यथार्थ : कविता दाहाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज ५।
ऊ सँधै भन्थ्यो दुनियाँदारीका कुरा
म बुझ्दिन थिएँ र संँिझन्थें हावादारी कुरा ।
म घटेको त हैन तर ऊ दिनदिनै बढ्न थाल्यो
म अहिंसाको देश भन्दै थिएँ ऊ आफैं संग लड्न थाल्यो ।
म स्वदेशी अन्न नै मानामा भर्न खोज्थें
जुन देशमा जन्मिएँ त्यही देशमा मर्न खोज्थें ।
हो यहिं आएर हाम्रो कुराहरु बेमेल भयो ।
आदर्शका सारा ज्ञानहरु पनि यही नेर फेल भयो ।
ऊ भन्दै थियो यहाँ गाँस, बास र कपास मै
पुरै जीवन लड्न पर्ने
मेडिकलको मान्छे लोकसेवामा भूगोल पनि पढ्न पर्ने
जीवनभरको कमाई खन्याएर पढेको मान्छे म
दुई छाक नपुग्ने वेतनमा सड्नु पर्ने ।
जुन जिन्दगी आफैं बाँच्न सक्तिन बा आमालाई कसरी हेर्नु
जाबो टिनको छानो फेर्न सक्या छैन दुनियाँदारी मैले के फेर्नु ?
आकाश जति ठुलो भएपनि के गर्नु
शीर लुकाउन आखिर छाना नै चाहिन्छ ।
खोक्रो आदर्शले पेट भरिन्न आमा
भोक मेटाउन त खाना नै चाहिन्छ ।
मलाई थाहा छैन ऊ बाध्यताले गयो वा रहरले गयो
यता हाम्रो घर चाहिं उस्को पर्खाइमा खण्डहर नै भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक