दोसाँधमा देश : अमृत बस्नेत ( कविता )

दोसाँधमा देश : अमृत बस्नेत ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

बगिरहेछ बागमती, तर सङ्लो छैन पानी
फेरिएन तस्बिर यहाँ, फेरिएन उस्तै छ कहानी ।
सिंहदरबारको भित्तामा झुण्डिएका ती पुराना पात्र
देश बनाउने सपना त, केवल भाषण भयो मात्र ।
एकातिर सिमानामा छिमेकीको आँखा गाडिएको छ
अर्कोतिर स्वदेशमै स्वाभिमान झन्–झन् टाढिएको छ ।
खेतबारी बाँझै छन्, कोदालोमा खिया लाग्यो हिजोआज
त्रिभुवन विमानस्थलमा भने, युवाको ताँती लाग्यो आज ।
निधारमा टीका लगाएर, आमाको आशिर्वाद बोकी
जहाज चढेर जान्छ छोरो, एउटा ठूलो रहर बोकी ।
खर्चिनुपर्ने जोस यहाँ, विदेशीको सडक खनेर
फर्कनुपर्छ बाकसमा कि त, लास नै बनेर ।
अस्पतालमा सिटामोल छैन, झुपडीमा चामल छैन
जसको लाठी उसकै भैँसी, न्यायको यहाँ पालना छैन ।
सहिदको रगतले पोतिएको त्यो रातो झण्डा आज
गिज्याइरहेछ जस्तो लाग्छ, कुर्सीकै यो फोहोरी खेल माझ ।
तर पनि आश मरेको छैन, फेरि नयाँ बिहानी आउला
भ्रष्टाचारको अन्त्य भई, खुसीको गीत गाउला ।
अब त जागौँ नेपाली हो, यो देश हाम्रै पौरखले बन्छ
अर्काको भरमा बसे त, सधैँ परनिर्भरताले मात्र खन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।