काठमाडौं क्षेत्र -४ मा डा. सुरेन्द्र भण्डारी : सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित चुनावी मैदानमा
कपन अनलाइन
काठमाडौं,फागुन १६।
काठमाडौं क्षेत्र नम्बर–४ मा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै डा. सुरेन्द्र भण्डारी सशक्त रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
उनले आफ्नो मुख्य एजेन्डा ‘सनातन हिन्दु राष्ट्र’ पुनर्स्थापना र ‘राजसंस्था पुनर्स्थापना’लाई बनाएका छन्।
डा. भण्डारीले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएपछि राष्ट्रिय पहिचान कमजोर भएको दाबी गर्दै ऐतिहासिक, सांस्कृतिक र धार्मिक आधारमा नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने तर्क राख्दै आएका छन्। उनका अनुसार राजसंस्थाले राष्ट्रिय एकता, स्थायित्व र सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
काठमाडौं–४ मा यसअघि पनि विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। यसपटक भने हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा लिएर डा. भण्डारी मैदानमा उत्रिएपछि चुनावी बहस थप तातिएको छ। विशेषगरी परम्परागत मतदाता, राजावादी समूह तथा सनातन पक्षधरहरूबीच उनको अभियानले आकर्षण बढाइरहेको बताइएको छ।
उनले घरदैलो, टोल भेटघाट र अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो एजेन्डा स्पष्ट पार्दै आएका छन्। “राष्ट्रको मौलिक पहिचान जोगाउन र स्थायित्वका लागि वैकल्पिक राजनीतिक मार्ग आवश्यक छ,” भन्ने उनको भनाइ छ।
