तिमी र म : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
१. म हूँ आँकुराझैँ तिमी बोटजस्ती
म सिक्का नचल्ने तिमी नोटजस्ती
म फैलन्न कैल्यै बनी झल्ल–झल्ल
हिमाली चुली हौ, तिमी सल्ल–सल्ल
२. पखेटा खुलेको चरीझैँ तिमी छौ
सधैँ चित्त हर्ने परीझैँ तिमी छौ
सधैँ प्यार बग्ने तिमी मूलजस्ती
सधैँ फक्रिएकी तिमी फूलजस्ती
३. भएँ शून्यझैँ मै तिमी हौ हजार
म एकान्त पाखा तिमी हौ बजार
म मैदान जस्तो तिमी हौ उचाई
यता रोगमात्रै तिमी हौ दवाई
४. तिमी भेट्न गर्छे बिहानी हतार
अहो ! लुक्न खोज्ने तिमी बार बार
छ सौन्दर्य भारी त्यहाँ थुप्रिएको
पठाए हुनेथ्यो यता उब्रिएको
५. तिमी बैँशले अग्लिएकी सलक्क
अरुझैँ कहाँ छौ तिमी छौ अलग्ग
ममा छैन केही कुरा खाइलाग्दो
बनेकी कसोरी तिमी लोभ जाग्दो ?
६. छ तारा खसेझैँ त्यहाँ कान्ति कस्तो
सधैँ सौम्यता हो त्यहाँ शान्ति कस्तो
गरौँ के म इष्र्या तिमीतर्फ हेरी
तिमी चाँदनी हौ म कालो अँधेरी
७. अहा ! देश बोक्ने उचो नाम तिम्रो
पुरा विश्व झुक्ने छ सम्मान तिम्रो
म चाहन्न हेर्नै तिमी मैलिएको
सधैँ नै म देखौँ, तिमी फैलिएको
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक