चार मुक्तक : राजेन्द्र ढुङ्गेल
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
भोलि बढी ठुला हुन्छन् आजका साना पनि
कुनै दिन त पल्टिनेछन् यी युगका पाना अनि
व्यर्थै किन निराश हुन्छौ भन न ए सपनाहरू,
तथ्य खोज्दा साक्षी बस्ने यही जमाना छ नि ।
के को नजिक के को आफ्ना भर नभएपछि
निभाइने सम्बन्धमा व्यवहार सदर नभएपछि
ध्येय अलग बन्दै गए साथ सहयोग नदेखिदा,
गुम्छन् लक्ष्य गन्तव्यमा सँगै सफर नभएपछि ।
अर्काकै तालमा चल्दा आफ्नो धून बिर्सन्छन्
अँध्यारोमै रम्नेहरूले उज्यालो जून बिर्सन्छन्
कति मर्छस् अरूका हितका लागि ए जिन्दगी,
स्वार्थ पूरा भएपछि त मान्छेले गुन बिर्सन्छन् ।
भित्रै मर्छन् कलाहरू बाहिर ल्याउँने ज्ञान नहुँदा
आँखै हुने पछारिन्छन् हिँड्ने पथमा ध्यान नहुँदा
मैदान छोडी भाग्नु पर्ला होस् राख्नु कलाकारले,
नृत्य कस्तो गर्ने नगर्ने भन्ने कुराको ठेगान नहुँदा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
