हरेक सहर सहरमा, हरेक बजार बजारमा जुम्ली स्याउ : नबिन कुमार रोकाया

हरेक सहर सहरमा, हरेक बजार बजारमा जुम्ली स्याउ :  नबिन कुमार रोकाया

कपन अनलाइन
काठमाडौं, असोज ३ ।
जुम्लाको चिसो हावापानी, उर्वर माटो, कुनै पनि विषादी प्रयोग नगरिएको, सच्चा अर्गानिक र किसानको अथक मेहनतमा फलेको स्वादिलो जुम्ली स्याउ यतिबेला देशका विभिन्न सहर तथा बजारमा आइपुगेको छ । रसिलो स्वाद, प्राकृतिक सुगन्ध र आफ्नै माटोको पहिचान बोकेको जुम्ली स्याउले नेपाली उपभोक्ताको ध्यान तानिरहेको छ ।
जुम्ला केवल हिमाली सुन्दरताका लागि मात्र परिचित छैन । स्याउ उत्पादनका लागि पनि देशकै विशेष पहिचान बोकेको जिल्ला हो । यहाँको हावापानी र भौगोलिक वातावरणमा उत्पादन हुने स्याउले आफ्नै मौलिक स्वाद र विशेषता बोकेको हुन्छ । वर्षभरि खेतबारीमा पसिना बगाउने जुम्ली किसानले उत्पादन गरेको स्याउ अहिले गाउँको बगैँचाबाट निस्किएर देशका ठूला–ठूला सहरका बजारसम्म पुगेको छ ।
बगैँचामा पाकेको स्याउ, किसानको हातबाट बजारसम्म जुम्ली स्याउको यात्रा केवल एउटा फलको यात्रा होइन यो हजारौँ किसानको मेहनत, आशा र आत्मनिर्भरताको यात्रा हो । एउटा जुम्ली स्याउ किन्दा हामी एउटा किसानको मेहनतलाई सम्मान गरिरहेका हुन्छौँ । स्थानीय उत्पादनलाई रोज्दा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने र किसानलाई उत्पादनमा थप उत्साहित बनाउने आधारसमेत तयार हुन्छ ।
आज नेपाली बजारमा विभिन्न मुलुकबाट आयात हुने स्याउको ठूलो हिस्सा छ । बाह्य उत्पादनमा मात्र निर्भर हुनुभन्दा हाम्रो आफ्नै देशमा उत्पादन हुने फलफूललाई प्राथमिकता दिनु आवश्यक छ । स्वदेशी उत्पादनको उपभोग बढाउन सके नेपाली किसानको उत्पादनले उचित बजार पाउनेछ, कृषि क्षेत्रमा लगानी र उत्पादन बढ्नेछ र आयातमा हुने निर्भरता पनि क्रमशः घटाउन सकिन्छ ।
त्यसैले स्याउ किन्दा केवल मूल्य र बाहिरी चमक मात्र नहेरौँ । कहाँ उत्पादन भयो ?कसको पसिनाले फल्यो ? भन्ने कुरा पनि सोचौँ । जुम्ली किसानले उत्पादन गरेको स्याउलाई बजारमा प्राथमिकता दिनु भनेको स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु हो ।
जुम्ली स्याउ स्वाद मात्र होइन, जुम्लाको पहिचान हो । यो कर्णालीको बगैँचाबाट देशभर फैलिएको मेहनतको कथा हो । हरेक सहरमा जुम्ली स्याउ पुगेको देख्नु भनेको जुम्ली किसानको उत्पादनले बजार पाउँदै गएको सुखद संकेत पनि हो ।
अब समय आएको छ विदेशी उत्पादनको मोहभन्दा आफ्नै माटोको उत्पादनलाई माया गर्ने । आफ्नो देशका किसानले उत्पादन गरेको स्याउलाई रोज्ने, स्थानीय उत्पादनको प्रचार गर्ने र स्वदेशी कृषि उत्पादनलाई बजार दिने ।
आफ्नै माटोमा फलेको, आफ्नै किसानले फलाएको जुम्ली स्याउ रोजौँ ।
जुम्ली स्याउ किनौँ, खाऔँ र स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ ।
किसानको पसिनालाई बजार दिऔँ, आफ्नै उत्पादनलाई सम्मान गरौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।