अपरिचित झैँ लाग्दैछ : नीता गुरूङ्ग भाटिया (कविता )

अपरिचित झैँ लाग्दैछ : नीता गुरूङ्ग भाटिया (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

आफ्नो शहर आफूलाई
अपरिचित झैँ लाग्दैछ
आफन्त भन्ने पनि
पराया झैँ लाग्दैछ
देख्दैछु म यहाँ
मानिस आफैमा
बिलाए झैँ लाग्दैछ ।

रूँदै गरेको नयन देखें
मुस्कान छरेको अधर देखें
देखे मैले संसारको जन्जालमा
पराइको हातमा मल्हम अनि
आफन्तको हातमा खंजर देखेँ ।

मुखले बोलेको वचन
बज्रपात झैँ लाग्दैछ
अब त दिन पनि
रात झैँ लाग्दैछ ।

यो छोटो जीवनमा
धेरै कुराहरू परिवर्तन
भए झैँ लाग्दैछ ।
कतै आत्मीयताको झरी
बर्सेको छ भने,
कतै घृणाको ज्वाला
धपधपी बले झैँ लाग्दैछ ।

कतै कसैको स्वभावमा मृदुपन
झल्केको देखिन्छ भने,
कतै कठोरताले
मिठो सम्बन्धमा
विष घोले झैँ लाग्दैछ ।

हो…!
आफ्नो शहर आफूलाई
अपरिचित झैँ लाग्दैछ ।
(गुवाहाटी, असम भारत ।)

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।