भ्रष्टाचारीको ब्रिफकेस : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाडौं,पुस ६।
बिगत केही महिनादेखि प्रमुखबिहीन भएको अमुक कार्यालयले बल्ल–बल्ल प्रमुख पाउने भयो । हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यालयका लागि प्रमुख नियुक्ति गरी पठाउने निर्णय गरेको समाचार प्रकाशित भयो ।
उक्त समाचार पढेर कार्यालयका प्रायः सबै कर्मचारीहरू खुसी देखिन्थे, मानौँ अब उनीहरू अभिभावकविहीन टुहुरा हुने छैनन् । तर ती सबैमध्ये लेखा शाखाका प्रमुख र लेखा अधिकृत, खरिद शाखाका प्रमुख र खरिद अधिकृत अनि कर्मचारी संगठनको एउटा खरिदारका अनुहारमा भने बेचैनी प्रष्टै देखिन्थ्यो ।
त्यो खरिदार पदमा सानो भए पनि रुतवामा ती सबैभन्दामाथि थियो । उसले धेरैपटक लेखा र खरिद शाखाका प्रमुखहरूलाई सरुवाबाट जोगाइदिएको थियो । ती दुई शाखाबाट हुने हरेक किसिमको भ्रष्टाचार, मिलेमतो र खुराफातको मास्टरमाइन्ड ऊ नै थियो । प्रमुखहरू उसका सल्लाह बिना एउटा कागज पनि चलाउँदैनथे । विभागीय मन्त्री मात्र होइन, जो–जो प्रधानमन्त्री आए पनि उसको पहुँच उस्तै रहन्थ्यो । त्यसैले कार्यालयका अधिकांश कर्मचारी उसलाई “माइबाप” भनेर चिन्थे ।
समाचार आएको भोलिपल्ट बिहानै त्यो खरिदारले आफ्नो टोलीकोे गोप्य बैठक बोलायो । ढोका बन्द गरियो, पर्दा तानियो । “नयाँ हाकिम कस्तो मान्छे रहेछ” खरिद प्रमुखले सोधे ।
“सुनिँदा इमानदार छ रे,” लेखा प्रमुखले डर लुकाउँदै भने, “पुरानो ठाउँमा पनि केही छुँदैनथ्यो रे ।” कोठामा केही क्षण मौन छायो ।
खरिदार मुसुक्क मुस्कायो । “इमानदार भनेको दुई किसिमका हुन्छन्,” उसले भन्यो, “एक, ब्रिफकेस नपुग्दा इमानदार हुने । दुई, ब्रिफकेस पाएपछि पनि नलिने । पहिलो किसिमलाई मिलाउन गाह्रो हुँदैन ।” सबैको नजर उसतिर गयो । “ब्रिफकेस तयार छ ?” उसले सोध्यो ।
त्यही दिन साँझसम्म कालो छालाको एउटा ब्रिफकेस तयार भयो — भित्र कागज होइन, नबोल्ने तर धेरै कुरा भन्ने नोटहरू थिए । योजना स्पष्ट थियो । नयाँ प्रमुखले ब्रिफकेस लिए भने अब कार्यालय पुरानै लयमा चल्नेछ । नलिए भने… अर्को योजना तयार थियो ।
केही दिनपछि नयाँ प्रमुख कार्यालय आइपुगे । सरल पहिरन, शान्त स्वभाव । स्वागत कार्यक्रमपछि खरिदार उसलाई एक्लै भेट्न गयो ।
“सर, यो त हाम्रो मायाको सानो चिनो,” भन्दै उसले ब्रिफकेस टेबलमा राख्यो । प्रमुखले ब्रिफकेस हे¥यो, खोलेन । केही बेर मौन रहेपछि उसले शान्त स्वरमा भन्यो, “तपाईंहरूको माया कार्यालयको कामप्रति इमानदारी हो भने, यो मायाको सानो चिनो मात्र हैन ठुलै चिनो पनि मलाई चाहिँदैन ।”
कोठामा चिसो सन्नाटा फैलियो । खरिदारको अनुहार पहिलोपटक फिक्का देखियो ।
भोलिपल्टदेखि कार्यालयमा अजीब हावा चल्न थाल्यो । बिलहरू रोकिए, फाइलहरू फिर्ता हुन थाले प्रमुखले सबै काम नियमअनुसार गर्न आदेश दिए । लेखा र खरिद शाखामा हलचल मच्चियो ।
त्यसको केही हप्ता नबित्दै समाचार पत्रहरूमा नयाँ हल्ला चल्न थाल्यो — “अमुक कार्यालयको प्रमुख काम गर्न नसक्ने, कर्मचारीसँग समन्वय गर्न नजान्ने ।” संघ–संगठन सक्रिय भए । सांसदहरू भेटघाटमा लागे । मन्त्रालयमा गुनासोका फाइल थुप्रिन थाले ।
अन्ततः एक बिहान अर्को सूचना आयो— “कार्यालय प्रमुखलाई सरुवा गरिएको छ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
