साझाका अध्यक्ष दीक्षित अख्तियारको कारबाहीमा

साझाका अध्यक्ष दीक्षित अख्तियारको कारबाहीमा

काठमाडौँ, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक सम्पत्ति विवरण नबुझाएको भन्दै साझा यातायातका पदाधिकारी र कर्मचारीलाई जनही रु पाँच हजार जरिवाना गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा वार्षिक सम्पत्ति विवरण नबुझाउने साझाका पदाधिकारीसहित २७ जना कर्मचारीलाई जरिवाना गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५० र आयोगको ऐन, २०४८ बमोजिम सम्पत्ति विवरण नबुझाउने साझाका पदाधिकारी र कर्मचारीलाई जरिवाना गरिएको प्रवक्ता पुस्करको भनाइ छ । उहाँका अनुसार साझाका अध्यक्ष कनकमणि दीक्षितसहित पाँच जना, साझा यातायात सञ्चालक समितिका तीन जना, कार्यकारी अधिकृतसहित १९ जनालाई कारबाही गरिएको हो । साझा यातायातमा नेपाल सरकारको ७१.८२ प्रतिशत सेयर रहेको छ ।

यसैबीच आयोगले आजै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी माध्यामिक तहको शिक्षक पदमा नियुक्ति लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रवक्ता पुस्करका अनुसार भक्तपुर जिल्लास्थित सरस्वती उच्च माध्यामिक विद्यालयका शिक्षक दीनानाथ पोखरेलले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको वीरबहादुर सिंह पूर्वाञ्चल विश्वविद्यालय जौनपुर भारतबाट सन् २००७ मा स्नातकोत्तर तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने पोखरेलविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।