आमा : सुनिल थापा (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
सुनौलो बिहानी देख्नुअघि,
कति रात आमाले ननिदाई बिताइन्,
छाक टार्न खेत, वन र घर,
कति सपना आमाले आफैंमा लुकाइन् ।
जुनीभरि थाकेर बस्न नपाउने,
अनि रोए पनि मुस्कान देखाउने,
मैले पहिलो पाइला चाल्दा,
खुसीले नाच्नुहुन्थ्यो – संसार बिर्सेर !
मेरो रोदन आमाको पीडा,
मेरो हाँसो आमाको पूजा,
मेरो सानोतिनो जितमा पनि
उहाँको मुहारमा हुन्थ्यो उत्सवको उज्यालो ।
कपडामा टालो लगाएर
मलाई नयाँ लुगा किनिदिने,
स्वयं भोकै सुतेर
मलाई पेटभरि खान दिने ।
आज म जे छु, जति छु,
आमाको श्रमको फल हो त्यो,
उहाँ बिना म अधुरो छु,
साँचो भन्नु परे – आमा नै मेरो भगवान हो ।
म जीवनभर ऋणी छु
उहाँको माया, त्याग र समर्पणको,
मेरा स्वासहरूमा
अविरल बगिरहन्छ – आमाको नामको मन्त्र ।
आमा तपाईं नै हुनुहुन्छ मेरो सम्पूर्ण,
मेरो प्रेरणा, मेरो आत्मा, मेरो अस्तित्व ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
