काठमाडौंमा प्रकाशमान सिंह कमजोर, देउवा दर्हो बन्दै !!!

काठमाडौंमा प्रकाशमान सिंह कमजोर, देउवा दर्हो बन्दै !!!

Desktop10

कपन अनलाइन/फाल्गुण ४, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सिलसिला चलिरहँदा पुराना विरासतका कतिपय राजनीतिहरु कमजोर हुने क्रम देखिएको छ । सभापति सुशील कोइरालाको असामयिक निधनपश्चात अब नेकामा कोइराला परिवारको एकल हावी सम्भवतः सदाको लागि सकिएको छ । संस्थापन पक्षमा देखिएको एक उम्मेदवार बनाउने तयारीमा देखिएको सकसले अब नेकाभित्र संस्थापन पक्ष नै नरहने अबस्था देखिन्छ । त्यसैगरी गणेशमान सिंहको विरासतमा राज गरिरहेको महामन्त्रि प्रकाशमान सिंहको राजनीति पनि काठमाडौं कांग्रेसमा कमजोर बन्दै गएको देखिएको छ ।

प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा प्रकाशमान सिंहको उम्मेदवार नै पराजित भएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा सभापति बिजय गराउन नसकेपछि उनको चाक्सीबारी भनिने राजनीति आरालो पथतिर लागेको छ । काठमाडौं कांग्रेस चाक्सीबारीले निर्धारण गर्छ भनिने विषय अब सोचनीय बनेको छ । क्षेत्रीय अधिवेशनको आंकडा हेर्ने हो भने काठमाडौंमा ३ वटा क्षेत्रीय सभापति प्रकाशमान सिंहका मानिसले जितेका छन् । क्षेत्र नं. ५ का रमेश खड्का, क्षेत्र नं. ७ का मुकुन्द रिजाल र क्षेत्र नं. १० का पुकार महर्जनमात्र सिंहका क्षेत्रीय सभापति हुन् । प्रकाशमान सिंहको क्षेत्रमा कमजोरपश्चात उनले जिल्ला अधिवेशनमा कस्तो स्वरुप प्रस्तुत गर्लान् सहजै अनुमान गर्न सकिन्छ । यद्यपि यसपाला नेपाली कांग्रेस काठमाडौंमा देउवा र प्रकाशमान सिंह मिलेर जिल्ला अधिवेशनमा भाग लिने कुरा हल्लामा आएको देख्दा कहिँकतै जिल्लामा प्रकाशमान सिंहको पकड बन्छ कि भन्ने आशा भन्ने गर्न सकिन्छ ।

काठमाडौं कांग्रेसमा १३ औँ महाधिवेशनमा देउवा पक्षले सुदृढ प्रस्तुति दिएको छ । क्षेत्रको अधिवेशनपश्चात काठमाडौंका ५ वटा क्षेत्रीय सभापति देउवा पक्षीय बनेपछि काठमाडौंमा देउवा पक्षले दरो खुट्टा गाड्न सक्ने देखिन्छ । यद्यपि जिल्ला सभापतिमा देउवा पक्षले आफ्नो उम्मेदवार उठाएको छैन । अहिलेसम्मको खबर अनुसार देउवा पक्षका ५ जनै सभापतिले प्रकाशमान सिंहका उम्मेदवार भनिएका सबुज बानियाँलाई जिताउने छन् । देउवा पक्षले यस अधिवेशनमा क्षेत्र नं. १ बाट प्रकाशविक्रम राणा, क्षेत्र नं. २ बाट उपेन्द्र कार्की, क्षेत्र नं. ३ बाट सन्तोष चालिसे, क्षेत्र नं. ४ बाट राजु श्रेष्ठ र क्षेत्र नं. ९ बाट जयकृष्ण महर्जनको रुपमा सभापति जितेको छ । यो आंकडा हेर्दा काठमाडौंमा देउवा पक्ष सशक्त भएको अनुमान गर्न सकिन्छ । तत्काल हेर्दा देउवा पक्षीय सभापतिले प्रकाशमान सिंहका उम्मेदवार बानियाँलाई सहयोग गर्ने देखिए पनि कालान्तरमा देउवा पक्षको सुदृढ प्रस्तुति प्रकाशमान सिंहका लागि घातक नै सिद्ध हुने अनुमान गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।