लाग्छ यस्तो मलाई : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
१. माटो पाटो पथ वन बुटा सम्पदामा म बाचेँ
हावा पानी अनि नद नदी स्वच्छतामा म हासे
द्यौरालीमा सिरसिर हवा साथ नाचेँ रमाई
भर्छिन् धर्ती असल गुणले, लाग्छ यस्तो मलाई
२. खुल्दो लाली वरपर अहा ! हेर्न पाएँ बिहानी
हेरेँ हाँस्दै टहटह सफा टाकुराको जवानी
हेरी–हेरीकन मन भरेँ पालुवाको हँसाई
दिन्छिन् सारा विपुल धरती, लाग्छ यस्तो मलाई
३. आई नाच्छन् चिरबिर चरी प्रात रंगीन यो छ
नाच्ने पालो अनवरत यैँ घामको जूनको छ
नाच्छन् झर्ना झरझर सधैँ पाउँदामा उचाइ
बाँचौँ चिन्दै प्रकृति कृति यी, लाग्छ यस्तो मलाई
४. आए अर्बौ नवशिशु यही सिर्जना गर्भबाट
आए भर्दै वय दिनहरु देखियो ठाँटबाट
आयो बुन्दै पुलकित यहीँ चेतना मुस्कुराई
पाएका छौँ सब महकता, लाग्छ यस्तो मलाई
५. माया भर्ने रहर छ भनी स्नेहका मूल आए
हाँसो छर्ने रहर छ भनी शारदी पूmल आए
आए भोको हुन नदिन यी फाँट चौडा तराई
पाएका छौँ गजब ममता, लाग्छ यस्तो मलाई
६. यैँ छन् आभामय दिनहरू, शान्तिका रात यैँ छन्
यँै छन् तारागण चहकिला, मित्रका हात यैँ छन्
यैँ छन् खाने मुख अनि यहीँ पाखुराको कमाई
हाम्रो यै हो मन गहन यै, लाग्छ यस्तो मलाई
७. आमा धर्ती सबल रहँदा हुन्छ हाम्रै भलाइ
कोपर्दै छौ किन हरपला ? घाउ नाना बनाई
धर्ती राखे जतनसँग झन् हुन्छ राम्रो बचाई
छाडून् स्वार्थी हुन सब जना, लाग्छ यस्तो मलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।