पढ्छु भन्दै काम गर्ने प्रवृत्ति

पढ्छु भन्दै काम गर्ने प्रवृत्ति

काठमाडौँ, ७ मङ्सिर । विदेशमा अध्ययन गर्न जान ‘नो अब्जेक्सन लेटर’का लागि आवेदन दिने अधिकांश विद्यार्थी रोजगारीका लागि जाने गरेको शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

उपल्लो तहमा अध्ययन गर्नका लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सो कार्यालयबाट जारी गरिने एक प्रकारको अनुमतिपत्रलाई ‘नो अब्जेक्सन लेटर’ भनिन्छ । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था मन्त्रालयको छात्रवृत्ति नियमावलीमा व्यवस्था गरिएको छ । यस्तो अनुमतिपत्र नलिई विदेशमा अध्ययन गरिएको शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले मान्यता दिएको छैन ।

सो कार्यालयका प्रमुख प्रकाश महर्जनले विदेशमा अध्ययन गर्नका लागि नो अब्जेक्सन पत्र लिन आवेदन दिनेमध्ये ९० प्रतिशत रोजगारीका लागि गएको जानकारी दिनुभयो । विदेशकोे वस्तुस्थिति र यथार्थ सबै बुझेर मात्र अध्ययन गर्न जानुपर्ने औँल्याउँदै उहाँले अन्जानमा विदेशमा जाँदा पैसाको नोक्सान र स्वयम् आफूले दुःख पाउने भएकाले सो पत्र दिन कार्यालयले कडाइ गरेको जानकारी दिनुभयो ।

नो अब्जेक्सन पत्रका लागि आवेदन दिने सुमन खड्काले विद्यार्थीहरु गुणस्तरीय शैक्षिक अध्ययनका लागि विदेशमा जाने गरेको र यसका लागि निवेदन दिँदा प्रक्रियामा अलि झन्झटिलो भए पनि खासै समस्या नरहेको बताउनुभयो ।

सो कार्यालयका अनुसार बर्सेनि यस्तो अनुमतिपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ । यस वर्षको साउनमा दुई हजार ९२१ जना, भदौमा दुई हजार ३६० र कात्तिकमा एक हजार ३१२ जनाले सो पत्र लिएका थिए ।

आव २०६७÷६८ मा ११ हजार ९८२, २०६८÷६९ मा १० हजार ३२४, २०६९÷७० मा १६ हजार ५०४, २०७०÷७१ मा २८ हजार १२६ र २०७१÷७२ मा ३० हजार ६९६ जनाले नो अब्जेक्सन पत्र लिएका थिए । अस्ट्रेलिया, क्यानडा, अमेरिका तथा युरोपेली मुलुकमा जाने विद्यार्थीको भविष्य राम्रो हुने भए पनि स्वयम् आफँै समस्याग्रस्त भएको पोर्चुगल र खाडी मुलुक आदिमा जानुअघि विद्यार्थीले सोच्नुपर्ने सुझाव महर्जनले दिनुभयो ।

विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले नक्कली प्रमाणपत्र पेस गर्न खोज्ने र यसको जाँचबुझ गर्ने कार्य नै आफ्ना लागि समस्यापूर्ण रहेको कार्यालयले जनाएको छ । कार्यालयले २०६७ सालदेखि कम्युटरमा तथ्याङ्क राखी विद्यार्थीलाई सो पत्रका विषयमा प्रारम्भिक जानकारी दिई सहयोग गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।