देउती बज्यै : मनहरि चापागाइँ
कपन अनलाइन
काठमाण्डौ, बैशाख ६।
रत्तनपुरको सिमलगाउँमा प्रभूत भएकी एक पात्र कमलादेबी उर्फ देउती बज्यै । रेडियोमा बिहानी धुन लगाएपछी सुरु हुन्छ उनको दैनिकी घाँस, दाउरा, मेला अनि घरधन्धा । देउती बज्यै नामले कहलिएकी एक बृद्द आमा अझै पनि तन्नेरी झै काम गर्न के कमि मान्थिन र! अन्य लाठे–रोपारको झै मेला पर्मको सारा काम भ्याउथिन । जन्म २००० साल भन्दा अझै अगाडी, त्यो बेला नुहाउने साबुन बजारमा थिएन, माटो, चिप्ले, खरेटो, काउलोले नुहाउनु पथ्र्यो अहिलेको जस्तो साबुन, स्याम्पु बजारमा उत्पादन भएकै थिएन । काउलोको रातो धुलो हुन्थ्यो त्यो नुहाउन पनि काम लाग्थ्यो अनि सेलरोटि बनाउन पनि उत्तिकै काम लाग्ने रहेछ। जङ्गल गएको बेलामा थोर–धेर भेटेको जोहो गर्थिन अनि देउती बज्यै स्नानको लागि त्यहि काउलोको रातो धुलो प्रयोग गर्थिन । लुगामा लगाउने साबुनको पनि प्रयोग थिएन । लुगा सफा बनाउन खंड्कुलोमा खरानी हालेर आगोमा पकाउनु पथ्र्यो । कृषी मुख्य पेशा भएकोले सिजन अनुसारको तरकारी र अन्य चिजबिज रोपेकै हुन्थिन । गाउँमा केही गर्न परे आफ्नो उत्तरदायित्व सम्झेर काम गर्थिन। सुख्खा याम थियो, गाउँमा पानीको अलि हाहाकार नमच्चियोस भनेर गाउले सबै मिलेर कुलो ल्याउने प्रबन्ध मिलाए, उनको सहयोग वयस्कवस्ताको झैँ थियो ।
देउती बज्यैको सानैमा बिहे भयो । माइतीमा भन्दा घरमा अधिक बस्तु थियो, दुःख नहुने कुरै भएन । पहिलेको चलन श्रीमानले खाएको थालमा अलिकति भात बाकी राख्नुपथ्र्यो र श्रीमतीले त्यही श्रीमानले खाएको थालमा नै खाना खानुपर्ने पुरानो चलन थियो । ज्वाईको मेजमनी अलि भिन्न हुनुपथ्र्यो चाहे देउती बज्यैको माईती घरमा होस या नजिकैको कुनै गाउँमा । ज्वाइँलाई बिछौनामा राखेर रात्रीसमयमा गोडामा चिल्लो लाउने चलन उहीँ थियो, दुई दम्पती; देउती बज्यैको माईती गएको बेला परम्परागत मेजमानी कायमै हुन्थ्यो। एता घरमा बस्तु–भाउ अत्याधिक थिए, बिहान सबेरै अर्थात भाले बास्नु भन्दा अगाबै उठ्नुपथ्र्यो ।
कुनै दिन थाकाईले उठ्न ढिलो हुदा, ‘कौवाले ठुङ्दा पनि उठ्दैनन भन्ने वचन सासु–ससुराबाट आउथ्यो। त्यही पनि कुनै बिकराल मनमा नराखी आफ्नो दैनिकीको सुरुवाती गर्थिन । बिहान सबेरै घर कसेर लाउने, पधेराबाट पानी ल्याएर चुलो पोत्ने त दैनिकी नै थियो । त्यती मात्र कहाँ होर पाथी– १० माना कोदो पिन्ने र साँझमा नै चामल कुट्नुपथ्र्यो । बेलुकी माझेको भाडा बिहान चोख्याउने चलन उनको घरमा पनि त्यही थियो । ८–१० माउ भैंसी र दर्जनौ भेडाको जमात थियो देउती बज्यैको गृहस्थमा, तर काम गर्नु परेकोमा कुनै बिस्मात मान्दिनथिन । चिनी खासै बजारमा थिएन आफ्नै बारीमा उत्पादन भएको उखुको सख्खर बनाउथे । घर धन्दा सकेर बस्तुको घाँस खोज्न जङ्गल पस्थिन, निकै बस्तु भएको हुनाले घाँस निकै नै चाहिन्थ्यो । डेरीमा दूध लाने चलन थिएन, बढी भएको दुधलाई जमाएर साझमा मोहि पार्थिन । तेलको बिकल्पमा घ्यु थियो । जङ्गलबाट घाँस ल्याउदा झण्डै दिवा समय हुन लागिसकेको हुन्थ्यो । देवरले पकाएको ढिडो, कतिबेला पाक्यो पत्तो थिएन फेरि पकाए सासू–ससुराले कराउलान भन्ने डर । त्यही चिसो ढिडोमा दिन ब्यतित गर्थिन । खानपिन सकेर घरधन्दा गर्दै गर्दा वस्तुलाई खोलेपानी दिएर जङ्गल चराउन लान ढिलो भईसकेको हुन्छ, एकसुरले काम गर्थिन । देउती बज्यैको गाउँमा खासै पैसा चलाउने चलन थिएन केही चाहिए सामानको साट्टोमा सामान नै दिनुपथ्र्यो । बुबाले सानैमा बिहे गरिदिएपनि श्रीमानबाट कुनै भरथेग थिएन उनलाई । दैनिकी चल्दै थियो, देउती बज्यैको जिबनमा बज्रपात मच्चियो । पहिलो सन्तानको देहावसान भएपनी उनमा पहिलाको जस्तो जाँगर कम हुँदै गयो । दोस्रो सन्तानको पनि उस्तै हालत भयो, जिबनमा केही निर्णय लिन बाध्य हुन लागेकी देउती बज्यैलाई अर्को सन्तानसुख मिल्यो, त्यसपछी भने उनलाई सन्तानबिलापको दिन आएन किनभने उनले निष्पक्ष कर्म गरेकी थिईन । कसैको लोभ–लालच थिएन उनमा । सन्तती हुर्किदै थिए, उनको दैनिकी पनि सोही अनुरुप चल्दै थियो ।
१४ हातको लम्बाई अनि १३ हातको चौडाई भएको बडो घर थियो, बुईकेलमा खानपिनको ब्यबस्था थियो भने बिच तल्लामा शयन कक्ष र पुच्छारको तल्लामा पाउन आउदा बस्ने कोठा थियो। उनको जिबनमा धेरै सबल काम भए, १००० रुपैयामा ल्याएको थोरे भैंसी पनि बेत लाग्यो, पाडो पायो । उमेर अवस्थाले पनि वृद्द हुँदै गएपछी देउती बज्यै एक्दिन बिरामी परिन। गाउँमा एकजना इमान्दार ब्यक्ति थिए, हर्कराम । उनको पनि गोठ बन्धोबस्त कै थियो, देउती बज्यैले भैंसी उनले नसकुन्जेललाई पाल्न दिइन । हर्कराम कहिलेकाँही काठमाडौं आउन परे गोठ देउती बज्यैलाई नै जिम्मा लगाउथे, त्यसैले उनले पनि नाई भन्न सकेनन् । अलि सन्चो भएपछी हर्करामले देउती बज्यैलाई नै फिर्ता दिए । दोस्रो बेतमा पाडी पाएपछी देउती बज्यैले माउ भैंसी बेच्दिईन र त्यो पैसाले घडेरी जोडिन् । बस्तुभाउ फापेको छ भने इश्वरले दिएको भन्दा पनि अधिक हुन्छ भन्ने भनाई सापक्ष भयो । पाडी माउ बने लगत्तै, श्रीमानले भैसी छोरीलाई पठाईदिएछन । उनलाई दिन खासै मन थिएन तर श्रीमानको वचन उलंघन गर्न सकिनन् । त्यतीबेला उनी सोत्तर लिन जङ्गल गएकी थिईन । अरु बस्तु पनि थिए तर अथाहा प्रेम भएको वस्तु भने बिधाई भईसकेकी थिईन् ।
काहिलो छोरो कता–कताबाट कम्युनिज्मको अनुयायीमा लागेको हल्ला गाउँमा मच्चिएपछि, आतंकले उनको घर पनि छोडेन । बेलुकी खानपिन गरेर सुतेको देउती बज्यैको घरमा बिहान उठ्दा एकाएक घरभरी पाउना थिए । जनयुद्दका कमाण्डर उनका छोरा खोज्न आएका रहेछन। करिब ५५–५६ साल तिर कम्युनिस्ट र सेनाको दबदबाले देउती बज्यैको मन आक्रान्त बन्यो, छोरो काठमाडौँ पठाउने निधो गरिन । गाउँमै मास्टर पेसामा आबद्ध गराउने देउती बज्यैको सपना सिनेमाको कथा झै भयो । १–२ महिना फुपुको घरमा बस्न पठाईन तर आफन्तकोमा सधै राख्दा केहि भन्लान भन्ने सोचेर काहिला काठमाडौं स्थानान्तरण भए । त्यतीबेला गाउमा फोन बोक्ने चलन थिएन, कोहि धनाढ्य ब्यक्तीले मात्र प्रयोग गर्थे । ऋषिराम काकाको दोकानमा एउटा ल्यान्डलाईन फोन थियो, कसैको फोन आए गाउँको खबर गर्ने अधिकारीले घर सम्म खबर पु¥याउने काम गर्थे । काठमाडौँको बिरानो ठाउमा एक्लो केटो कसरी बस्यो होला भन्ने कौतुहलता प्रगाढ भएपछी काठमाडौँ आउने निधो गरिन । छोरो न हो माया नहुने कुरै भएन । सकेजती रासन र अन्न बोकेर काठमाडौं लागिन । सडक बाटो थिएन, पैदल ४० किलोमीटर हिडेपछि बल्ल–बल्ल काठमाडौं जाने गाडी भेटिन्थ्यो । छोरोलाई अगाबै गाउँकै मान्छे मार्फत आउन लागेको खबर गरेकी थिईन, काईला छोरा बसपार्कमा कुरिरहेका थिए । रासन सकिना साथ फेरि सक्या जति बोकेर पुग्थिन । यताउता गर्दागर्दै देउती बज्यैलाई दैनिकीमा घाम उदाएदेखि नअस्ताउन्जेल सम्म भ्याई–नभ्याई हुन्थ्यो । चप्पल लगाउने चलन थिएन, माटोले खाएर चरचर फुटेका कुर्कुच्चाले पनि त आराम खोज्थ्यो तर पनि उनी जिबनभर आफ्नै सन्ततीका निमित्त लागि परिरहिन । ६२–६३ को जन–आन्दोलन पछि आक्रान्त कम भयो अनि छोरो गाउँमै फर्कियो । दुःख गरेर कमाएको पैसाले छोरोको बिहे गर्ने देउती बज्यैको सपना थियो । छोरीको पनि आँङन पोलेर बिहे गर्ने धोको पूरा भइसकेको थियो । धुम्धाम साथ काहिला छोराको बिहे गरेपछी देउती बज्यैको रहर पूरा भयो । अहिले बुहारी बिहानीपखको घरधन्दा गर्छिन र खानपिन गराएर गाउँको बिद्यालयमा अध्यापन गराउनछिन । देउती बज्यैको साहारा वस्तु, अनि वस्तुधन्दा मै अझै ब्यस्त हुन्छिन । थोरे भैसीबाट प्राप्त भएको जग्गाको धान हेर्दै मुस्कुराउछिन । छोरा–बुहारी अध्यापन पेशामा ब्यस्थ थिए तर देउती बज्यै बिगतका दुखका दिन स्मरण गर्दै अझै ३–४ माउ बाख्रा र दर्जनौ कुखुराको रेखदेख मै जीवनगुजारा चलाउँछिन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक