तीज र रत्यौली : संस्कृति कि विकृति ? अञ्जु चालिसे (रूपाञ्जली)

तीज र रत्यौली : संस्कृति कि विकृति ?  अञ्जु चालिसे (रूपाञ्जली)

कपन अनलाइन
काठमाडौं, असोज ३ ।
संस्कृति समयसँगै परिवर्तन हुन्छ । पुस्ता फेरिँदै जाँदा गीतका भाका, प्रस्तुति र अभिव्यक्तिका शैली पनि बदलिन्छन् । परिवर्तनलाई रोक्नु सम्भव छैन, आवश्यक पनि होइन । तर परिवर्तनका नाममा आफ्नो मौलिकता, मर्यादा र सांस्कृतिक पहिचान नै गुमाउँदै गयौँ भने प्रश्न उठ्छ—हामी संस्कृति परिवर्तन गर्दैछौँ कि संस्कृतिको विकृति निर्माण गर्दैछौँ ?
आज तीज र रत्यौलीका गीत तथा तिनका प्रस्तुतिलाई हेर्दा यही प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने अवस्था आएको छ । विशेषतः रत्यौलीका गीत र अभिनय पछिल्लो समय सामाजिक सञ्जालमा विवादित, उत्तेजक र प्रदर्शनमुखी रूपमा प्रस्तुत हुन थालेका छन् । पक्ष–विपक्षका तर्क, आरोप–प्रत्यारोप र प्रतिवादले कतिपय अवस्थामा सांस्कृतिक बहसभन्दा बढी ‘युद्धकै माहोल’ सिर्जना गरेको देखिन्छ । लोकपरम्पराका गीत र अभिनयले मनोरञ्जनसँगै संवाद, आत्मीयता र सामूहिक उल्लास सिर्जना गर्नुपर्ने हो; तर भाइरल हुने प्रतिस्पर्धाले तिनलाई विवाद, उत्तेजना र प्रदर्शनको माध्यम बनाउँदै लैजानु आफैँमा गम्भीर सांस्कृतिक प्रश्न हो ।
परम्परागत तीज महिलाको आफ्नै सांस्कृतिक संसार थियो । विवाह गरेर पराई घर पुगेका चेलीहरू तीजको अघिल्लो दिन नै माइती आइपुग्थे । घरमा बुहारीको जिम्मेवारी र कामको बोझले थाकेका छोरीहरू तीजका बेला माइती आउँथे । आमाले स्नेहपूर्वक तयार पारेको र दिदीबहिनी मिलेर बनाएको दर अघिल्लो रात, विशेषगरी मध्यरातअघि, बसेर खाने परम्परा थियो । भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले व्रतका क्रममा भोक र शारीरिक कठिनाइ कम होस् भन्ने भावले पर्याप्त भोजन ग्रहण गरिन्थ्यो ।
त्यसैले दर केवल खानपानको चलन थिएन; त्यसमा आमाको माया, दिदीबहिनीको आत्मीयता, छोरीप्रतिको चिन्ता र माइतीघरको स्नेहपूर्ण आतिथ्य गाँसिएको हुने गथ्र्यो । विवाहित महिलाहरू पति तथा घर–परिवारको सुख, शान्ति, समृद्धि, सौभाग्य र पतिको दीर्घायुको कामना गर्दै भगवान् महादेवको आराधना गरी व्रत बस्ने गर्थे भने अविवाहित युवतीहरू भविष्यमा असल र योग्य पति प्राप्त होस् भन्ने कामनाले तीजको व्रत बस्ने परम्परा थियो । यसरी तीजको व्रत, दर र माइती–चेलीको भेटघाट केवल धार्मिक अनुष्ठान वा खानपानमा सीमित थिएन; यसले पारिवारिक आत्मीयता, चेलीप्रतिको माइतीको स्नेह र नेपाली समाजको सम्बन्धमुखी संस्कारलाई समेत जीवन्त राखेको थियो । माइतीको आँगनमा दिदीबहिनी र साथी–सहेली भेटिन्थे, एकअर्काका दुःख–सुख साट्थे, मनका गाँठा फुकाउँथे र केही क्षणका लागि घरायसी जिम्मेवारी तथा थकान बिर्सेर मन हलुका पार्ने अवसर पाउँथे । दर खाने, तीजका गीत गाउने, नाच्ने र गीतमार्फत मनका कुरा पोख्ने परम्परा थियो । जति नै टाढा विवाह गरेर गएकी चेली भए पनि, माइतीको आर्थिक अवस्था जस्तोसुकै भए पनि, दाजुभाइ वा बाबु चेलीलाई लिन उसको घरसम्म पुग्ने आत्मीय चलन थियो । यसमा चेलीप्रतिको माइतीको माया र जिम्मेवारी मात्र होइन, आपसी सम्बन्ध, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सुन्दर संस्कारसमेत प्रतिबिम्बित हुन्थ्यो ।
विवाह, पति र घर–परिवार, माइतीको सम्झना, दुःख, पीडा, विरह, आशा र आकांक्षा—महिलाको जीवनका अनेक अनुभूति तीजका भाकामा अभिव्यक्त हुन्थे । यस अर्थमा तीज धार्मिक आस्था, वैवाहिक जीवनको मंगलकामना, माइती–चेलीको आत्मीय सम्बन्ध र महिलाहरूको सामूहिक अभिव्यक्तिसँग जोडिएको पर्व थियो । तीजका गीत केवल मनोरञ्जनका माध्यम थिएनन् ती महिलाका मनका आवाज, जीवनभोगाइ र भावनात्मक अभिव्यक्तिका जीवन्त दस्तावेज थिए ।
रत्यौली पनि विवाह संस्कारसँग जोडिएको महिलाकेन्द्रित लोकपरम्परा हो । विवाहको परिवेशमा महिलाहरू आफ्नै समूहमा बसेर गीत गाउँथे, नाच्थे, ठट्टा गर्थे, व्यङ्ग्य गर्थे र वातावरणलाई उल्लासमय बनाउँथे । त्यसमा लोकजीवनको सरलता, हास्य, आत्मीयता र सामूहिक सहभागिता थियो । रत्यौलीका गीतमा जिस्क्याइ, दोहोरो अर्थ लाग्ने सांकेतिक अभिव्यक्ति र यौनिक संकेतसम्म पनि पाइन्थे । तर ती लोकजीवनको स्वाभाविक हास्य र सांस्कृतिक परिवेशभित्रका सांकेतिक अभिव्यक्ति थिए । आजको बजारमुखी, उत्तेजक र प्रदर्शनमुखी प्रस्तुतिसँग तिनलाई एउटै तराजुमा राखेर हेर्नु उचित हुँदैन । लोकहास्य र अश्लीलता एउटै कुरा होइनन् । ठट्टा र भद्दापन एउटै कुरा होइनन् । यही भिन्नता बुझ्नु आजको सांस्कृतिक चेतनाको महत्वपूर्ण जिम्मेवारी हो ।
आज तीजका गीतमा आधुनिक बाजा, नयाँ भाका र नयाँ प्रस्तुति आउनु आफैँमा विकृति होइन । नयाँ पुस्ताले आफ्ना अनुभव, समयको चेतना र बदलिँदो सामाजिक परिवेशलाई गीतमा ल्याउनु स्वाभाविक हो । प्रेम, दाम्पत्य, ठट्टा, व्यङ्ग्य, सामाजिक विसङ्गति, महिला अधिकार र समकालीन जीवनका विषय आउनु पनि स्वाभाविक हो । तर नयाँपनका नाममा कतिपय गीतमा अनावश्यक दोहोरो अर्थ लाग्ने शब्द, अश्लील संकेत, भद्दा शब्दावली र उत्तेजक प्रस्तुति हावी हुँदै जानुचाहिँ गम्भीर चिन्ताको विषय हो ।
आजका केही तीज गीतका शब्दले यो प्रश्नलाई अझ गम्भीर बनाएका छन् । ‘बालेनजस्तो पोइ पाऊँ’ जस्ता अभिव्यक्ति होऊन् वा ‘हान्दिउँ बुढा प्वाक्क, यसपालिको तीजमा चाहियो एक लाख ट्वाक्क’, ‘तिम्रा ज्वाईंलाई पढभन्दा मानेनन्, अहिले मलाई आई लभ यू भन्न जानेनन्, किस गर्न जानेनन्’ जस्ता शब्दावली—यी अभिव्यक्तिमा समकालीन जीवनको कुनै पक्ष आउन सक्छ । तर प्रश्न यति हो—यस्ता शब्दले तीजको सांस्कृतिक आत्मा, नारीको संवेदना, दाम्पत्यको आत्मीयता र लोकभाषाको सौन्दर्यलाई कति समेट्छन्न् ?
अभिव्यक्तिको स्वतन्त्रता र भाषिक मर्यादा परस्पर विरोधी होइनन् । उत्तेजक शब्द प्रयोग गर्दैमा गीत आधुनिक हुँदैन र भद्दा प्रस्तुति दिँदैमा नयाँ पुस्ताको गीत–संगीत र संस्कृतिप्रतिको मोह प्रमाणित हुँदैन । आधुनिकता भनेको मर्यादा त्याग्नु होइन; समयसँगै अभिव्यक्तिको स्तर उकास्नु हो । प्रश्न शब्द प्रयोग गर्न पाइन्छ कि पाइँदैन भन्ने मात्र होइन; हामीले आफ्ना सांस्कृतिक पर्वका गीतमार्फत आगामी पुस्तालाई कस्तो भाषा, सम्बन्धबोध र सांस्कृतिक चेतना हस्तान्तरण गर्दैछौँ भन्ने पनि हो ।
अझ अर्को गम्भीर प्रश्न तीजको नाचगानमा पुरुष सहभागिताको बढ्दो प्रवृत्तिले पनि उठाएको छ । पुरुषले तीजको सम्मान गर्नु, तीजका गीत सुन्नु तथा सांस्कृतिक कार्यक्रमको आयोजना वा संरक्षणमा सहयोग गर्नु गलत होइन । तर परम्परागत रूपमा महिलाले आफ्नै लागि निर्माण गरेको सांस्कृतिक स्पेसमा पुरुषहरू नै नृत्य र प्रस्तुतिको केन्द्र बन्ने, महिलासँगै मिसिएर तीजको मौलिक नाचगानको स्वरूप बदल्ने प्रवृत्ति भने बहसको विषय बन्नुपर्छ ।
यो पुरुष विरोध होइन, न त महिलाविरोध । यो परम्पराको मौलिक स्वरूप र त्यसको सांस्कृतिक सन्दर्भलाई सम्मान गर्ने प्रश्न हो । तीज महिलाले आफ्ना लागि बनाएको एउटा आत्मीय सांस्कृतिक ठाउँ थियो । त्यहाँ उनीहरू पुरुषको दृष्टि वा उपस्थितिको दबाबबिना आफ्ना कुरा गीतमा व्यक्त गर्थे । त्यो निजीपन र सामूहिक आत्मीयता पनि तीजको सांस्कृतिक सौन्दर्य थियो । आज सामाजिक सञ्जाल, स्टेज र बजारको प्रतिस्पर्धाले त्यो ठाउँलाई प्रदर्शनको सार्वजनिक मञ्चमा बदल्दै लगेको छ भने हामीले सोच्नुपर्छ—तीजको मौलिक आत्मीयता विस्तार हुँदैछ कि प्रदर्शनको संस्कृतिले त्यसलाई विस्थापित गर्दैछ ?
रत्यौलीको हकमा पनि यही प्रश्न लागू हुन्छ । विवाह संस्कारसँग जोडिएको महिलाकेन्द्रित लोकमनोरञ्जनलाई आजको बजारमुखी प्रस्तुति र पुरुषप्रधान मनोरञ्जनले विस्थापित गर्दैछ भने त्यसले रत्यौलीको मौलिक स्वरूपमाथि प्रश्न उठाउँछ र उठाउनै पर्छ । हामीले पुरुषलाई तीज वा रत्यौलीबाट घृणापूर्वक अलग गर्न खोजेका होइनौँ । तर जुन संस्कार जसको सांस्कृतिक अनुभवबाट जन्मिएको हो, त्यसको मौलिक स्वरूप र सांस्कृतिक क्षेत्रलाई सम्मान गर्नुपर्छ । महिलाकेन्द्रित परम्परालाई पुरुषप्रधान प्रदर्शनमा बदल्नु मात्र प्रगतिशीलताको प्रमाण हुन सक्दैन ।
अर्को प्रश्न अझ गम्भीर छ—हामीले आफ्ना छोरीहरूलाई कस्तो तीज हस्तान्तरण गर्दैछौँ ? के उनीहरूले आमाहरूले गाएका पुराना तीजका गीत सुन्न पाउनेछन् ? के उनीहरूले ती गीतभित्र लुकेको महिलाको पीडा, चेतना र संघर्ष बुझ्नेछन् ? के उनीहरूले रत्यौलीको मौलिक लोकभाका र त्यसको सामाजिक परिवेश चिन्न पाउनेछन् ? कि उनीहरूले तीजलाई केवल भड्किलो पोसाक, उत्तेजक शब्द, दोहोरो अर्थ लाग्ने संवाद, स्टेजको प्रदर्शन र सामाजिक सञ्जालको भाइरल सामग्रीका रूपमा मात्र बुझ्नेछन् ? हामीले यहीँबाट सचेत हुनुपर्छ ।
हरेक नयाँ कुरा संस्कृति होइन र हरेक पुरानो कुरा जोगाउनैपर्ने पनि होइन । परम्पराको आत्मा जोगाउँदै नयाँ पुस्ताको सिर्जनशीलतालाई स्थान दिन सक्नु नै वास्तविक सांस्कृतिक विकास हो । तर पुरानो संस्कृतिको संरक्षणका नाममा पुरानो समयका सबै सामाजिक व्यवहार र महिलाले भोगेका असमानता, परनिर्भरता र पीडालाई पनि जस्ताको तस्तै जोगाउन खोज्नु हुँदैन ।
समय बदलिएको छ । आजकी नारी पहिलेको जस्तो केवल परिवारको आश्रयमा निर्भर रहनुपर्ने अवस्थामा छैनन् । उनी शिक्षित छिन्, आफ्नै निर्णय लिन सक्छिन्, आर्थिक रूपमा सक्षम बन्न सक्छिन्, आफ्नै श्रम र सीपबाट कमाउन सक्छिन् र परिवार तथा समाजको नेतृत्वसमेत गर्न सक्छिन् । त्यसैले आजको तीजमा नारीको आत्मसम्मान, स्वतन्त्रता, समानता र अधिकारको चेतना देखिनु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो ।
नारी–पुरुष समानताको कुरा गर्नु परम्पराविरोधी हुनु होइन । संस्कृति जीवित राख्ने हो भने त्यसलाई समयको चेतनासँग संवाद गराउनुपर्छ । महिलाले विगतमा भोगेका असमानता र परनिर्भरतालाई संस्कृतिको नाममा पुनःस्थापित गर्नु हुँदैन । तर समानताको अर्थ पुरुषको नक्कल गर्नु वा सामाजिक सञ्जालमा समानताको प्रदर्शन गर्नु मात्र पनि होइन । समानता व्यवहारमा देखिनुपर्छ—निर्णयमा, अवसरमा, सम्मानमा, श्रमको मूल्याङ्कनमा र सम्बन्धभित्रको पारस्परिक उत्तरदायित्वमा ।
त्यसैले हामीले बचाउनुपर्ने पुरानो संस्कृति महिलाको पीडा, परनिर्भरता वा असमानता होइन; बचाउनुपर्ने संस्कृति हो—माइतीको आत्मीयता, दिदीबहिनीको सम्बन्ध, सामूहिकता, लोकभाका, अभिव्यक्तिको स्वतन्त्रता, सामाजिक सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृति । संस्कृतिको आत्मा बचाउनु र संस्कृतिका नाममा असमानता बचाउनु एउटै कुरा होइन ।
तीजका गीतमा नयाँ विषय आउन दिनुपर्छ, तर लोकभाषा र सांस्कृतिक चेतनालाई कायम राख्दै । महिलाका समकालीन समस्या, स्वतन्त्रता र अधिकारका कुरा पनि आउनुपर्छ, तर सिर्जनात्मक र मर्यादित प्रयोगमार्फत । प्रेम, दाम्पत्य, सामाजिक विसङ्गति र समयका नयाँ प्रश्नलाई गीतमा उतार्न सकिन्छ । शब्दमा मर्यादा होस्, प्रस्तुतिमा शालीनता होस् र अभिव्यक्तिमा सांस्कृतिक चेतना होस् ।
यसो भन्दै गर्दा आजका सबै तीज गीतहरू विकृत छन् भन्न खोजिएको होइन । आज पनि थुप्रै राम्रा, मौलिक, सन्देशमूलक र नेपाली संस्कृतिको सुन्दर पक्ष बोकेका तीज गीतहरू सिर्जना भइरहेका छन् । यस्ता गीतहरूले परम्पराको निरन्तरता मात्र होइन, समयअनुकूल नयाँ चेतना र अभिव्यक्तिलाई समेत समेटिरहेका छन् । त्यसैले राम्रा सिर्जनालाई निरुत्साहित होइन, प्रोत्साहित गर्दै तिनको संरक्षण र जगेर्ना गर्नु आवश्यक छ । हाम्रो चिन्ता परिवर्तनप्रति होइन; परिवर्तनका नाममा तीजको मौलिकता, सांस्कृतिक गरिमा र सामाजिक मर्यादा हराउँदै जानुप्रति हो ।
हामीले विरोध गर्नुपर्ने आधुनिकताको होइन, विकृतिको हो । विरोध गर्नुपर्ने नयाँ पुस्ताको होइन, मौलिकता मेट्ने प्रवृत्तिको हो । विरोध गर्नुपर्ने पुरुषको होइन, महिलाको सांस्कृतिक स्पेसलाई अनावश्यक रूपमा पुरुषप्रधान बनाउने प्रवृत्तिको हो । विरोध गर्नुपर्ने हास्यको होइन, हास्यका नाममा भद्दापन र अश्लीलताको हो ।
संस्कृति संग्रहालयमा थन्क्याएर बच्ने वस्तु होइन । यो जीवन्त हुन्छ, परिवर्तन हुन्छ र पुस्तासँगै यात्रा गर्छ । तर यात्रा गर्दा आफ्नो जरा बिर्सनु हुँदैन । हामीले पुरानो संस्कृतिलाई जोगाउने नाममा समयलाई रोक्न सक्दैनौँ । समयलाई पछ्याउने नाममा संस्कृतिको आत्मा पनि मेट्न सक्दैनौँ । संस्कृतिको निरन्तरता त्यसलाई जस्ताको तस्तै दोहो¥याउनुमा होइन; त्यसको मूल आत्मालाई नयाँ समयको चेतनासँग जोडेर अगाडि बढाउनुमा हुन्छ । आज हामीले एउटा प्रश्न आफैँलाई सोध्नुपर्छ—हामी तीज र रत्यौलीलाई समयअनुकूल समृद्ध गर्दैछौँ कि बजारीकरण गर्दै विकृत बनाउँदैछौँ ? उत्तर खोज्ने जिम्मेवारी कलाकारको मात्र होइन; दर्शक, श्रोता, सर्जक, सञ्चारमाध्यम र सम्पूर्ण समाजको पनि हो ।
तीज, रत्यौली मात्र होइन, हाम्रा हरेक चाडपर्व र संस्कारलाई समयअनुकूल समृद्ध बनाऔँ; तर परम्परा र संस्कृतिको मौलिकता, मर्यादा र पहिचान नबिगारौँ । संस्कृति बदलिन सक्छ, तर पहिचान हराउनु हुँदैन; समय फेरिन सक्छ, तर संस्कारको आत्मा मर्नु हुँदैन । समानता आउन सक्छ—आउनैपर्छ; तर समानताको यात्रामा संस्कृतिको मौलिक आत्मा हराउनु हुँदैन ।
त्यसैले आजको तीज र रत्यौलीका गीतलाई ‘पुरानो कि नयाँ’ भन्ने प्रश्नले मात्र नहेरौँ । बरु प्रश्न गरौँ—नयाँ हुँदै जाँदा हामीले आफ्नो सांस्कृतिक आत्मा कति जोगाउन सक्यौँ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।