हे ! हेमन्त : त्रिलोचन आचार्य (कविता )

हे ! हेमन्त :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २७।

हे ! हेमन्त छिमेक भै शिशिरको बस्दै तँ जाग्छस् कति ?
सेतै शीत छरेर आँगन भरी टाढा तँ भाग्छस् कति ?
केही बात गरेर निर्भय कुदिस् हावा र पानीसित
केही बात चिसो बनी गरिदिइस् सानी बिहानीसित
।१।
ऐले घाम भयो यहाँ मधुरझैँ के त्रास तेरो परी ?
तेरो निर्ममता बुझेर पहिल्यै, ओर्ले तराई चरी
काँप्दैछन् सब टाकुरा विरहको पोको फुकाईकन
धर्तीले कसरी भुलुन् ? चहकिला चोखा शरद्का दिन
।२।
बाक्लो कोट कता छ किन्तु अहिले खोज्नै परे सुस्तरी
थेग्थ्यो जिन्तिन किन्तु थेग्छ र कहाँ आए झरी बेसरी
छोडेथ्यो जब रंगमञ्च जगको वर्षादका भेलले
जाडोको गणराज्य जागृत भयोे तेरो कडा झेलले
।३।
हे हेमन्त सधैँ रहे तँ जगमा बढ्थे कहाँ पालुवा
के बढ्थे लहरा बरा जमिनमा होलान् र धारा कुवा
बाटो बन्द गराउँछस् विकटको पुग्ने हिमाली चुली
धर्तीले अविलम्ब भिन्नपनको फेर्ने भयो काँचुली
।४।
जाडो मार्ग र पौषको जति छ यो हेमन्तका भागको
गाह्रो पर्छ भने परन्तु सहनै सक्ला र को माघको ?
नाता पर्छ कुनै बुझौँ म कि यहाँ ? बाक्लो तुषारो कि त
हे ! हेमन्त यहाँ भनेँ यति कुरा, राखौँ अरु को सित ।
।५।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।