अब के गर्लिन् ? बिष्णु उप्रेती (लघुकथा)
कपन अनलाइन
काठमाडौँ, साउन २४।
“आमा, हजुरको मैले पूरा शरीर राम्रो चेक जाँच गरें । अब तपाईंँको शरीरमा धेरै रोगहरुले आक्रमण गरे । तपाईंको तौल पनि धेरै छ । प्रेसर, सुगर देखा पर्याे । दमको पनि सम्भावना छ ।” डाक्टरले चेकजाँचपछि बिमारी महिलालाई भने ।
“हो डाक्टर साब, म निकै बिमारी हुँदै छु । अब मलाई बिसेक पारिदिनु पर्याे ।” बिमारी आमाले भनिन् ।
“म तपाईंलाई निको त पार्छु तर मैले जे जे भन्छु त्यो तपाईंले खुरुखुरु मान्नुपर्छ । यदि मान्नु भएन भने, जतिबेला जे पनि हुन सक्छ । मृत्यु पनि हुन सक्छ । कुंजिएर, पोको परेर बस्नु पर्ने पनि हुन्छ ।”
“जे जे भनेपनि मान्छु डाक्टर साब हजुरले भनेको, म खुसीले बाँच्न पाँऊँ ।”
म तपाईंलाई, ऐले एउटा खुन पातलो पार्ने औषधी मात्र दिन्छु । बाँकी, मैले भनेअनुसार नै गर्नुपर्छ । ध्यान लाएर सुन्नु भन्दै उनले भने, “अबदेखि बिहान पाँचबजे उठ्नू र पचास पटक जोरले ताली बजाउनू । दस पटक, लामो ॐ उच्चारण गर्नू । मनतातो पानीसँग, अमलाको धुलो अलिकति खानू । अनि आधाघन्टा मज्जाले हिड्नू । आफ्नो खाना बनाउने लुगाधुने आफै गर्नू । खाना एक बटुको मात्र बिहान खानू ।बेलुका फल मात्र खानू । दिउसो कहिल्यै नसुत्नू । अनि एकमहिना पछि मलाई भेट्न आउनू हुन्छ ?”
डाक्टर साब, यही कुरा मैले घरमा भन्दा यिनलाई सधैं तितो भयो । मेरो रिस गरेको, मलाई काममा पेलेको । मैले खाएको सुतेको देख्न नसकेको । मेरो खेदो खनेको भनेर मसँग बाझ्ने मान्छे हुन् । म प्रार्थना गर्छु । हजुरको परामर्श यिनले मानून् ।
यिनी रोग मुक्त हुन् । हजुर को जय होस् ।” बिमारीसगै आएका उनका श्रीमानले उठेर हाँस्दै बिदा मागे
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
