बुढानिलकण्ठ-६ मा बाटो निर्माणमा ढिलाइ, विद्यार्थीको पढाइमा असर, स्थानीय आक्रोशित
कपन अनलाइन
काठमाडौं, भदौ १ / सपना नेपाली
बुढानिलकण्ठ नगरपालिका–६ अन्तर्गत च्यासिनडोल हुँदै धरमपुर जोड्ने सडक खण्ड लामो समयदेखि निर्माण कार्यमा अल्झिँदा सारथी पाठशालाका विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दा दैनिक रुपमा दुःख पाईरहेका छन्। करीब ५०० मिटर लामो उक्त सडक खण्ड दुई महिना अघि निर्माण सुरु भए पनि हालसम्म २० प्रतिशत मात्रै प्रगति भएको छ।
हाल साइडवाल निर्माण कार्यमात्रै चलिरहेको छ भने मूल सडक हिलाम्य र चिप्लो बनेको छ। निर्माण कम्पनीको ढिलासुस्ती र वर्षायाम दुवै कारणले गर्दा सडक अत्यन्तै जोखिमपूर्ण बनेको स्थानीय बताउँछन्।
सारथी पाठशालाका विद्यार्थी, शिक्षक र अभिभावकसहित करिब ६००–७०० जनाले नियमित रुपमा यही बाटो प्रयोग गर्ने गरेका छन्। हरेक दिन विद्यार्थीहरू चिप्लिएर लड्ने, हिलोमा जुत्ता–लुगा भिजाउने तथा आवत–जावतमा असजिलो सहन बाध्य छन्। अभिभावकहरूले आफ्ना साना नानीबाबुलाई विद्यालय लैजाँदा–ल्याउँदा समेत ठूलो सास्ती भोग्नु परेको गुनासो गरेका छन्।
सडकको खराब अवस्थाले विद्यालयमा विद्यार्थीहरूको उपस्थितिमा समेत नकारात्मक असर पारेको छ। केही दिन त बालबालिका ढिलो गरी विद्यालय पुग्ने वा विद्यालय नै नगएको घटना बढेको शिक्षकहरूले बताएका छन्। चिप्लो बाटो र हिलोका कारण कतिपय अभिभावकले बच्चालाई विद्यालय पठाउन हिच्किचाउने गरेका छन्।
यसले विद्यार्थीहरूको अध्ययनमा निरन्तरता दिन कठिनाइ बढाएको विद्यालय प्रशासनको भनाइ छ। सारथी पाठशालाका प्रध्यानाध्यापक यहुन्ना काप्रीका अनुसार, “निर्माण कार्य कछुवाको गतिमा अघि बढिरहेको छ। समस्या पटक–पटक सम्बन्धित निकायमा राख्दा पनि सुनुवाइ भएको छैन। विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र पढाइ दुवै प्रभावित भएका छन्। अब सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी छ।” स्थानीय बासिन्दाले पनि निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले ठेकदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न र नगरपालिकाले कडाइका साथ निगरानी गर्न माग गरेका छन्।
“हामी वर्षौंदेखि पर्खिरहेका छौं, तर बाटो अझै हिलो र धुलोमै सीमित छ। यहाँ दैनिक हिँड्ने विद्यार्थीहरूलाई परेको सास्ती देखेर मन दुख्छ,” एक अभिभावकले बताए । विद्यार्थीहरूको शिक्षामा प्रत्यक्ष असर, स्थानीयको आवत–जावतमा कठिनाइ र सुरक्षामा देखिएको जोखिमलाई मध्यनजर गर्दै सरोकारवालाको तत्काल ध्यानाकर्षण गराउन स्थानीयवासी, विद्यालय प्रशासन र अभिभावकले संयुक्तरुपमा अपिल गरेका छन्।
(सपना नेपाली सारथी पाठशालामा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )
