गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दोमा चन्द्रगिरी टिम च्याम्पियन
कपन अनलाइन
काठमाडौं भदौ १४।
चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो ।
न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको आयोजनामा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ४ कांस्यसाथ लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको ढल्कु तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा लैनचौर तेक्वान्दो डोजाङका रोहन भुजेल तथा महिलामा गोकर्णेश्वरकी हृदयानी बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदै जनही ५ हजार नगदबाट पुरस्कृत भए । रोहनले ५५ केजीमुनि तथा हृदयानीले ३३ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका थिए ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर युवा तथा खेलकुदका अध्यक्ष सञ्जय लामा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा डोजाङ तथा स्कुल गरी २८ टिमका ५ सय ४८ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
