निरोको घोषणापत्रबाट : त्रिलोचन आचार्य (कविता )

निरोको घोषणापत्रबाट : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

१. आगो बल्यो भित्र कतै बली रहोस्
लङ्का जल्यो जीवनको जली रहोस्
आएर बाढी घर नै ढले ढलोस्
लुक्दै विदेशी जहिले छिरे छिरोस्
२. लुट्नै जुटेका सहकार्यमा लुटुन्
भुट्नै बने बन्दुक ती भुटे भुटुन्
पैसा नखोजून् अब ती किसानले
मुस्काउँनै पाउनुपर्छ शानले
३. बाँढेर पैसा विजयी बने पनि
निर्धक्क सीमा मिचियो भने पनि
हत्या बलत्कार सधैँ चले पनि
बाचून् नबोली अभिशप्त जीवनी
४. राम्रा गरामा घर फल्दछन् फलून्
बत्ती छिमेकीतिर बल्दछन् बलून्
जाऊन् युवा छर्न खुबी कतारमा
छौँ बाँसुरीकै लयमा सबै यहाँ ।
५. छन् भ्रष्ट के भो तिनले सके गरे
साँढे असाध्यै बलिया सके चरे
के भो त हात्ती तब लम्किँदै गरून्
आफन्त मेरा सब चम्किँदै गरून्
६. ठूलाहरू बन्नु दलालकै सरी
संयन्त्र होस् गर्न विशाल तस्करी
व्यापार मान्छेहरूकै गरिन्छ नि
कानून हेरेर बसे मरिन्छ नि !
७. जुट्नेछ सारा अभियान खानमा
फल्नेछ बाली अनुदान दानमा
फाल्नेछु भन्लान् रिपुले अहो कति
टिक्नेछ कुर्सी प्रभुले भने जति
८. गुच्चा सरी हुन् सब ऐनका दफा
ताक्यो जहाँ लाग्दछ टुच्च त्यैँ अहा
आए विरोधी तब खुल्छ फाइल
पार्छौँ यसैले रिपु वर्ग चिल्बिल
९. मान्छे भनेका मतियार मात्र हुन्
यी कार्यकर्ता हतियार मात्र हुन
ठाडै नलेखे पनि बुझ्नुपर्छ यो
हेरून् यही के छ र बात विश्वको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।