प्रारधानमन्त्रीको भारत र चीन भ्रमण ऐतिहासिक–सञ्चारमन्त्री रार्इ

नेपालगन्ज, १४ चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन रार्इले राजनीतिको नैतिक बलमा गठन भएको वर्तमान सरकार क्रमशः जनमुखी हुँदै गएको बताउनुभएको छ ।

1451905561_sherdhan

प्रेस चौतारी नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “जनताको राष्ट्रिय भावना र सरकारको प्रष्ट अडानका कारण राजनीतिक अस्तव्यस्तताको अन्त्य गर्न पनि सरकारले सफलता पाएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमण नेपालका लागि उपलब्धिमूलक र ऐतिहासिक भएको बताउँदै सरकारका प्रवक्ता राईले ती दुवै मुलुकसँग नेपालको सम्बन्ध अब नयाँ शिराबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“जनताका प्रतिनिधिले लेखेको संविधानले गणतन्त्रलाई संस्थागत गरेको छ, मुलुकमा कानुनी शासन स्थापित भएको छ, अब संविधान कार्यान्वयनका लागि हामीबीच राष्ट्रिय सहमति आवश्यक छ, जसले संविधानप्रतिको केही असन्तुष्टि चिर्न सफल हुनेछ”–उहाँले भन्नुभयो ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरेर भूकम्प प्रभावितलाई पुनःस्थापनाको काम अघि बढाएको बताउँदै मन्त्री राईले जनताको दैनिक जीवनसँग सम्बन्धित विषयमा पनि सरकार त्यत्तिकै गम्भीर रहेको उल्लेख गर्नुभयो ।

मधेसी मोर्चाको आधारभूत माग संविधान संशोधनबाट सम्बोधन भइसकेको र प्रादेशिक सीमाङ्कनसम्बन्धी मुद्दा राजनीतिक संवाद समितिले तीन महिनाभित्र तयार गर्ने अध्ययन प्रतिवेदनका आधारमा टुङ्गो लगाइने उहाँको भनाइ थियो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा सञ्चारमन्त्री राईले स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गरिने बताउँदै निर्वाचनका लागि सबै दललाई सहमतिमा ल्याउने प्रयास गरिने बताउनुभयो ।

उहाँले सरकारले आमसञ्चार माध्यमलाई थप व्यवस्थित गर्न आमसञ्चार नीति मन्त्रिपरिषद्मा प्रस्तुत गरेको र सो नीति पारित भएपछि श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा आउने, सञ्चारको अनुगमन र नियमन सहज हुने, लोककल्याणकारी विज्ञापन व्यस्थित हुने र पत्रकार दुर्घटना बिमाबाट पत्रकार लाभान्वित हुने बताउनुभयो ।

सञ्चार संस्थालाई थप उत्तरदायी बनाइने

सञ्चारमन्त्री राईले नेपालका सबैखाले सञ्चार संस्थालाई मर्यादित र जनताप्रति थप उत्तरदायी बनाउने नीति सरकारको रहेको बताउनुभएको छ ।

नेपालगन्जस्थित रेडियो कृष्णसार एफएमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सञ्चार संस्था जनमुखी भएनन् भने यसले समाजमा अराजकता निम्त्याउँछ, त्यसैले सबै सञ्चार संस्थाको अनुगमन र नियमन आवश्यक छ ।”

कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादव, सांसद् बादशाह कुर्मी, रेडियो सञ्चालक समितिका सदस्य अच्युत प्रसाईंले कृष्णसार रेडियोले भावी दिनमा पनि जनताको लोकप्रियता हासिल गर्न सक्नुपर्ने सुझाव दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।