कोशी बाढीको कारण सुनसरीका १९ गाविस खतरामा

५ असार, इटहरी । मनसुन सुरु हुनासाथ सुनसरी जिल्लामा बाढीको खतराले सर्वसाधारण मानिसलाई सताउने गर्दछ। प्रत्येक वर्ष सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउने डरले पश्चिमी क्षेत्रको प्रकाशपुर, महेन्द्रनगर, मधुवन र पश्चिम कुसाहाका मानिसलाई भय र त्रासले सताउन थाल्दछ।
वि.सं २०६५ मा कोसी नदीले पश्चिम कुशाहा-४ बाट तटबन्ध भत्काएर त्यस क्षेत्रका चार गाविस हरिपुर, पश्चिम कुसाहा, श्रीपुर र लौकही गाविससमेत पूरै जलमग्न भएर अर्बौंको नोक्सानी भएको घटनाले अहिले पनि त्यस क्षेत्रका मानिसलाई झस्काउने गरेको छ।
सप्तकोसी नदीको बाढीले पुर्‍याएको नोक्सानीको अझै समाधान निक्लन सकेको छैन। त्यस क्षेत्रका सुकुम्वासीलाई जग्गा खरिद गरेर बसोबासको व्यवस्था मिलाउन सरकारले घोषणा गरेको कार्यक्रमले एक चौथाइ मानिसको मात्र व्यवस्थापन भएको छ।
उर्वर भूमि बालुवामा परिणत भएका छन्। राज्यले उपलब्ध गराउने भनिएको घर, काठ अहिले पनि कोसी पीडितले पाउन सकेका छैनन्। सप्तकोसी नदीले झैँ सुनसरी खोलाले पनि खोलाआसपासका भोक्राहा, नरसिह, बबिया, रामनगर भुटाहालगायतका गाविस जलमग्न बनाई खेतीसमेत बगाएर लैजाने भएकाले त्यस क्षेत्रका मानिस पनि आकाशमा कालो बादल देख्नासाथ त्रासमा बस्न बाध्य हुने गरेका छन्।
भारत सरकारको सहयोगमा सुनसरीको सदरमुकाम इनरुवादेखि भुटाहासम्म सुनसरी खोलामा तटबन्ध बनाउन भनी सञ्चालनमा ल्याएको योजना बीचैमा अलपत्र परेको छ। जसका कारणले पनि खोलाआसपासका स्थानीयवासी सुनसरी खोलामा आएको बाढीले आफ्नो उर्वर भूमि डुबानमा पर्ने खतरामा रहँदै आएका छन्।
यस जिल्लामा रहेका साना तथा ठूला खोलामा आउने बाढीले जोखिममा पार्न सक्ने गाविस १९ वटा रहेको पहिचान भएका छन्। बारम्बार डुबानमा पर्ने जिल्लाको दक्षिणी क्षेत्रका ती गाविसमा हुन सक्ने डुबानबाट तत्काल जोखिम कम गर्न सकिने उपायका लागि स्थानीय युवालाई जिल्लाका विभिन्न गैरसरकारी संस्था र जिविसले तालिम दिने योजना बनाएको छ।
कोसी नदीको पूर्वी क्षेत्रमा नदीको बहावलाई कम गर्नका लागि निर्माण भएका स्परहरु मर्मतसम्भारको अभावका कारण जीर्ण भइसकेका र अधिकांश स्परहरु नदीका बहावका कारण कटानमा परिसकेकाले कुनै पनि बेला नदीले पूर्वी तटबन्ध पुनः कटान गर्न सक्ने खतरा जीवितै रहेको मधुवन उपभोक्ता समितिका अध्यक्ष पङ्कज महतो बताउँछन्।
यता इटहरी क्षेत्रको टङ्ग्रा र बुढीखोलामा आउने बाढीले इटहरीका दक्षिणी भाग, खनार, सोनापुर र दुहवी गाविसलाई डुबानमा पार्ने गरेको छ। सदरमुकाम इनरुवा पनि प्रत्येक वर्ष वर्षादको समयमा डुबानमा पर्दै आएको छ।
चार वर्षअघि पनि जिविस, स्थानीय सरोकारवाला निकाय र दातृ निकायहरुले जिल्लामा पर्न सक्ने दैवीप्रकोप तथा त्यसको रोकथाम तथा न्यूनीकरणको योजना बनाउँदा बनाउँदै सप्तकोसी नदीमा आएको बाढीले जिल्लावासीले ठूलो विपदको सामना गर्नु परेको घट्ना अझै ताजै छ।
सम्भावित खतराबाट सर्वसाधारणलाई जोखिममा पर्नबाट जोगाउनका लागि जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सक्रियतामा विपद् न्यूनीकरण तथा जोखिम हुनबाट जोगिनका लागि पूर्वतयारीसम्बन्धी सचेतना तालिम दिन थालिएको छ। रासस
तपाइँको प्रतिक्रिया ।