लमजुङमा ‘उच्च शिक्षामा अनुसन्धानबाट सिकाइ’ राष्ट्रिय सम्मेलन सम्पन्न

लमजुङमा ‘उच्च शिक्षामा अनुसन्धानबाट सिकाइ’ राष्ट्रिय सम्मेलन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, बैशाख ३०।

मर्स्याङदी बहुमुखी क्याम्पस, बेसीशहरको आयोजनामा सम्पन्न भएको “उच्च शिक्षामा अनुसन्धानबाट सिकाइ” शीर्षकको पहिलो राष्ट्रिय शैक्षिक सम्मेलनले जिल्लामा अनुसन्धान संस्कृतिको प्रवर्द्धन र शैक्षिक उत्कृष्टता हासिल गर्न गरिएको योजनाबद्ध प्रयासको महत्वपूर्ण सुरुवातको संकेत गरेको छ । विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा आयोजना गरिएको उक्त सम्मेलनमा स्थानीय निकायहरूको समेत सक्रिय सहकार्य रहेको थियो । उक्त दुईदिने सम्मेलन यहि वैशाख २७ र २८ गते सम्पन्न भएको थियो । उक्त सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र लिंकन युनिभर्सिटी कलेज अन्तर्गतका बिभिन्न २५ वटा क्याम्पसका प्रमुख, शिक्षक, अनुसन्धानकर्ता तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि एवम्    वक्ता त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. केशरजंग बराल हुनुहुन्थ्यो । उहाँले उच्च शिक्षामा गुणस्तर अभिवृद्धि गर्न शिक्षण प्रणालीमा नवीनता, शैक्षिक संस्थाहरूमा राजनीतिक हस्तक्षेपको अन्त्य र अनुसन्धानलाई शिक्षा प्रणालीको मूल धारमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको दोस्रो सत्र सुरु हुनु अगाडी बिएड तेस्रो वर्षका छात्राहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । साथै उक्त समारोहमा उपस्थिति स्थानीय तहका प्रतिनिधिहरू र अतिथि वक्ताहरूले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
सम्मेलनमा चार जना प्रमुख वक्ताहरू (Keynote Speakers), पाँच जना प्लेनरी वक्ताहरू (Plenary Speakers), एकवटा प्यानल छलफलसहित विभिन्न सत्रहरूमा २८ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । प्रस्तुत गरिएका कार्यपत्रहरू शिक्षण विधि, अनुसन्धान प्रक्रिया, नेतृत्व विकास, मानव संसाधन व्यवस्थापन, भाषा नीति, सूचना प्रविधिको प्रयोग, सामाजिक व्यवहार र स्थानीय सरकारका शैक्षिक पहलका विविध आयामहरूमा आधारित थिए ।
पहिलो दिनको कार्यपत्र सत्रमा प्रा. डा. प्रदीप चन्द्र गौतमले “नेतृत्व र प्रशासनमा गुणस्तरका पक्षहरू” विषयमा प्रस्तुति दिनुभयो भने प्रा. डा. दीपक बहादुर भण्डारीले मानव संसाधन विकास र अनुसन्धानको अन्तरसम्बन्धबारे चर्चा गर्नुभयो । नारायण प्रसाद भण्डारीले अनुसन्धान विधिका विधिहरू र त्यस्ता विधिहरू उच्च शिक्षामा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत गरेको कार्यपत्र सहभागीहरूका लागि उपयोगी सिद्ध भयो ।
त्यसैगरी, पहिलो दिनको प्यानल छलफल कार्यक्रमका सहजकर्ता एवम् प्लेनरी वक्ता विनोद न्यौपानेले विद्यालय शिक्षा शिक्षणमा विद्यार्थी र अभिभावकहरूको अंग्रेजी भाषाप्रतिको मोहले सिकाई, पढाउदा सिर्जित चुनौति र त्यसले कालान्तरमा नेपाली भाषा, धर्म संस्कार, संस्कृतिमा पार्ने असरका बारेमा प्रस्तुत गर्नु भयो । निष्कर्षमा अनुसन्धानले मातृभाषामा बालबालिकाहरू पोख्न हुँदा दोस्रो भाषा सिक्न सहज हुने देखाएको हुँदा मातृभाषा सिक्न सिकाउनमा कञ्जुस्याइँ गर्नु नपर्ने निष्कर्ष निकालिएको जानकारी न्यौपानेले दिनुभयो ।
विनोद न्यौपानेले डा. नानीबाबु घिमिरे, डा. बसन्त कँडेल, भूमिराज पण्डित र उत्तम बसेलले शिक्षामा भाषा नीतिको असर, शिक्षण अभ्यासमा मातृभाषाको प्रयोग, र बहुभाषिकता सम्बन्धी नीतिगत पक्षबारे विविध कोणबाट विचार प्रस्तुत गर्नुभयो । सहभागीहरूमाझ यस छलफलले भाषा र शिक्षाबीचको सम्बन्धप्रति गहिरो बहस सिर्जना गर्‍यो । साथै, छलफलले मातृभाषाको प्रयोग, नीति निर्माणमा पारदर्शिता, स्थानीय आवश्यकता अनुसार पाठ्यक्रम निर्माण, र उच्च शिक्षालाई स्थानीय पूर्वाधार तथा सन्दर्भसँग समायोजन गर्नुपर्ने निष्कर्ष निकाल्यो ।
सम्मेलनको दोस्रो दिनमा प्रमुख वक्ताका रूपमा उपस्थित सह-प्रा. डा.

नवराज न्यौपानेले “शिक्षामा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको भूमिका” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले प्रविधिको द्रुत विकाससँगै शिक्षण सिकाइ पद्धतिमा आएका नवीन परिवर्तनहरूबारे जानकारी गराउँदै शिक्षणमा डिजिटल उपकरणहरूको प्रयोग, अनलाइन शिक्षाको पहुँच र प्रभावबारे विश्लेषण गर्नुभयो।
त्यसैगरी, प्लेनरी सत्रमा उप–प्राध्यापक जंगबहादुर हमालले पूँजी बजारमा लगानी निर्णय र त्यसमा मनोवैज्ञानिक पक्षहरूको प्रभावबारेको अध्ययन प्रस्तुत गर्नुभयो । साथैं सोहि सत्रमा डा. बसन्त कँडेलले स्थानीय सरकारका भाषानीति, व्यवहार र त्यसले शिक्षा प्रणालीमा पारेको प्रभावको विश्लेषण गर्नुभयो । यी सत्रहरूबाट अनुसन्धानको विविध विषयहरूमा जानकारीमूलक र विश्लेषणात्मक बहसहरू भएको देखिन्छ ।
सम्मेलनमा प्रस्तुत भएका २८ वटा कार्यपत्रहरू तीनवटा भिन्न समूहमा विभाजन गरी छलफल गराइएको थियो । प्रत्येक समूहमा एक–एक जनाले सत्र अध्यक्षता गरेका थिए भने सहभागीहरूले कार्यपत्रबारे प्रश्न, टिप्पणी र सुझाव राख्ने अवसर पाएका थिए ।
सम्मेलनको अर्को विशेष पक्ष भनेको मर्स्याङदी बहुमुखी क्याम्पस र गोरखास्थित द्रव्य शाह क्याम्पसबीच सातबुँदे शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्र (MoU) आदानप्रदान हुनु हो । यस सहकार्यबाट दुवै क्याम्पसबीच शैक्षिक, अनुसन्धात्मक र प्रशासनिक कार्यहरूमा आपसी सहयोग हुने अपेक्षा गरिएको छ ।
आयोजक संस्थाका क्याम्पस प्रमुख हरिबाबु थापाका अनुसार यो सम्मेलनले लमजुङ जिल्ला मात्र नभई गण्डकी प्रदेशकै शैक्षिक क्षेत्रमा नयाँ उत्साह र जागरण ल्याएको छ । उहाँका अनुसार अनुसन्धान शिक्षाको मेरुदण्ड हो र यस्ता सम्मेलनहरूले क्याम्पसहरूमा अनुसन्धानशील वातावरण निर्माण गर्न मद्दत पुर्‍याउनेछन् । सहायक क्याम्पस प्रमुख पदम राउतले जानकारी दिएअनुसार सम्मेलनमा लमजुङभित्रका करिब ३० जना र जिल्लाबाहिरबाट आएका ५० जना गरी जम्मा ८० जना बढी सहभागिता जनाएका थिए । लेखा अधिकृत डम्बर आलेका अनुसार सम्मेलन सञ्चालनमा करिब सात लाख रुपैयाँ खर्च भएको छ, जसमा दुई लाख विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको हो भने तीन लाख रुपैयाँ स्थानीय निकायहरूले प्रदान गरेका थिए । बाँकी खर्च मर्स्याङदी क्याम्पसले आन्तरिक स्रोतबाट व्यहोरेको हो ।
कार्यक्रम व्यवस्थापन समितिका सदस्य विनोद न्यौपानेले सम्पूर्ण सत्रहरूको सञ्चालन र समन्वय कार्य कुशल रूपमा सम्पन्न गर्नुभएको थियो । सम्मेलनको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले गर्नुभएको थियो । उहाँले “उच्च शिक्षामा अनुसन्धानबाट सिकाइ” विषयक राष्ट्रिय सम्मेलनले शिक्षामा अनुसन्धानलाई केन्द्रमा राख्दै लमजुङ जिल्लालाई अनुसन्धान र उच्च शिक्षाको एक सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा सार्थक पाइला चालेको समेत बताउनु भयो ।
तपाइँको प्रतिक्रिया ।