बाल विकास बोर्डिङ हाइ स्कुलले गायन प्रतियोगितामा शृङ्खलाबद्ध सफलता कायम गर्यो
कपन अनलाइन
काठमाण्डौ, बैशाख ३०।
काठमाडौँ जिल्लाको उत्तर भेगीय शैक्षिक मञ्च ( NEF) द्वारा आयोजित विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा बूढानीलकण्ठ स्थित बाल विकास बोर्डिङ हाइ स्कुलले ऐतिहासिक सफलता कायम गरेको छ ।
त्रिवेणी सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आयोजना गरिएको सो प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ मा अध्ययनरत शुभन भण्डारीले प्रथम स्थान हासिल गरेका थिए ।
उनले “ यति चोखो यति मीठो ” बोलको गीत गाएर निर्णायकमण्डललगायत उपस्थित दर्शकदीर्घालाई मुग्ध बनाएका थिए । त्यसैगरी सिनियरतर्फ नै संरक्षण पुन मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । जुनियरतर्फको समूहमा पासाङ ल्हामु शेर्पाले तृतीय स्थान हासिल गरेकी थिइन् भने सुस्मिता तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् ।
विद्यालयका संगीत शिक्षक राष्ट्रिय स्तरका संगीतकार तथा गायक बलराम समाल, अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामा ,विद्यालय संयोजक लक्ष्मण तितुङको प्रशिक्षणमा प्रतियोगिताको लागि विद्यार्थीलाई प्रशिक्षित गरिएको थियो ।
विद्यालयको प्रतिष्ठालाई उच्च बनाउने काम गरेकाले विजयी विद्यार्थीलाई विद्यालयको बिहानीको एसेम्ब्लीमा विशेष कार्यक्रम आयोजना गरी विद्यालयको तर्फबाट पनि सम्मान गरिने कुरा विद्यालयका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठ र कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठले बताउनुभयो ।