सम्भावनाको पहाड : मैले टेकेको मण्डन देउपुर (ध्रुवराज थापा ‘पुरुष’)

सम्भावनाको पहाड :  मैले टेकेको मण्डन देउपुर (ध्रुवराज थापा ‘पुरुष’)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
पदयात्रा क्षेत्रको परिचयः
मण्डन देउपुर नगरपालिका गैरीवीसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१–४ , ६) गा.वि.स गरी सात गा.वि.स मिलेर सम्वत २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशनपछि अस्तित्वमा आएको हो । यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालीका, पश्चिममा भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ । मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यहाँको कुल जनसंख्या ३०,३८१ रहेको छ जसमा पुरुष १४,८५३ र महिला १५,५२८ रहेका छन् साथै लैङ्गिक अनुपात ९५.६५ र जनघनत्व ३४१ प्रति वर्ग कि.मी. रहेको छ ।
यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरूको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरूले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरू तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरू रहेका छन् । मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरूको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरूलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरूको न्यूनीकरण गर्ने क्रममा योजनाबद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ । (स्रोतःपालिकाको वेभसाईड)
यात्रा भनेपछि हुरुक्कै हुने म स्रष्टा पदयात्राको ९०औँ श्रृङ्खला काभ्रे जिल्लाको मन्डन देउपुर नगरपलिकाको भ्रमणमा जाँदैछ भन्ने थाहा सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि यसपटकको पदयात्रामा जसरी पनि सहभागी हुने निधो गरेँ । पहिलो पटक श्रष्टा पदयात्रामा सहभागी हुने आफनो मानसीक निर्णयले मनमा अनेकौँ कुराहरूको खुल्दुली चलीरहेको थियो । को सङ्ग सम्पर्क राखौँ, कसलाई भनौ भन्ने निर्णय लिन सकेको थिइन । हुन त गत ्वर्ष २०८० सालको फागुन महिनामा स्याङ्जाको फापरथुममा भएको बृहत् साहित्यिक सम्मेलनमा आदरणीय शितल गिरी र परशुराम परासर सरसङ्ग परिचय हुँदा स्रष्टा पदयात्राको चर्चा चलको थियो । त्यतिनै बेला मैले सामान्य जानकारी लिएपछि मिलाएर स्रष्टा पदयात्रामा सहभागी हुने बिचार गरेको थिएँ ।
स्रष्टा पदयात्रामा सहभागीहुनेहरूको नामावली फेसबुक पेजमा पोष्ट भएपछि मैले हाम्रो लघुकथा केन्द्रकी आजीवन सदस्य लघुकथाकार एन्जल निलुलाई म पनि जान्छु भनेपछि वहाँले नाम टिपाई दिनुभयो । पछि लिष्टमा मेरो पनि नाम प्रकाशन भएपछि मलाई खुसी लाग्यो । पहिलो पटक जाँदैछु त्यहाँको नियम के हो ? साथीभाई को कस्ता हुने हुन् ? भन्ने लागेको थियो । स्रष्टा पदयात्रामा जानेहरूले फेसबुकमा राखेका फोटाहरूमा ड्रेस पनि लगाएको देखेको थिएँ । ड्रेस कहाँ पाईँने हो त्यो पनि थाहा थिएन । यो सबै कुराको जानकारी मैले नजिकको साथी एञ्जल नीलुबाटै लिने निधो गरेँ र वहाँलाई सम्पर्क गरेँ । वहाँले त्यस्तो केही अप्ठेरो हुदैँन, सबै तपाईले चिनेका साथी हुनुहुन्छ, धेरै रमाईलो हुुन्छ जाउँ भन्नुभयो । वहाँले ड्रेस पाईने ठाउँ मलाई थाहा छ, त्यसको लागी म तपाईँलाई सहयोग गर्छु भन्नु भएपछि म ढुक्क भएँ । माघ ३ गते विहिबार भृकुटी मण्डपमा ड्रेस किन्न जाने निधो गरियो ।
घरमा नाती नातीनालाई फनपार्क पनि घुमाउन लैजाने र ड्र्ेस पनि किन्ने गरी योजना बनाई श्रीमती, छोरी र दुई नाती नातीनीका साथ हामी फनपार्क घुम्दै थियौँ त्यति बेला एञ्जल नीलुको फोन आयो । मैले मेरी श्रीमतीलाई एञ्जलको फोन आएको जानकारी गराएँ । फनपार्क सबै घुमी नसकीएकोले हामी बच्चाहरूलाई घुमाउादै गर्छौ तपाईहरू गएर किनेर ल्याउनु भनेर श्रीमतीले भनेकोले म बाहिर निस्किएँ । फनपार्कको गेटमा एञ्जलाई भेटीयो । वहाँले मलाई भृकुटीमण्डपमा पहिले किन्ने गरेको पसलमा लैजानु भयो तर त्यहाँ पदयात्राको ड्रेसको ट्याकसुट सकिएको रहेछ । अरु आठ–दशवटा पसलमा पनि खोजियो तर नपाए पछि हामी त्यसै फर्कियौँ । नीलुले भन्नुभयो एकदुई पटकलाई माफी हुन्छ पछि किन्नु भन्नुभयो । भोलि स्रष्टा पदयात्रामा भेट्ने कुराभयो । त्यसपछि हामी सबैजना फनपार्कको गेटमा भेटियौँ, नीलु आफ्नो घर जानुभयो म श्रीमती, छोरी र नाती नातीना लिएर घर फर्कियौँ ।
२०८१ साल माघ ४ गते विहिबार म सदाझैँ विहानै ४ः३०मा उठेँ । आफनो नित्यकर्म सकेर चिया बिस्कुट खाएँ । त्यसपछि स्रष्टा पदयात्राको ९०औँ श्रृखलाको लगि बन्दोवस्तीका सामान राखेका व्याग बोकेर म ७ बजे घरबाट निस्किएँ । कपन जोरधारादेखि आधाघण्टाको विहानी हिँडाइले चाबहिल पुग्ने योजनाले अगाडी बढेँ । मण्डनसम्म बसको ब्यवस्था गरिएको थियो । बस भाडा प्रति व्यक्ति रु१४०० बुझउनु पर्ने जानकारी गराइएको थियो । हामीलाई उपलब्ध गराईएको बसको रुटमा ७ः३०मा जोरपाटी ७ः४०मा चाबहिल पिपलबोटमा गाडी आईपुग्ने कुरा थियो । म निर्धारित समयभन्दा १० मिनेट अगाडि नै त्यहाँ पुगेँ । म चाबहिल पिपलबोटमा पुग्दा एकजना साथीलाई भेटेँ । हामी अन्य साथीलाई कुरेर बस्यौँ । एकैक्षणमा एञ्जल नीलु आउनु भयो त्यसपछि दुर्गाभवानी भट्ट आईपुग्नुभयो । लगत्तै जयराम बिँडारी र रुबी सत्याल आउनु भयो । तोकिएको समयमा गाडी नआएपछि पर्शुराम परासरजीलाई फोन गर्दा केही समय लाग्ने बताएपछि हामी नजिकैको चिया पसलमा गएर कालो चिया खायौँ । करिब ७ः१५मा गाडी आइपुग्यो हामी गन्तव्यतिर लाग्यौँ । यात्रामा साहित्यकारहरू शीतल गिरी, डा.बालचन्द्र मिश्र, डा.शशी थापा पण्डित, परशुराम परासर, शारदा पराजुली, गंगाप्रसाद भेटवाल, विष्णुप्रसाद शर्मा, एञ्जल निलु, शान्ति सापकोटा, नवराज रिजाल, दीपक भेटवाल, शोभा पोखरेल, हरिबोल, काफ्ले, दुर्गाभवानी भट्ट, अनिता कोईराला, सुवास डुँगेल, जयराम बिँडारी, रुबि सत्याल र म स्वयं ध्रुवराज थापा गरी १९ जना सहभागी थियौँ ।
त्यसपछि कोटेश्वर, जडिबुटी, गठ्ठाघरबाट केही साथीहरू चढ्नुभयो । यसरी १९ जना साहित्यकारको टोली चढेको गाडी मन्डनको लागि अगाडी बढ्यो । करिब ८ः३० बजे हामी नगरकोट पुगेर चिया बिश्रामको लागी गाडीबाट ओर्लीयौँ । करिव ९ बजेतिर हामी मन्डनको लागि त्यहाँबाट प्रस्थान गर्यौँ । अधाघण्टाको यात्रापछि त्यहाँको व्यवस्थापन अनुसार महाकाली माध्यमिक विद्यालयका प्रधानध्यपक हाम्रा स्वागतका लागि बाटो हेरिरहनु भएको रहेछ । वहाँको् निर्देशन अनसार हामी मन्डनजाने मूलबाटो छोडेर माथिल्लो बाटोतिर लाग्यौँ । पाँचमिनेट पछि हामी गन्तव्य नाल्दुम नजिकको गुरुङ् गाउँमा पुग्यौँ । हामी सबै गाडीबाट ओर्लियौँ ।
त्यहाँ स्थानीय विकास गुरुङ्ले सञ्चालन गर्नुभएको होमस्टेमा स्वागत, रचना वाचन र खानाको कार्यक्रमको तय भएको रहेछ । साहित्यकारको ु टोलीलाई होमस्टे व्यवस्थापन समितिका अध्यक्ष विकास गरुङ र देवराज गुरुङले टिका र खादा लगाएर स्वगत गर्नुभयो । त्यसपछि त्यहाँ लहरै राखिइको प्लाष्टिकको मेचमा बस्यौँ । त्यसपछि परिचयात्मक कार्यक्रम सुरुभयो । नगर प्रवक्ता पुरुर्षोत्तम बजगाईँले पदयात्री सह्त्यिकारलाई स्वागत गर्दै स्रष्टाहरूले समग्र नगरको अवलोकन गरी नगरको वास्तविक चित्रण साहित्य मार्फत आउने विश्वास व्यक्त गर्नुभयो । द्वारपालेश्वर माध्यमिक विद्यालयका अध्यक्ष शिवप्रसाद बजगाईँ रसदस्य रेनु बजगाइले नगरकोटमा आउने पर्यटकहरूलाई मण्डनसम्म कसरी झार्ने हो त्यसवारेमा रणनीति तयार पार्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
पहिलो चरणको रचना वाचन कार्यक्रममा डा. शशी थापा पण्डितले ‘साहिँली रोकायाको सपना र भरिएको डोको’ शीर्षकको मनछुने मार्मिक रचना सुनाउनु भयो । एञ्जल निलुले मुक्तकका साथै ‘रुँदैछिन आमा’ नामको कविता वचन गनूभयो । त्यसैगरी शान्ति सापकोटाले शार्दूलविक्रिडि छन्दमा ‘नेपाल सर्वोपरि’ शीर्षकको रचना वचन गर्नुभयो । त्यसैगरी रुबी सत्यालले ‘सुन्य युग’, शीतल गिरीले ‘कविता’ नामको ब्यङ्ग कविता वाचन गर्नुभयो भने जयराम बिडारीले चारवटा मुक्तक सुनाउनु भयो । उक्त अवसरमा साहित्यिक पत्रकार तथा प्रधानाध्यापक नवराज रिजालले ‘भोक’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । त्यसैगरी स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरीले ‘कविता’ शीर्षकको कविता वाचन गर्नुभयो भने जयराम बिडारीले चारवटा मुक्तक सुनाउनु भएको थियो । पहिलोचरणको रचना वाचन कार्यक्रम दुर्गाभवानी भट्टको संयोजनमा सम्पन्न भयो ।
रचना वाचनको कर्यक्रमपछि सोही होमस्टेमा हाम्रा लगि व्यवस्था गर्रिको खाना खायौँ । दाल, भात, तरकारी र अचार सहितको स्वादीलो खाना पछि संयुक्त फोटो खिच्ने काम भयो । उत्तरपट्टी छर्लङ्ग नजिचै देखिने हिमालय श्रङ्खला र स्थानीय बारीमा पहेँलपूर तोरीबारीले हामी स्रष्टाहरूको मन लोभ्याइदियो र केही फोटहरू खिचियो । त्यसपछि अब हामी पैदल नै हिँडेर मण्डनलाई नजिकबाट बुझ्ने प्रयत्न गर्यौँ । हामीले हाम्रो गाडीलाई वडा नं. ३ को वडा कार्यालयमा लगेर राख्न चालकलाई भनिएको थियो ।
स्रष्टा पदयात्रीहरूलाई पथप्रदर्शको रुपमा रेनु बजगाईँले हामीलाई स्थानीय गरुङ् गाउँमा रहेकोे मन्दिरको अवलोकन गारउनुका साथै त्यस मन्दिरको केही तथ्यहरू प्नि बताउनु भयो आफनो जिम्मेवारी निभाउनु भएको थियो । महाकाली मा.वि.का प्रधानाध्यपक पुष्पराम सापकोटा सरको मोटरसाईकल भएको हुनाले हामी पदयात्रीलाई दोबाटो दोबाटोमा बसेर पदमार्ग देखाउन सहयोग गरिरहनु भएको थियो । हामी उत्सुकता मेटाउँदै प्राकृतिक छटामा रमाउँदै जानकारी लिदै भवनडाँडा स्थित द्वारपालेश्वर माध्यमिक विद्यालयमा पुग्यौँ । उक्त विद्यालयका प्रधानाध्यापक बलेन्द्र भट्टले स्रष्टा पदयात्रीलाई टिका र खादा लगाएर स्वागत गर्नुभयो । त्यसपछि हाम्रो यात्रा अगाडि बढ्यो । करिब दश मिनेटको ओरालो झरेपछि हामी प्राचिन चट्टानमा रहेको कालीदेवी र सेतीदेवीको मन्दिरमा पुग्यौँ । हाम्रो सहयोगी बजगाईँजीले कालीदेवीलाई बली चढाइने तर सेतीदेवीलाई बली नचढ्ने बताउनु भयो । दुबै देवी एकै स्थानमा भएकोले कालीदेवीलाई दिएको बलीको छिटा सेतीदेवीलाई नपरोस् भनेर बीचमा सानो पर्खाल (बार) लगाईएको रहेछ । वहाँका अनुसार स्थानीयहरूले यो मन्दिरमा परापूर्वकालदेखिनै पूजा अर्चना गर्दै आएका थिए । हालै त्यसै क्षेत्रमा सप्ताहा लगाएर एउटा प्यागोडा शैलीको मन्दिर पनि निर्माण गरिएको रहेछ । तर मन्दिर पिल्लर तथा गारो लगाएर बनाईएकोले मन्दिमा हुनुपर्ने मौलिकता भने पाईएन । तल्लो गाउँवस्तीबाट मन्दिर आउनकोलागी हाल परम्परागत पदमार्ग हटाएर करिव तीन फिट फराकिलो ढलानबाटो बनाईको रहेछ, जसले त्यस क्षेत्रको मौलिकतालाई नष्ट गरेको छ । वास्तवमा बरु ढुँगाको व्यवस्थित सिँढी बनाईदिएको भए परम्परागत पदमार्गको संरक्षण हुनुको साथै छुट्टै पहिचान पनि कायम हुन सक्ने थियो ।
हाम्रो ओरालो झर्ने यात्रा फेरि सुरुभयो । ढलाने बाटो हुँदै तल पाँचमिनेट झरेपछि अर्को ठूलो ग्राभेल गरिएको फराकिलो बाटो भेटियो । यो बाटोमण्डन देउपुरका मोटर नाला हुँदै बनेपा पनि निस्कदो रहेछ । हामी अगाडी बढ्दै जाँदा खुलेको मौसमको मनोरम प्राकृतिक छटाको रसास्वादन गदै स्थानीय मानीसको रहन सहन र गतिविधि नियाल्दै अघि बढ्यौँ । बाटो छेउका गुरुङ्सेनीहरूले मुलाको सिन्कि बनाएको पनि देख्यौ । मुलाको सिन्कि कसरी बनाउनुहुन्छ भनेर मैले एकजना दिदीलाई सोधेँ । उहाँले मुलाई पखालेर सिङ्गै एउटा भाँडोमा खाँद्ने र पनि हालेर राख्ने करिव तीन चार दिनमा निकालेर सानो सानो टुक्राबनाएर सुकाएर बनाउने कुरा बताउनु भयो । यतिबोला हामी वडा नं.३को वडा कार्यालय नजिक आईपुग्यौ । हाम्रो गाडी पनि त्यहिँ आएर बसेको रहेछ ।
वडा नं. ३ को वडा कार्यालयको प्राङ्गणमा कालोकोट पाईन्ट, ढाकाटोपी लगाएको मोटोघाटो एकजना भद्रभलाद्मी देखापर्नु भयो । मैले वडा अध्यक्ष ठानेको थिएँ तर वहाँ स्थानीय समाजसेवी तथा साहित्यकार हुनुहुँदो रहेछ । वहाँको नाम कश्यपप्रसाद पौडेल रहेछ । वहाँ सम्भवतः हामी आउने थाहापाएर हामीलाई कुरी रहनु भएको रहेछ । हामीलाई वहाँले आफ्नो दोस्रो कथासङ्ग्रह ‘आरनको आगो’ उपहार स्वरुप दिनुभयो । पछि कुरागर्दै जाँदा वहाँ मेरो धेरैपुरानो चिरपरिचित मित्र तथा साहित्यकार गोपाल पौडेको भाई पो हुनुहुदो रहेछ ! त्यसपछि वहाँसंग बिदा भएर हामीले पुनः आफ्नो यात्रा अगाडी बढायौँ । हाम्रो गाडीलाई महाकाली मा.वि. नजिकको सडकमा लगेर राख्न महाकाली मा.वि.का प्रधानाध्यापले चालकलाई सल्लाह दिनुभयोँ ।
करिव आधाघण्टाको ओरालोबाटो पछि हामी त्यहाँको प्रसिद्ध महाकाली मन्दिरमा पुग्यौँ । महाकाली मन्दिरको वारेमा हामीलाई जानकारी गराउन
त्यहाका पुजारी श्रृषीराम सापकोटा हामीलाई कुरेर बाटोमा बस्नु भएको थियो । जङ्गलको बिचमा सुनसान स्थानमा नवनिर्मित प्यागोडा शैलीको मन्दिर रहेछ तर मन्दिमा कुनै मानव निर्मित सानो आकारको मूर्ति रहेको छ । स्थनीयहरूको कुलपूजा पनि यसै मन्दिर परिसरमा हुने रहेछ । यो वि.सं. २०१४ सालमा निर्माण भएको हो सुरुमा यस क्षेत्रमा एउटा महाकाली देवीको मन्दिर, एउटा शिवलिङ्ग र नजिकै एउटा पाटी रहको कुरा सापकोटाले जानकारी दिनुभयो । २०१७ सालमा महाकाली विद्यालयको स्थापना भई पठन यहिँबाट सुरु भएको कुरा वहाँले हामीलाई बताउनुभयो । प्रमाणको लागि मिति लेखिएको घण्टा मन्दिरभित्र रहेकोछ पनि भन्नुभयो । पछि २०२७÷२८ सालमा मन्दिर भत्कन सुरुगरेको र २०६० सालमा तात्कालिन जिल्ला विकास समितिको सहयोगमा एउटा मन्दिर बनेको तर उक्त मन्दिर पनि भूकम्पका कारण क्षति भएपछि प्रदेश बागमती प्रदेश सरकारको ६० लाखको सहयोगमा २०७७ सालमा यो प्यागोडा शैलीको मन्दिर निर्माण भएको कुरा सापकोटाले हामीलाई बताउनु भयो ।

वि.सं.२०१४ अगाडी अलि तलतिर खोल्सामा रहेको ठूलो पत्थर छेउमा एउटा शीलालाई पूर्खाहरूले देवी मानेर पुज्दै आएको किंवदन्ति पनि वहाँले हामीलाई सुनाउनु भयो । पछि यस स्थानमा मन्दिर बनेपछि उक्त शीलालाई यसै मन्दिरमा स्थापना गरिएको कुरा बताउनु भयो तर हामीले उक्त शीला खोई हामीलाई देखाउनु होस् त भन्दा वहाँले देखाउन सक्नु भएन । यस्तो ऐतिहासीक महङ्खव बोकेका धार्मीक स्थलहरूको यथोचित व्यवस्थापन हुन सकेको देखिएन । मन्दिरमा विशेष पूजा नहुने र स्रोत पनि नभएको तर यस महाकाली मन्दिरमा विशेषगरी तीज, कृष्णअष्टमी, शिवरात्री र राम नवमीमा मेला लाग्ने बताउनु भयो । पहिला महाकाली देवलिाई बली दिने प्रचलन भएपनि यो नयाँ मन्दिरको निर्माण पछि भित्र बली नदीइ मन्दिर परिसर बहिरमात्र बलीदिने गरिएको पनि सापकोटाले हामीलाई बताउनुभयो ।
त्यसपछि हाम्रो पदयात्राको टोली आधाघन्टाको पैदलयात्रा पछि कुन्ता जाने पिच सडकमा पुग्यो । हामी गाडी चढ्यौँ । गाडीले ५ मिनेटमा हामीलाई महाकाली मा.वि. नजिक लगेर ओराल्यो । अबको हाम्रो रचना वाचनको दोस्रो चरणको कार्यक्रम यसै विद्यालयमा हुने तय भएको थियो ।
पदयात्रा टोली विद्यालय प्रवेष सङ्गै शिक्षक तथा विद्यार्थीले स्रष्टाहरूलाई स्वागत गर्नुभयो । मञ्च र माईकको व्यवस्था सङ्गै विद्यालयका प्रअ तथा हाम्रो दिनभरीका सहयात्री पुष्पराम सापकोटाले हामीलाई फूलमालाले स्वागत गर्नुभयो । दोस्रो चरणको रचना वचनको कार्यक्रम वडा नम्बर ४ स्थित महाकाली माविमा पदयात्रा टोलीका महासचिव तथा साहित्यकार गङ्गाप्रसाद भेट्वालले सहजीकरण गर्नुभयो । उक्त अवसरमा सोही विद्यालयका विद्यार्थीहरूले पनि आआफ्नो रचना वचन गरेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा मानवी न्यौपाने द्वारा ‘साथी तिमी हौ मेरो सहारा’ शीर्षकीय कविता वाचन गरेकी थिइन् भने कक्षा १२ मा अध्ययनरत नमूना न्यौपानेले ‘महिनावारी’ शीर्षकको चेतनामूलक कविता सुनाउँदा वै मन्त्रमुग्ध भएका थिए । च्यसैगर्रीे गरी कक्षा १२ की छात्रा मनिषा गौतमको समसामयिक परिस्थितिलाई प्रतिनिधित्व गर्ने हाम्रो गाउँ’ कविता पनि निकै राम्रो थियो । त्यसैक्रममा बालकवि शुष्मा परियारले रुँदै गरेकी नेपाल आमामा समर्पित कविता सुनाइन् भने कक्षा ९ की छात्रा सामाजिक रुपमा एक्लो हुँदै गएको समग्र नेपालको परिस्थितिलाई उजागर गर्दै ‘परदेशीएका दाजुभाई’ र सञ्जिता रम्तेलले ‘सेवक नेपाल मेरो परिवार’ तथा रोशनी बोहराले देउडा गाएर माहौलमा रौनकता थपेकी थिइन् ।
त्यसपछि पदयात्रीका तर्फबाट छन्दकवि परशुराम पराशरले मालिनी छन्दमा आधारित ‘मेरो देश शीर्षकको कविता र अनिता कोइरालाले ‘एयरफोन’ शीर्षकको लघुकथा सुनाउनु भयो । त्यसै क्रममा साहित्यकार शान्ति सापकोटाले विद्यार्थीहरूलाई कथा, कविता तथा अन्य साहित्यिक गतिविधिलाई सक्रिय पार्न प्रधानाध्यापक मार्फत आफूलाई सम्पर्क गर्न सुझाउदिँदै विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गर्नुभयो । स्रष्टा शारदा पराजुलीले ‘मोबाइल’शीर्षकमा बालकविता र डा. बालचन्द्र मिश्रद्वारा मिठो गीत लयहालेर गाउनुभयो । लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ले विद्यार्थीहरूलाई चेतनामूलक ‘पत्रुखाना’ लघुकथा सुनाउनु भयो । सोही अवसरमा वडा नम्बर ४ की वडा सदस्य सरस्वती विश्वकर्माले स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी एउटा वृहद प्रतिवेदन निर्माण गर्ने उद्देश्यले आफ्नो स्थानीय निकायमा पदार्पण गर्नु भएका स्रष्टा पदयात्रीहरू लाई स्वागत गर्न पाउनु समग्र वडा लगायत नगरपालिकाकै लागि पनि गर्वको विषय रहेको बताउनुभयो । वहाँले यस्ता सिर्जनशील कर्मले मण्डन देउपुर क्षेत्रको दर्पण प्रस्तुत हुने विचार व्यक्त गर्नुभयो । सो समारोहमा पदयात्रा टोलीमा सामेल भएका नवप्रज्ञापन साहित्यिक मासिक पत्रिकाका सम्पादक नवराज रिजालद्वार्रा नवप्रज्ञापन, सम्यक सन्देशका सम्पादक दीपक भेटुवाल ‘दीपसागर’ द्वारा सम्यक् संदेश, अभिनव साहित्य समाजका सचिव परशुराम पराशरद्वारा ‘अभिनव प्रवाह’, स्रष्टा पदयात्रा नेपालकी सचिव सारदा पराजुलीद्वारा बालसाहित्यिक पत्रिका ‘मेरी पुतली’ तथा साहित्यकार ध्रुवराज थापा ‘पुरुष’द्वारा ‘सपनाको पहाड़’ लघुकथासङ्ग्रह महाकाली माविको पुस्तकालयका लागि प्रधानाध्यापक पुष्पराम सापकोटालाइ प्रदान गरिएको थियो । उक्त अवसरमा स्थानीय समाजसेवी ऋषिराम सापकोटाद्वारा चैनपुरका विषयमा प्रकाश पारेका थिए । विद्यालयका प्रधानाध्यापक पुष्पराम सापकोटाको सभापतित्वमा सम्पन्न सो समारोहमा सापकोटाले साहित्यकारहरूको प्रशिक्षण सहितको रचना वाचनले विद्यार्थीहरूका सिर्जनशीलतामा सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गर्दै साहित्यको माध्यमबाट मण्डन देउपुरको भाषा, कला, साहित्यको प्रचार प्रसारमा ठूलो योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको समाप्ति पछि साँझ पर्नै लागेकोले हामी कुन्ताबेँसी तिर बसमा लाग्यौँ । हाम्रो पछिपछि प्रअ पुष्पराम सापकोटा सर वासको व्यवस्थापनको लागि आउनुभयो । कुन्तबेँसी चोकमा पुगेर हाम्रो बस रोकियो । हामी ओर्लियौँ । सापकोटा सर होटलमा कुरा गर्न जानुभयो । वासको बन्दोवस्त भएपछि वहाँले बोलाउनु भयो र आफू भोलिबिहानै ६ बजे आउने बाचा गरेर आफ्नो घरतिर लाग्नुभयो । आजको रात हाम्रै खर्चमा खाने वस्ने जिम्मेवारी रहेको थियो । दिभरीको थकानका करण खाना खाएर मिठो निँदमा परियो ।
भोलिपल्ट माघ ५ गते विहानै उठेर नित्यकर्म सकेर हामी चिया खाएर ६ बजे पदयात्रामा निस्कनको लगि सबैजना तयारी भयौँ । उपप्रमुख विष्णुमणी नेपाल दोश्रो दिन बिहान सबेरै पदयात्री हामी बसेको होटेलसम्म आएर तपाईँहरू सँग–सँगै पदयात्रा गर्ने उत्कट चाहना हुँदा हुँदै पनि वैदेशिक भ्रमणको चटारोले गर्दा साथ दिन नपाएकोमा दुःख व्यक्त गर्नुभयो साथै पदकयात्राको सफलताको शुभकामना दिनुभयो । एकैछिनमा हाम्रो पथप्रर्दशको रुपमा भूमिका निभाउनु भएका पुष्पराम सर आईपुग्नु भयो । हामी पाँच मिनेट पैदल हिँडेपछि स्थानीय पेट्रोल पम्पमा राखिएको हाम्रो गाडीमा चढ्यौँ र अगाडि बढ्यौँ । हिजोको पदयात्रा मण्डन तर्फको थियोभने आजको यात्रा देउपुरतर्फको हुने भनिएको थियो । करिव आधा घण्टाको यात्रापछि हामी देउपुको कोदारी भनिने दनुवार वस्तीको अवलोकन गर्न बसबाट ओर्लियौँ । दनुवारको मुख्य पेशा माछामार्ने भनिएता पनि यहाँका दनुवारहरूको पेशा कृषि तथा ज्याला मजदुरी रहेको पाईयो । यहाँका दनुवारहरूको आफ्नै दनुवार मातृभाषा बोल्ने रहेछन् । यहाँ करिव ५००को सङ्ख्यामा दुनुवारहरू वसोवास गरेको जानकारी एक स्थानीय दनुवारले हामीलाई बताउनुभयो । अधिकांश दनुवारहरूले आफूलाई दनुवार भन्दा पनि राई भन्न मन पराएको र नागरिकतामा समेत राई लेखेको जनक राई (दनुवार)ले बताउनुभयो ।
७२को भूकम्प पछि भत्किएका उनीहरूका घरहरू विभिन्न संस्थाहरूले पक्की बनाइदिएको पाईयो ।
दनुवार वस्तस्को अवलोकन पछि हामी गाडी चढेर गैह्रीबिसौनाको बरको आकर्षक चौतारो निर ओर्लियौँ । साथीहरूसङ्ग चौतारोमा बसेर तस्वीर खिच्ने काम भयो स्थानीयसङ्ग त्यस क्षेत्रको सामान्य जानकारी पनि लिइयो । त्यपछि बाटोको छेवैमा अवस्थित ब्रम्हायणी मा.वि.मा सष्टाहरूलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद न्यौपाने, प्रअ शिवराम सापकोटा र शिक्षकहरूले स्वागत गर्नुभयो । उक्त अवसरमा सहयात्री गंगाप्रसाद भेटवाल र डा. बालचन्द्र मिश्र सरले पदयात्राको उद्देश्य प्रष्ट पार्नुभयो ।
त्यसपछि हाम्रो पैदलयात्रा पश्चिम तिरको वडा नं. ६ स्थित डोटेल वस्तीको अवलोकन तर्फ अगाडी बढ्यो । अबको यात्रामा हामीलाई सहजीकरण गर्न स्थानीय वासी बयोवृद्ध भूमिनन्द डोटेल र युवा जयराम डोटेल (डोटेल वस्तीका वासिन्दा)का साथै ब्रम्हायणी मा.वि.का प्रअ शिवराम सापकोटा थपिनुभयो । डोटेल गाउँ पुग्नु अगाडि नै एउटा पाटी बाटो मै पर्दो रहेछ । उक्त पाटी पुरातङ्खव विभागले भत्काएर सच्यायो र पौराणीक कालमा निर्मित कलात्क र दुर्लभ चारवटा टुँडाल हालसम्म हराएको र हालसम्म नभेटिएको बताउनुभयो । स्थानमा काठमाडौँ तिब्वत पैदलमार्गबाट व्यपार चल्दा उक्त पाटीमा वासवस्ने र आराम गर्ने कुरा हामीलाई जयराम डोटेलले जानकारी गराउनुभयो । आफू सानो छँदा यस पाटीमा यात्रुहरूले खाना बनाएर खाएको आफूले देखेको अनुभव पनि सुनाउनुभयो । त्यसपछि हाम्रो टोली अगाडी बढ्यो यहाँ पनि आधुनिक विकासका नाउँमा हामीले गाउँगाउँमा ढलान गरिएको गोरेटो बाटोहरू भेट्यौँ । हामीले डोटेल वस्तीको बिचमा पारापूर्वकालदेखिको जमारा घर पनि हेर्यौ । उक्त जमरा घरमा बाजागाजा सहित फूलपाती भित्र्याएर कालरात्री गरेपछि दशैँ सुरुहुने र कालरात्रीमा बोका एकजनाले देब्रे घुँडा टेकेर बलीदिनु पर्ने, यदी बोका नछिनेमा अनिष्ट हुने कुरा हामीलाई जयराम डोटेलले जानकारी गराउनुभयो । हनुमान ढोकामा जुन नियमपूर्वक जमरा राखिन्छ यहाँ पनि सोहि बमोजिम हुने र नौदिन सम्म पुरेतले जमारा कुरेर बस्ने अनि घरको जेष्ठ सदस्यलाई पुरेतले नै टिका लगाईदिने चलन रहको पनि बताउनुभयो । प्राचिन कला संस्कृतिले भरिपूर्ण रहेको यहाँका जमराघरको संरक्षणको खाँचो झल्किरहेको थियो ।
त्यसपछि हामी अर्को मन्दिरतर्फ लाग्यौँ, बटोमा हामीले बारुदघर पनि देख्यौँ । त्यहाँ साके १७८० लेखिएको ईँटामा कुँदिएको पनि देखियो । यहाँ पनि प्राचिन कलाकृति सहितका मठमन्दिर देख्न पाईयो । त्यसपछि हामी सिधै उकालो अगाडी बढ्दै गयौँ । हाम्रो अवको यात्रा ब्रम्हायणी मन्दिरको अवलोकन गर्नु रहेको थियो । करिव आधाघण्टाको उकालो पछि हामी तपेश्वर मा.वि. मा पुग्यौँ हाम्रो बिहानीको खाना यसै विद्यालयको क्यान्टिनमा व्यवस्था गरिएको थियो । हामी पहिला मन्दिर दर्शन गर्ने अनि खान खाने भनेर अगाडी बढ्यौँ । करिव १० मिनेटको हिँडाइपछि हामी ब्रम्हायणी मन्दिर पुग्यौँ ।
हामीले वडा नम्बर ५ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेका ब्रम्हायणी मन्दिरमा दर्शन गयौँ । ब्रम्हायणी मन्दिर जिर्णोद्धार गरिएको र चुस्त अवस्थामा रहेको पाईयो । भूमिनन्द डोटेलले आफूले ब्रम्हायणी मन्दिरको सम्बन्धमा लेखेको कविता पुस्तकबाट वाचन गरेर सुनाउनुभयो । मन्दिरका पुजारी तिलकमान बज्राचार्यले ब्रम्हायणीको उत्पतिका सम्बन्धमा रोचक जानकारी गराउनुभयो । साँखुबाट आएको १४ पुस्ताका र आफ्नो पाँच पुस्तादेखि पुजारीको काम गर्दै आएको बताउनुभयो । हाल मन्दिर भएको स्थानमा १४०८ मा दुलालको घर रहेको थियो सुत्केरी सुतेको स्थानमा जुरुक्क जुरुक्क उचालेछ उठेर के रहेछ भनेर हेर्दा केही नदेखेर फेरि सुत्दा फेरि पनि उचालेछ र सुत्केरीका श्रीमानले के रहेछ भनेर खनेर हेर्दा रगत आएछ र त्यतिकै छोडिदिएको र १२÷१५ दिनपछि सोही स्थानमा देवता उत्पति भएको कुरा वहाँले हामीलाई बताउनुभयो । खन्दा चोटलागेको हुनाले तालु काटिएकोछ भन्नुभयो र तालुमा काटीयको चोट पनि देखाउनुभयो । यहाँ फागु पूर्णीमामा चारदिन जात्रा हुने र मन्दिरमा भाले, राँगो, बोका, भेडाको थुमो, हाँस आदिको बली दिने प्रचलन भएको पनि उहाँले हामीलाई बताउनुभयो । हामीले मन्दिरमा सामुहिक तस्वीर पनि खिचायौँ । १२ मध्यान्ह भैसकेकोले सबैलाई भोक लागीसकेको थियो । त्यसपछि हामी फर्केर ठाडाकोलस्थित तपेश्वर मावि तपेश्वर मा.वि.मा आयौँ र पाकेको तातो तातो दालभातले भोकालाई शान्त पायौँ ।
खानापछि हाम्रो यात्राको तेस्रो चरणको रचना वाचनको कार्यक्रम सुरुभयो । रचना वाचन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद पौडेलल वडाध्यक्ष हर्क घिसिङ तथा स्थानीय प्रबुद्ध वर्गहरूको पनि उपस्थिति रहेको थियो ।
पदयात्रा टोलीका सदस्य शोभा शरभले ‘माटो’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने महाकाली माविका प्रधानाध्यापक पुष्पराम सापकोटाले चित्ताकर्षकन चोटिलो मुक्तक प्रस्तुत गर्नुभएको थियो । तपेश्वर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद पौडेलले स्रष्टा पदयात्रा टोलीले आफ्नो ठाउँको भ्रमण गरी यस ठाउँको प्रचारप्रशार गरिदिन अनुरोध गर्नुभयो । साथै कतिपय लोप हुनलागेका जातजाती र उनीहरूका रीतिरिवाज तथा संस्कृतिका बारेमा गहिरो अध्ययन गरी पुस्तक प्रकाशित गर्दा उक्त कृतिले मण्डन देउपुरको पर्यटकको एक गन्तब्यको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरि पदयात्रीहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष हर्क घिसिङले पदयात्रा टोलीको सामिप्यताले आफूले जनप्रतिनिधिको हैसियतमा थुप्रै कार्यहरू गर्नुपर्ने दायित्वबोध भएको बताउनुभयो । त्यसपछि हामी काठमाडौँ फर्कने तयारीमा गाडी चढ्यौँ ।
जाँदाजाँदै बाटोमा देउपुरको घुमाउने स्थित सिद्धि विनायकको दर्शन गर्न गाडीबाट ओलियौँ । साथै नेपाली चलचित्रका नायक पुरण जोशीको पुख्यौलीघरको पनि अवलोकन गयौँ । केही पर अगाडि श्रीस्वस्थानीमा वर्णित सतिदेवीको फियो पतन भएको मानिने तपेश्वरश्वर महादेव मन्दिरको दर्शन गर्ने आवसर पनि प्राप्त भयो । धार्मिक किंवदन्ति अनुसार महादेवले एकपाइला तपेश्वर अर्को पाईला फटकशीलाको फड्केश्वर र अर्कोपाईला गोसाईँकुण्डमा टेको कुरा हामीलाई स्थानीय वासिन्दाले बताउनुभयो । हाम्रो यात्रा उपलब्धिमूलक रहेको अनुभव भयो । त्यसपछि हामी अगाडि बढ्ने क्रममा सल्लेबासमा वडाध्यक्ष हर्क घिसिङको पारिवारिक विवाह कार्यक्रममा सामेल भई तामाङ समुदायको सामाजिक र सांस्कृतिक जनजीवनलाई नजिकबाट बुझ्ने प्रयाश भयो । उक्त अवसरको सदुपयोग गर्दै हामीले वडाअध्यक्ष र बयोवृद्ध बुबासङ्ग तामाङहरको वैवाहिक संकारबारे सोधपुछ पनि गरको थियौँ । यसरी हाम्रो स्रष्टा पदयात्राको ९० औँश्रृङ्खलाको दुईदिने पदयात्रा समाप्त भयो र हामी सबैसङ्ग बिदा भई काठमाडौँतर्फ गाडी चढेर पर्कियौँ ।
सारांशमा यात्रा अत्यन्त सफल रह्यो । यात्राका क्रममा सहयोग गर्ने यात्रा संसमरणमा उल्लेख गरिका र नगरिएका सबै सहयोगी मनहरूमा हार्दिक नभन गर्न चाहन्छु । यात्राको प्रवन्ध मिलाई अनुमति प्रदान गर्ने मण्डन देउपुर नगरपालिकाका पदाधिकारी पनि धन्यवादको पात्र हुनुहुन्छ । मण्डन र देउपुरः कृषि र पर्यटन भन्ने नारा बोकेर समृद्ध नगरपालिकाको योजना बोकेर अगाडि बढेको नगरपालिकामा हामीले पनि यस शीर्षकमा पर्याप्त सम्भावना हरेको पायौँ । निर्वाचित भएर आउने प्रतिनिधिहरूले यो नारालाई मूर्तरुप दिन लागि परेमा मण्डन देउपुले कृषि र पर्यटनको विकास गरी नमूनाको नगर बन्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । आगामी दिनमा स्थानीय क्षेत्रको प्रवर्धनमा सहयोग पु¥याउन निस्वार्थ लागीपरेका हामीजस्ता स्रष्टालाई आउने जाने, खाने बस्ने उचित प्रबन्ध नगरपलिकाले निःशुल्का रूपमा गरीदिने व्यवस्था गर्न सकेमा यस्ता कार्यक्रम अझै प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close