सपना हराएको क्षण : राम आचार्य पुष्पप्रेमी (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
अभावको रापले
पिल्सिएको घायल मन लिएर
सम्भावनाको
बुकी टिप्ने अभिलाषामा
साँघुरा गल्ली र सडकतिर
अल्लरिएर बरालिई रहन्छ ऊ ।
उसका धेरै सपनाहरू
हराएका छन् शहरमा,
यदि
हराएका सपनाहरू
खोज्न मिल्ने भए,
टुटेका आशाहरू
जोड्न मिल्ने भए
आफ्ना अनगिन्ति
रहरहरू शीला खोज्दै
शहरमा मुसाफिर बन्ने
थिएन ऊ ।
दिनानु दिन
उसका रहरहरू बढ्दा छन,
ऊ जत्रै
ऊ भन्दा पनि ठूला भएर,
आँखाले ठम्याउन नसक्ने
गन्तव्य निहाल्दै
बर्षौ हराउने
थिएन होला शहरमा ।
तिनै रहरको करिया भएर
विश्वासको भरिया
बनेकोछ ऊ,
न सडकले देख्छ
न त शहरले सोध्छ ।
एकदिन
शहर छेउमा आएर
कान खुसुक्क भन्छ–
ए.. भाइ!
यहाँ त
आफू हिँड्ने बाटो
आफै किन्नु पर्छ
रहर किन्ने बजार
आफै चिन्नु पर्छ,
यो कोलाहालपूर्ण शहरमा
न तिम्रो हाँसो कसैले देख्छ
न त आँसु बिक्छ,
सबै रहरहरू
छाती भित्रै
आफ्नै हातले छुनु पर्छ,
आफ्नो आँखा
आफ्नै पसिनाले पुछ्नु पर्छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
