रत्यक्ष स्वास्थ्य तथा मानवीय सहयोगले प्रभावित नागरिकलाई तत्काल राहत प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले विपद्को समयमा ‘स्थानीय सरकार जनताको साथमा’ भन्ने भावना सहित स्वास्थ्य तथा मानवीय सेवामा टोली परिचालन गरेको जनाएको छ।
तपाइँको प्रतिक्रिया ।