चार मुक्तक : सुरेन्द्र शाही ‘गुलाब कान्छो’
कपन अनलाइन
काठमाडौं, असोज ३ ।
खप्तड, बडिमालिका यतै छ बुडिनन्दा हाम्रो
अरु के हुन सक्छ र पहिचान यो भन्दा हाम्रो
स्वर्ग त स्वर्गै हो पावन भूमि बाजुरा जिल्ला,
सुन्दरतामा पहिलो पर्छ सबै भूमि गन्दा हाम्रो ।
एक दिन यही शान्त माहोल खुब तताउने छ
यात्रा पुरा नहुन्जेलसम्म आत्माले सताउने छ
हजारौं सपना बोकेर हिडेको एक्लो यात्री हुँ म,
सबै सपना पुरा हुनेछन् समयले बताउने छ ।
सिन्को नभाँचि कसैलाई ऐले गन्तव्य भेट्नु छ
बल्ल त सुरु भो यात्रा खै कै’ले गन्तव्य भेट्नु छ
हिड्न परोस् काँडैकाँडा माथि तर गोडा नथाकुन्,
जस्तो सुकै परिस्थितिमा मैले गन्तव्य भेट्नु छ ।
परम्परागत संस्कार र संस्कृति हस्तान्तरण हुनुपर्छ
तर केही कुरीति र कुसंस्कारको छिट्टै मरण हुनुपर्छ
यहाँ अर्काको आदेशमा चल्ने धेरै छन् कलियुगमा,
स्वाभिमानी बनेर यात्रा गर्न आफ्नै चरण हुनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
