मेरो साहित्यिक यात्राःशम्भु प्रकृति

मेरो साहित्यिक यात्राःशम्भु प्रकृति

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

मेरो साहित्यिक यात्रा रत्न राज्य माध्यमिक विद्यालय बानेश्वरमा पढ्दादेखी शुरु भयो । त्यतिखेर कक्षा ९ मा भानुजयन्तिको अवसरमा आयोजित कविता प्रतियोगितामा ‘भानुभक्त’ शीर्षकको कविता वाचन गरेको थिएँ तर पुरस्कार जित्न सकिएन किनभने एकदम उत्कृष्ट कविताहरु साथीहरुले वाचन गरेका थिए । हाल अष्ट्रेलियामा सपरिवार रहने युवराज पहाडीको कविताले दोश्रो पुरस्कार र काशीकान्त ठाकुरको कविताले तेस्रो पुरस्कार जितेको थियोभने पहिलो पुरस्कार जित्नेको नाम याद भएन । गजबको कुरा के भने यी कुनै पनि साथीहरूलाई अहिले कवितामा त्यस्तो रुचि छैन किनभने उनिहरुको साहित्यिक कृतिहरु मैले देखेको छैन ।
नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत हुँदा साहित्यिक माहौल तिब्र थियो । आईकम पढ्दा साहित्यकार कृष्णप्रसाद ढकालको पहिलो उपन्यास ‘जमुनाको सपना’ र दोश्रो उपन्यास ‘विडम्बना’ प्रकाशन र प्रचारप्रसारमा सहयोग गरियो भने युवाकवि दिपक मैनालीको पहिलो संयुक्त कविता संग्रह ‘मेरो साहित्य’ सम्पादन र प्रचारप्रसार गरियो । कृष्णप्रसाद ढकालजीको ‘विडम्बना’ उपन्यासलाई कवि ठाकुर बेल्बासेको सक्रियतामा मेरो घरनजिकै रहेको प्राकृतिक स्वास्थ्य संस्था तथा अस्पतालको एउटा ठुलो कोठामा वरिष्ठ साहित्यकार दौलत बिक्रम विष्टको हातबाट साहित्यकार हरि मन्जुश्रीको उपस्तिथिमा विमोचन गराइयो भने कवि दिपक मैनालीको ‘मेरो साहित्य’ को विमोचन बानेश्वर क्याम्पसमा गरियो । दुबै कार्यमा ठुलो आत्मसन्तुष्टि मिल्यो । कृष्णप्रसाद ढकाल हाल नेपाल सरकार परराष्ट मन्त्रालयका प्रबक्ता हुनुहुन्छ । उहाँ संयुक्त अरब इमिरेट्सको लागि राजदुत पनि हुनुभएको हो । त्यस अघि उहाँ सुचना बिभागमा प्रेस शाखाको अधिकृत हुनुहुन्थ्यो भने उहाँले सरकारी जागिर साझा प्रकाशनको प्रुफ रिडरबाट शुरु गर्नुभएको थियो ।
साहित्ययात्रामा थुप्रै श्रष्टाहरूसङ्ग सङ्गत गर्न पाइयो । त्यो पनि रोचक अनुभव नै रह्यो ।अर्का एकजना मित्र सुनसरीका नारायण खतिवडा जो अहिले कानुन मन्त्रालयमा अधिकृत हुनुहुन्छ, उहाँ पनि कविताहरु लेख्नुहुन्थ्यो राम्रोसँग । यस्तै कवि र पत्रकार ठाकुर बेल्बासे पनि मेरा समकालीन साहित्यकारमा पर्नुहुन्छ ।
उहाँले आयोजना गर्नुभएको साहित्यिक कार्यक्रमहरुमा सहभागी भएको छु । ठाकुरजीले भर्खर एस.एल.सी दिँदै गर्दा उहाँको एउटा खण्डकाब्य शिक्षा मन्त्रालयले दस हजार प्रति छापिदिएको थियो । उहाँको एउटा काव्यको विमोचन रत्न राज्य मा.वि. बानेश्वरमा भएको थियो, जसमा म पनि सहभागी थिएँ । ठाकुरजी बाहेक अरु कोहीपनि साहित्यसेवामा हाल हुनुहुन्छ जस्तो लाग्दैन इमानदारीपुर्वक । कवि दिपक मैनाली हाल चार्टड एकाउन्टेन्ट हुनुहुन्छ । मेरा धेरैजसो सहपाठी साथीहरु सरकारी सेवामा हुनुहुन्छ, जसमा मलाई कहिले रुचि भएन ।
रत्न राज्य मा. वि., बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस, रत्न राज्य क्याम्पस लगायत थुप्रै स्थानहरुमा आयोजित साहित्यिक कार्यक्रमहरुमा सहभागी हुने अवसर प्राप्त गरियो । थुप्रै लेखरचना, कविता, कथाहरू लेखियो । कतिपय पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् भने कैयौं प्रकाशोन्मुख छन् । पुस्तकहरू निकाल्न आर्थिक कारणले सकेको छैन । मेरा लेखरचनाहरु अच्युत अधिकारीको गोलसिमल साहित्यिक मासिक, जनप्रकाश साप्ताहिक लगायतबाट नियमितरुपमा निस्केका हुन् । मेरो शिक्षण बाहेक पहिलो नोकरी नै ‘विश्वमित्र’ पाक्षिक पत्रिकाबाट शुरु भएको थियो । ‘प्रेरणा’ स्मारिकाको दोश्रो अंकको मैले सम्पादन गरेको छु । त्यसो त जनप्रकाश साप्ताहिकमा सम्पादक बन्ने अफर नआएको होइन । नेपाली, अङ्ग्रेजी, हिन्दी लगायत बिश्वका १६ प्रमुख भाषाहरु, जसका मातृभाषीहरु १० करोड माथी छन् ती सबैमा साहित्यरचना, कृतिहरुको अध्ययन र पठन गर्दै छु ।
धेरै पत्रपत्रिकासङ्ग सम्पर्क भएपनी हाल पछिल्लो पटक ‘कपन बानेश्वर’ नामक नेपालकै पहिलो साहित्यिक साप्ताहिकसङ्ग मेरि गाढा साइनो बसेर यसैको लागि लेख्दै छु । मेरो पहिलो लेख यो पत्रिकामा ‘ओशो, नेपाल र बुद्ध’ शीर्षकबाट प्रकाशित भैसकेको छ पुष ५ गते,२०८१ (२० डिसेम्बर २०२४) का दिन । त्यसको भोलिपल्ट कपन अनलाइन डटकमले पनि यो लेख छाप्यो । ‘कपन बानेश्वर’ र कपन अनलाइन टिमप्रती धेरै आभारी छु विशेष गरि आदरणीय निबन्ध आचार्य सर र पुण्यराज पुडासैनी सरप्रति ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।