भुटानी–भारतीयको तस्करी गर्ने ठाउँ काठमाडौँ

भुटानी–भारतीयको  तस्करी गर्ने ठाउँ काठमाडौँ

काठमाडौं: नेपालमा रहेको सि-माला तस्करी भएर भुटान पुग्ने गरेको खुलेको छ। सि–मालाको कारोबार क्रममा दुई समूहबीच भएको झगडा प्रहरीमा पुगेपछि भुटानी व्यापारीले भारतीय र नेपाली सहयोगीमार्फत् सि–माला भुटान तस्करी गरेको खुलेको हो।

माला किन्न आएका भुटानी–भारतीय क्रेता र काठमाडौंस्थित विक्रेताका बिचौलियाबीच बौद्धस्थित एउटा होटलमा झगडा भएपछि घटना महानगरीय प्रहरी अपराध महाशाखामा पुगेको थियो।

सि–माला किन्न नेपाल आएको समूहले माला लुटेर लगेको सूचना पाएपछि प्रहरीले घटनामा संलग्न भुटानी र भारतीयलाई भिमफेदीमा पक्राउ गर्दा १५ वटा माला १६ करोडमा बिक्रीको डिल भएको खुलाएको छ।

गुरुङ जातिले गहनाको रुपमा प्रयोग गर्ने विशेष प्रकृतिको चेप्टो र गोलो– लाम्चो आकारका सि–माला बहुमूल्य मानिन्छ। जानकारका अनुसार मालामा प्रयुक्त पत्थरको आँखा, बनोट प्रकृतिका आधारमा यसको मूल्य निर्धारण हुन्छ।

‘यसको निश्चित मूल्य नहुने रहेछ,’ महाशाखाका एसएसपी सर्वेन्द्र खनालले नागरिकसँग भने, ‘क्रेता र विक्रेताबीच सहमतिमा मूल्य निर्धारण हुने देखियो।’

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सक्कली सि–मालाको कारोबार प्रतिबन्धित छ। नयाँ हो भने कारोबारमा रोकटोक छैन। ‘सि–माला अवलोकनपछि मात्रै प्रहरीले बरामद गरेको माला सक्कली हो या नयाँ थाहा हुन्छ,’ उनले नागरिकसँग भने, ‘सक्कली हो भने सय वर्ष पुरानो हुनसक्छ, सय वर्ष पुरानो सामग्रि बिक्री गरे प्राचीन स्मारक संरक्षण ऐन–२०१३ आकर्षित हुन्छ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बौद्धमा कपडा पसल गरेर बसेका नरेश अग्रवाल सि–माला कारोबारी रहेको खुलेको छ। भक्तपुरका उपेन्द्र लामिछानेले उनलाई कारोबारमा सघाउँदै आएका थिए।

एसएसपी खनालका अनुसार भुटानको राजधानी थिम्पुस्थित कारोबारी अतिसा बाटियाले नेपालबाट पटक–पटक अवैध सामान ओसार–पसार गर्दै आएका थिए।

उनलाई कारोबारमा भुटानका डि दोर्जे लामाले सघाउँदै आएका थिए। अतिसाले उनै लामालाई लामिछानेसँग भेटेर १५ वटा सि–माला खरिद गर्न भुटान र भारतस्थित अन्य सहयोगीसहित नेपाल पठाएका थिए।

‘उतैबाट कारोबारीले लुट्ने योजनासहित पठाएको देखियो,’ एसएसपी खनालले भने, ‘सोही योजना अनुसार भुटानीहरू भिसा नै नलिइ सहजै नेपाल आएका थिए।’

महाशाखाका अनुसार दोर्जे अर्का भुटानी नागरिक छिरिङ लामासहित सि–माला किन्न ५६ हजार अमेरिकी डलर लिएर नेपाल आएका थिए। दोर्जेको गतिविधि निगरानी गर्न अतिसाले भारतीय नागरिक अतिष सैबो, नहिर अली र सरोज गुरुङलाई पनि नेपाल पठाएका थिए।

यता अग्रवालका तर्फबाट लामिछानेले अतिसासँग समन्वय गरेका थिए। लामिछानेसँग भेट्न दोर्जे १९ गते काठमाडौं, बौद्ध आएर छोर्तेन होटलमा बसे भने उनको निगरानी र सि–मालाको सुरक्षाका लागि आएको अर्को समूह बौद्धस्थित बौद्धनाथ होटलमा बसेका थिए।

महाशाखाका डिएसपी रमेश थापाका अनुसार प्रारम्भमा यी दुवै समूहबीच चिनजान थिएन। बौद्धमा बस्ने क्रममा दुवै समूहबीच चिनजान भएपछि तेस्रो दिन सबै जना दोर्जे बसेकै होटलमा बसेको डिएसपी थापाले जानकारी दिए।

बौद्धस्थित होटलबाट भुटानी–भारतीय समूहले एक जना व्यक्तिलाई बन्धक बनाई सि–माला लुटेर लगेको सूचना प्रहरीले पाएपछि उपत्यकाबाट बाहिरिने नाकामा उनीहरूको हुलियासहित परिपत्र गरेको थियो।

डि दोर्जेसहितको टोली ३५ सयमा टाटा सुमो रिजर्भ गरेर बल्खुबाट भिमफेदी हुँदै हेटौंडा हिडेँको थियो। काठमाडौंबाट पठाएको हुलियाका आधारमा भिमफेदीस्थित प्रहरीले सि–मालासहित ५ जना पक्राउ गरेको थियो।

सि-माला किन्न नक्कली डलर

डि दोर्जे नेपाल आउँदा आफ्नो साथमा ५६ हजार अमेरिकी डलरसमेत ल्याएका थिए। भुटानी कारोबारीले सि-माला किन्दा भुक्तानीका लागि पठाएको डलर नै नक्कली थियो।

प्रहरी अधिकारीका अनुसार भुटानी-भारतीय टोलीसँग सुरुमा सबै माला दुई करोडमा खरिदबिक्रीको सहमति भए पनि पछि सबै मालाको १६ करोडमा डिल भएको थियो।

भुटानी-भारतीय टोलीले माला लिएपछि लामिछानेलाई उताबाट ल्याएको ५६ हजार अमेरिकी डलर छाडेर गएका थिए। लामिछानेले सो रकम अग्रवाललाई दिएपछि परीक्षण क्रममा सबै डलर नक्कली भएको खुल्यो र उनीहरूले प्रहरीमा खबर गरे।

पीडितको दाबी शंकास्पद

लामिछानेले प्रहरीमा बयान दिँदा भुटानी–भारतीयले आफूलाई डोरीले बाँधी माला लिएर गएको दाबी गरे पनि पैसा त्यहीँ छाडेका थिए। भुटानी–भारतीय गिरोहले भने डलर नक्कली रहेको जानकारी आफूलाई नभएको बयान दिएका छन्।

प्रारम्भमा लुटिएको नाटक गरी सबै रकम आफैंले लिन लामिछानेले नाटक गरेको तर डलर नक्कली रहेको थाहा पाएपछी अग्रवाललाई भनेर प्रहरीमा सूचना पुर्यािएको हुनसक्ने अनुसन्धानरतस्रोतले जानकारी दियो।

महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमै ‘लामिछानेले अग्रवाललाई बौद्ध छोर्तेन होटलको कोठा नं. २१६ मा बोलाई सि–माला बिक्री वापत्को भुक्तानी अमेरिकी डलरमा दिएको र पछि डलर नक्कली भएको खुलेपछि प्रहरीमा लुटिएको खबर गरेको’ उल्लेख हुनुले पनि घटना शंकास्पद देखिन्छ।

सि–माला कारोबारमा जोडिएका अग्रवाल बौद्धका कपडा कारोबारी हुन्। महाशाखाका अनुसार उनले एक वर्षअघि लामिछानेमार्फत् एउटा सि–माला बौद्धका रिमझिम लामालाई ५७ लाखमा बिक्री गरेको खुलेको छ।

घटना सार्वजनिक भएसँगै उनी कपडा कारोबारीको आवरणमा बौद्धमा बसेर प्राचीन सामग्रि कारोबारमा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई समेत अनुसन्धानको दायरामा राखेको दाबी गरेको छ।

डिएसपी थापाले, ‘सि–मालाको कारोबार वैध हो होइन र प्रहरीले बरामद गरेको सामग्रि खुला कारोबार गर्न सकिने हो होइन भन्ने पाटोमा अनुसन्धान सुरु गरेको छ।

‘सो सामग्रिबारे हामीले पुरातत्व विभागसँग समन्वय गरिरहेका छौं,’ थापाले भने, ‘विभागबाट आउने जानकारीका आधारमा अनुसन्धानको अरु पाटो खुल्न सक्छ।’

तपाइँको प्रतिक्रिया ।